कविले चाहे ‘मरुभूमिमा हिमपात’ हुन्छ !

कुनै कुनै शीर्षक सुन्दा अभिधार्थमा व्यवधान भएको लाग्छ तर तात्पयार्थ गरेर हेर्दा त्यो झनै सान्दर्भिक भएर आउँछ । पछिल्लो पुस्ताका प्रखर युवाकवि सोझो गाउँलेको २०७८ मा प्रकाशित कविता कृतिको नाम ‘मरुभूमिमा हिमपात’ त्यस्तै प्रकृतिको शीर्षक हो । ध्वन्यालोकमा कविका विशेषताको वयान गर्दै भनिएको छ ‘अपारे काव्य संसारे कविरेकः प्रजापतिः । यथास्मै रोेचते विश्वं तथैव परिवर्तते ।’ अर्थात् यो अपार काव्य संसारमा कवि यस्तो ब्रहृमा हो जसलाई संसारमा उसलाई जे जस्तो राम्रो लाग्छ त्यस्तै सिर्जना गरिदिन्छ । वास्तविक जीवनमा कहीँ कतै आकर्षक नलाग्ने विषय पनि कविको मनमा उब्जिए पछि सजिएर आउँछ वा भनौँ त्यसले कलाको रूप लिएर प्रकट हुन्छ ।

कविले मरुभूमिमा गुलाफ फुलाउँछन् भन्ने भ्नाइ यो शीर्षकबाट पनि चरितार्थ भएको लाग्यो । यद्यपि यो शीर्षकले पनि मरुभूमिमा गुलाफ फुलाउन नसकेर हिमपात गराएको छ । मरुभूमिमा त हिमपात पनि अनुकूल नै होला हरेक अवस्थामा भनेँ हिमपात त्यति अनुकूल नहुन सक्छ । हामीले सुनेअनुसार कहिल्यै पानी नपर्ने र सधैँ बन्जर रहेको धर्तीको भागलाई मरुभूमि भनिन्छ । त्यही बन्जर भूमिमा हिमपात भएपछिको दृश्य निश्चय पनि रोमाञ्चक हुुनुपथ्र्यो । त्यस्तो हुनसक्यो वा सकेन भन्ने बुझ्न भने कविता पढ्नै पर्ने छ । अश्रुपात, बज्रपात, पक्षपात, रक्तपात, तुषारपात आदि समअनुप्रासीय शब्दहरूले दिने अर्थ त्यति सकारात्मक हुँदैन ।

जीवनजस्तै हो देश पनि । जसरी बाँच्नको निम्ति हामी आतुर छौँ त्यसरी नै देश पनि हरेक पक्षमा सुस्वस्थ बाँच्न चाहन्छ । देश भन्नु हाम्रो माया पनि हो । आस्था पनि हो । देश माटो हो, मुटु हो ।

हिमपातको सट्टा हिमवर्षा भयदिएको भए सायद अर्कै अर्थ लाग्थ्यो ? त्यही विषय अलि कठोर यथार्थलाई सङ्केत गरेर व्यक्त गर्दाको सङ्केत हिमपात पो हो कि ? भनेर बुझ्न कविता पढेपछि त्यति बेर लागेन । शीर्षक व्यङ्ग्यमय भयदिँदा त्यसले अर्थ त दिने नै भयो अझै त्यो अर्थले धेरैको मनमस्तिष्कलाई झङ्कृत पार्छ । यो सङ्ग्रहका कविताले हरेक दृष्टिले मरुभूमीकरण भइरहेको परिस्थितिप्रति असन्तोष व्यक्त गरेका छन् । शीर्षकले कतै व्यङ्ग्य प्रहार गरिरहँदा कतै कठोर यथार्थको मार्मिक रूप पनि प्रकट गरिरहेको छ । मरुभूमिमा हिमपात गराउनु असामान्य अवस्थाको द्योतन हो । या त असमभव विषयमाथिको बागी प्रहार हो या त हदैसम्म सकारात्मकताको सङ्केत हो ।

हामीले उर्वर भूमिलाई हाम्रा दुष्कर्मले मरुभूमि पारिरहेका प्रतिको असहमति या मरुभूमि प्रवृत्तिप्रतिको तीव्र असन्तोष हो यो शीर्षक । साथसाथै मरुभूमिमा पनि हिमपात गराएर हरियालीयुक्त बनाऔँ भन्ने पनि हो । मरुभूमिलाई मरुभूमि हुनुमा गर्व होला किन होला । तर, हामी चाहन्छौँ कविको चिन्तन बढ्दो मरुभूमीकरणप्रतिको असन्तोषका साथमा हिमपातको चाहना बनेरै आएको होस् ।

यो सङ्ग्रहका कविताहरूलाई मुख्य चार खण्डमा विभाजन गरिएको छ । देश, परिवेश, जीवन र प्रेम शीर्षकमा बाँडिएका यी कविताहरू हेरक क्षेत्रमा हिमपातका सङ्केतकहरू हुन् । देश शीर्षकमा आठ, परिवेश शीर्षकमा चौध, जीवन शीर्षकमा पन्ध्र र प्रेम शीर्षकमा दश कविताहरू गरी जम्मा सच्चालसीवटा कविता यहाँ समाविष्ट छन् । एकजना कवि हुनुभनेको देशमा उभिएको, परिवेशमा बाँधिएको, जीवन भोगिरहेको र प्रेममा मुस्कुराइरहेको पनि हुनु हो । मलाई लाग्छ कविताको विषयानुसार कविताका उपशीर्षक बनाइए पनि कविताको समग्र भावलाई एक सूत्रमा बाँध्न सकिन्छ ।

जीवनजस्तै हो देश पनि । जसरी बाँच्नको निम्ति हामी आतुर छौँ त्यसरी नै देश पनि हरेक पक्षमा सुस्वस्थ बाँच्न चाहन्छ । देश भन्नु हाम्रो माया पनि हो । आस्था पनि हो । देश माटो हो, मुटु हो, पानी हो, हावा हो र विश्वास पनि हो । र देश भनेको मानिस हो । मानिसविनाको देश र देशविनाको मानिसको पनि कुनै अस्तित्व छैन । त्यसैले कविले यहाँ स्वस्थ देश र स्वस्थ मानिस खोजेका छन् । त्यसैले देश रोजेका छन् । देश बुझ्न के के बुझ्न पर्ने सबैलाई त्यति थाहा नहुन सक्छ । त्यसैले कविले यी कवितामा देश भनेको कवि बसेको ठाउँ हो । देश भनेको राष्ट्रप्रेमको गहिरो आँखा हो ।

देश भनेको अमर स्रष्टाहरूले छोडेर गएको अमर योगदानको औँठा छाप पनि हो भनेका छन् । त्यसैगरी देश चिनाउन यो देशको भौगोलिक विविधता, यो देशको प्राकृतिक सौन्दर्य, यो देशको हिमालको उच्चतायुक्त सौन्दर्यगान नगरेर हुँदैन । हाम्रो देश हाइब्रिड देश हो जहाँका बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताबारे जान्नै पर्छ । देश भन्नु हिमालको छाती रसाउँदै पहाड छिचोलेर बगेका केही थान गहिरा नदी, गगनचुम्वी शुभ्र केही थान हिमाल, हरियालीयुक्त केही थान पहाड, विविध संस्कृति र संस्कार हुर्काएर पहिचानसहित बसोबास गरेका केही थान जाति र जनजातिहरूको इन्द्रेणी रङ्ग पनि हो । जसलाई सम्झिएपछि मात्र देशमा उभिएको लाग्छ भन्ने सुन्दर भावयुक्त यी कवितामा कविको देशभक्तिपूर्ण हिमपात भएको छ ।

त्यसै गरी कवि परिवेश भनेको कवि र कविहरू उभिएको धर्ती र आकाशको परिस्थिति हो । देशको सक्कली मुहार देशका विभिन्न क्षेत्रमा प्रतिबिम्बित भावचेतना हो । अनगिन्ती सपनाको पोको बोकेर काफल बेच्ने केटीको विवशतापूर्ण परिस्थितिमा देशको परिवेश भेटिन्छ । आँसुले भिजेको मरुभूमिमा तातो घाममा पोलिएर पनि देशको निम्ति रेमिटान्स भरिरहने युवाका सपनामा देशको परिवेश भेटिन्छ । कर्मवीर नेपाली युवकको प्रतिज्ञापत्रमा भेटिन्छ । देशलाई खेलौना बनाएर, देशमाथि विश्वासघात गर्नेहरूका विपक्षमा उम्रिएको वितृष्णामा भेटिन्छ । दुर्नियति भोग्न बाध्य नेपालीको अनुहारमा भेटिन्छ । विभीषिकाबाट भर्खर किनारा लागेको देशको परिस्थितिमा भेटिन्छ ।

जखमपछिको मनमा भेटिन्छ । सान्दाजुका सपनामा भेटिन्छ । किसुनजीको हाँसोमा भेटिन्छ । महाकविको महिमागानमा भेटिन्छ । सपनाको सहरमा भेटिन्छ । सभ्यताले कुरूप अनुहार लिएर उभिइरहँदा गाउँमा डोको बुन्ने दाइको कर्मवीर हातहरूमा भेटिन्छ अनि बेइमान सहरमा भड्किइरहेको सोझो गाउँको सङ्घर्षमा देशको वास्तविक परिवेश भेटिन्छ । यहाँ कविले तिनै कुरा देखेका छन् जुन कुरा यो देशको असल र इमानदार नागरिकले देख्नुपथ्र्यो ।

कविलाई पनि सबैलाई जस्तै जीवनमन परेको छ । घात र प्रतिघातभित्र पनि मुसुक्क मुस्कुराएको अनुहार मन परेको छ । हार्न त फेरि पनि मन छैन कविलाई बरू आकाशमा चराहरूजस्तै विशालता र स्वतन्त्रता बोकेर उड्न मन परेको छ । बिजुलीपानीको नशामा भए पनि सत्यलाई अङ्गीकार गर्न मन परेको छ । सँगीसाथी, शत्रु, मित्रलाई साथमा लिएर दुःख र अभावमै भए पनि बाँच्नु पनि परेको छ । सुन्दर कर्ममा प्रफुल्ल रहने आफैँभित्रको ईश्वरलाई पुज्न मन परेको छ । भौतिक र आध्यात्मिक भिन्न विचारको एउटै पुल बाँधेर विचारका दुई किनारालाई मिलाउन मन परेको छ ।

सौन्दर्यमा रमाउने र मुड फ्रेस गर्न बरू बहुलाउन पनि मन परेको छ । नयाँ बिहानको सुन्दर अनुहार हेर्न मन परेको छ । जीवनलाई सन्तुलनमा चलाउन मन परेको छ । कल्पनालाई सत्यमा उतार्न मन परेको छ । सुखदुःखको अनन्य मित्र कविताको उपासना गर्न मन परेको छ । त्रासदीपूर्ण नाटकको अन्त्य भएको हेर्न मन परेको छ तर परिस्थितिले उदास साँझलाई साथी बनाइदिएको छ । मरुभूमिमा हिमपात गराउन अराएको छ समयले र जीवनले त्यसैलाई अभ्यासमा ल्याउनुपरेको छ । त्यसैले पनि मरुभूमिमा हिमपातको सम्भावना देखा परेको छ ।

र कविलाई जीवनजन्य प्रेम र आकर्षणका बाछिटाहरूले रङ्ग्याएका पनि छन् । प्रेम गर्नलाई अनुमति चाहिँदैन । आत्मस्वीकृतिको बाटोमा निर्वाध हिँड्ने प्रेमिल आकाङ्क्षाहरूमा प्रतिबन्ध कविलाई मन परेको छैन । प्रेममा कविले झनै घात बेहोरेका छन् । प्रेममै बढी हिमपात व्यहोरेका कविले जीवनको प्रेरणाको आधार प्रेम पनि हो भन्नेलाई बुझेरै केही जिद्दी गर्न पनि तम्सिएका छन् । कुल्चिएको रातो गुलाफका कारणले हो वा पुँजीवादी मायाको नक्कली रूपले हो वा धोकाको धब्बाले हो प्रेमको अपमान भएको अवस्थाबाट कविले धेरै नै चित्त दुःखाएका छन् । तर, कविले रङ्गीन रातको सपना पनि देखेका छन् र प्रेमको इजलासमा प्रतिवादीको बयान दिनअघि सरेका छन् ।

त्रासदीपूर्ण नाटकको अन्त्य भएको हेर्न मन परेको छ तर परिस्थितिले उदास साँझलाई साथी बनाइदिएको छ । मरुभूमिमा हिमपात गराउन अराएको छ समयले र जीवनले त्यसैलाई अभ्यासमा ल्याउनु परेको छ । त्यसैले पनि मरुभूमिमा हिमपातको सम्भावना देखा परेको छ ।

कवि प्रतीक र बिम्बमा राम्ररी खेल्न सकेका छन् । विषयवस्तु र सिल्पसंरचनाका दृष्टिले सङ्ग्रह सुन्दर रहेको छ । कविताहरू सजिला छन् तर पनि सजिलो गरी अर्थ गरेरमात्र नपुग्ने खालका छन् । सुन्दा केही आश्चर्य लाग्ने यो शीर्षकको कविताकृतिभित्रका कवितालाई विवेचनाका फरक फरक आँखाले हेर्न सकिन्छ । सार कुरा कविको ध्येय के हो भनेर हेर्न सकियो भने कृतिप्रति अझ बढी न्याय हुन्छ भन्ने लाग्छ । माथि भनिएजस्तै र सङ्ग्रहका कविताहरूले भनेजस्तै जस्तो परिस्थितिमा पनि उम्रिन सक्नु, फुल्न र फल्न सक्नु सृष्टिको सौन्दर्य र विशेषता पनि हो । कवि प्रतिकूलतामा पनि हाँस्न र आशावादी हुन खोजेका छन् ।

यद्यपि जीवन र जगत्का हरेक चिजहरू हाम्रा अनुकूल छैनन् । तर जीवन असम्भवमा सम्भवको प्रयास हो । कविको सिर्जनशील सामथ्र्यले मरुभूमिमा हिमपात गराओस् भन्ने ध्येय कविको हो भन्ने कुरा कविताको अन्तर्य चेतना हो भन्ने लाग्छ । चाहे मरुभूमि नै किन नहोस् हाम्रा सिर्जनशील मन र मस्तिष्कहरू लगायौँ भनेँ हामी मरुमूमिलाई पनि शितल पार्न सक्छौँ । हरियालीयुक्त बनाउन सक्छौँ । प्रकिूलतामा पनि अनुकूलताको प्रयत्न हाम्रो अभियान होस् भन्ने सदिच्छा कविको रहेको बुझ्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?