पुरुषहरूमा पनि हुन्छ रजोनिवृत्ति !

✍️ प्रा.डा. अर्जुनदेव भट्ट
विषय प्रारम्भ

महिलाहरूमा रजस्वला बन्द भएको वा रोकिएको अवस्थालाई रजोनिवृत्त भनिन्छ । उमेर बढ्दै गएपछि पुरुषमा पनि यस्तो परिवर्तनको सामना गर्नुपर्ने हुन्छ ।

रजोनिवृत्त भन्नासाथ स्त्रीबारे नै प्रायः बुझ्ने गरिन्छ । महिलाहरूमा प्रायः ४५ देखि ५५ वर्षको उमेरमा महिनावारी सुक्ने हुन्छ र त्यसैलाई रजोनिवृत्ति भनेर सम्बोधन गर्ने गरिन्छ । यो शब्द पुरुष जीवनसँग पनि जोडेर प्रयोगमा ल्याउने गरेको पाइन्छ । स्त्रीहरूमा जस्तै पुरुषहरूमा पनि उमेर बढ्दै गएपछि प्रजनन् ग्रन्थीसँग सम्बन्धित हर्मोनहरूको रक्तमा हुने स्तरमा फरक पर्दै आउँछ ।

जब पुरुष हर्मोनको रक्तसञ्चारमा भएको मात्रामा भारी ह्रास आउँछ, तब पुरुष रजोनिवृत्ति भएको मानिन्छ । पुरुषहरूमा पुरुष हर्मोन कम भएको अवस्थालाई स्त्रीहरूमा रजोनिवृत्ति (महिनावारी सुकेको) जस्तै भए पनि एउटा विशेष लक्षणबाट थाहा पाउन गाह्रो हुन्छ । पुरुषमा देखापर्ने लक्षणहरूको झुण्डलाई केलाएर हेर्ने हो भने यस्तो अवस्था पत्ता लगाउन गाह्रो छैन । पछिल्लो समय पुरुषहरूको बाँच्ने उमेर पनि बढ्दै गएको र वयोवृद्ध पुरुषहरूको जमात नै समाजमा थपिँदै गएको हुँदा स्वास्थ्यसेवामा पुरुष रजोनिवृत्तिको पहिचान र उपचारलाई उचित स्थान दिनुपर्ने हुन्छ ।

पुरुष रजोनिवृत्तिको पहिचान
५० वर्ष नाघेका पुरुषमा यौनेच्छा तथा यौन सक्षमताको लोखाजोखा गर्नु उपयुक्त हुन्छ । शुक्रकीट बनाउने अण्डकोषमा भएको कोष तथा पुरुष हर्मोन उत्पादन गर्ने कोषहरूको संख्यामा उमेरले ह्रास ल्याउने गर्दछ । त्यसका साथै ५० वर्षपछि पुरुष हर्मोनको रक्तसञ्चारमा र शुक्रकीटको संख्यामा वीर्यमा कमी हुँदै जान्छ ।

शुक्रकीटको संख्यामा वा गुणको अध्ययनबाट पुरुष रजोनिवृत्तिको निदान गर्नु भरपर्दो हुँदैन । त्यसका लागि पुरुष हर्मोन टेस्टास्टेरोनको रक्तजाँचबाट पुरुष रजोनिवृत्तिको अवस्था भए/नभएको थाहा पाउन सकिन्छ । यद्यपि बिनापरीक्षण पुरुषको शरीरमा पुरुष हर्मोनको अवस्था थाहा पाउन त्यति सजिलो नभए पनि विभिन्न अध्ययनबाट घुमाउरोरूपमा शरीरमा हर्मोन कम वा बेसी भएको अड्कल काट्न भने सकिन्छ ।

पुरुष रजोनिवृत्तिका लक्षणहरूमा सर्वप्रथम अण्डकोष सुक्दै जानु, नरम हुनु, यौनेच्छामा कमी आएर यौनक्षमतामा ह्रास हुनु, लिंगमा शिथिलता देखापर्नु, आलस्यता, मनको खिन्नताका साथै बिनाकारण भर्को लाग्नु र रिस उठ्नु, कुनै कुरामा पनि जाँगर नउब्जनु, स्मरण शक्तिमा कमी आउनु, शरीरमा मांशपेशी सुक्नु र कमजोर हुनुलगायत हुन सक्दछन् ।

यसका लक्षणहरूमा सर्वप्रथम अण्डकोषहरूको आकार कम हुँदै वा सुक्दै जानु, अण्डकोष नरम हुनु, यौनेच्छामा कमी आएर यौनक्षमतामा ह्रास हुनु, लिंगमा शिथिलता देखापर्नु, आलस्यता, मनको खिन्नताका साथै बिनाकारण भर्को लाग्नु र रिस उठ्नु, कुनै कुरामा पनि जाँगर नउब्जनु, स्मरण शक्तिमा कमी आउनु, शरीरमा मांशपेशी सुक्नु र कमजोर हुनु आदि हुन सक्दछन् ।

हड्डी पातलिने र तौल घट्दै जाने, शरीरमा बोसोको मात्रा बढ्ने, राता रक्तकोषहरूको संख्यामा कमी हुने तथा निद्रा खलबलिने र बेचैन हुने कारणले गर्दा पनि समग्रमा पुरुषहरूले ओजपूर्ण र गुणात्मक जीवनको कमी भएको अनुभव गर्दछन् । कुनै पुरुष एक्कासी खल्खल्ती पसिना आएको अनुभव गर्दछन् र शरीरका विभिन्न भाग आगोजस्तै तातो वा पोलेको अनुभव गर्दछन् । सबेरै उठ्दा पिसाबले ज्यादै च्यापेको अनुभव गर्दा पनि लिंग उत्तेजित भएको पाउँदैनन् । त्यसैले पुरुष हर्मोन कमीको अभावले देखापर्न सक्ने थुप्रै लक्षण भए पनि थकावट, यौनेच्छा तथा शक्तिमा कमी र बिनाकारण उदासीनता तथा बेचैनीलाई ज्यादै ठूलो महत्व दिने गरिन्छ ।

पुरुष रजोनिवृत्तिको उपचार
पुरुष हर्मोनको कमीले गर्दा विभिन्न लक्षण देखापर्ने हुँदा सर्वप्रथम जीवनशैलीमा फरक ल्याएर नै जीवनलाई ओजपूर्ण तथा गुणात्मक दृष्टिले राम्रो पार्ने गर्नुपर्दछ । सन्तुलित आहार, शारीरिक व्यायाम, सबल तथा सकारात्मक सोचलाई अँगाल्ने र कर्ममा व्यस्त रहने गर्नुपर्दछ । त्यस्तै, शरीरको मोटोपन घटाउने, पातलो हड्डीलाई बढी बिग्रन नदिने र जीवनलाई सार्थक र रमाइलो अवसर सम्झने गर्नुपर्दछ । यदि हर्मोन परीक्षणपछि पुरुष हर्मोनको प्रयोग नगरी नहुने देखापरे त्यो अपनाएर पुरुष रजोनिवृत्तिका विभिन्न लक्षणबाट धेरै हदसम्म छुट्कारा पाउन सकिन्छ । (वरिष्ठ युरोलोजिस्ट प्रा.डा.भट्टको बहुउपयोगी पुस्तक ‘मूत्र र जननेन्द्रिय प्रणाली रोग, निदान तथा उपचार’ हालै प्रकाशित भएको छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?