घरमै गएर अपांगता परिचयपत्र प्रदान

हिमालय टाइम्स
Read Time = 2 mins

रमेश विश्वकर्मा/हिटा
गुल्मी । गुल्मीको एक स्थानीय तहले घरमै गएर अपांगता परिचयपत्र प्रदान गरेको छ । जिल्लाको रेसुंगा नगरपालिकाले एक पूर्ण अशक्त महिलालाई घरमै गएर अपांगता परिचयपत्र प्रदान गरेको हो ।

नगरपालिकाको–१४ रातामाटाकी ४८ वर्षीया पूर्ण अशक्त महिला पुनीकला आचार्यलाई उहाँको घरमै गएर ‘क’ वर्गको अपांगता परिचयपत्र प्रदान गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । उहाँले नगरप्रमुख भएकाले आफू सबैको अभिभावकसमेत भएकाले हरेक अपांग, अशक्त, बेसहारा, विपन्न सबैको साथमा रहेको बताउनुभयो ।

घरमै आएर अपांगता परिचपत्र प्रदान गर्ने नगरप्रमुख खिलध्वज पन्थीलगायत समग्र रेसुंगा नगरपालिकालाई आचार्यले धन्यवाद दिँदै स्थानीय सरकारको अनुभूति पाएको बताउनुभयो । आचार्य २०६७/६८ सालदेखि विस्तारामै पल्टिएर जीवन काट्दै आउनुभएको छ ।

जन्मजात अशक्त भए पनि उहाँ ०६८ सालसम्म हिँड्डुल गर्न सक्नुहुन्थ्यो । समय बित्दै जाँदा अन्य शारीरिक समस्या थपिएपछि विस्तारामा पल्टिनुभएकी आचार्य फेरि उठेर हिँड्डुल गर्न सक्नुभएन । ७० वर्षीया आमा ठिमा पुनले उहाँको हेरचाह गर्दै आउनुभएको छ । आमाछोरीमात्रै रहेको यो परिवार माइतीले बनाइदिएको सानो झुप्रोमा बस्दै आएको छ ।

वडाध्यक्ष धनबहादुर पुनले अपांगता परिचयपत्रले आचार्यलाई धेरै राहत पुर्‍याउने बताउनुभयो । नगरप्रमुख पन्थीलगायतलाई परिवारले घरमै आई अपांगता परिचयपत्र प्रदान गरेको भन्दै धन्यवाद ज्ञापन गर्‍यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?