पुस्तक : पोख्रेलको पठनीय कृति ‘मेची-काली’

✍️ सुशीला घिमिरे

डा. बद्री पोख्रेल नेपालका कहलिएका विद्वानहरूमध्येमा पर्नुहुन्छ । संस्कृत तथा अर्थशास्त्रको विद्यार्थी भएका कारणले उहाँले यी दुवै क्षेत्रको अध्ययनबाट प्राप्त ज्ञानलाई व्यवहारमा उपयोग गर्दै आउनुभएको छ । संस्कृतमा आचार्य गर्नुभएका पोख्रेलले यसको ज्ञानको गहिराइसम्म पुगेर आध्यात्मिक लेखनमा समय बिताउने गर्नुभएको छ । यही क्रममा उहाँले १८ पुराणमध्ये धेरैजसोको नेपालीमा अनुवाद गरी प्रकाशनका काम गरिसक्नु भएको छ । उहाँले अर्थशास्त्रमा पनि उच्च शिक्षा हासिल गर्नुभयो । पेशाले उहाँ नेपाल सरकारको सहसचिव भएर सेवानिवृत्त हुनुभएको छ ।

अर्थ, वाणिज्य तथा राजस्वलगायत स्थानमा रहेर उहाँले नेपाल सरकारको सेवा गर्नुभयो र सेवासम्बन्धी पनि लेखनसमेत गर्नुभयो । संस्कृतका ग्रन्थहरूको अनुवादका साथै उहाँले अन्य केही पुस्तक पनि लेख्नुभएको छ जसमध्ये एक हो, ‘मेची-काली’ । पुस्तक डिएमआई साइजमा प्रकाशित भएको छ र यस पुस्तकमा जम्मा भूमिका खण्डमा १० र पाठ्या खण्डमा ३२२ समेत गरी जम्म ३३२ पृष्ठ छन् । यस पुस्तकलाई उहाँले ७७ जिल्लाको चिनारी भन्नुभएको छ । विद्यार्थी पुस्तक भण्डारबाट प्रकाशित यस पुस्तकको यो पहिलो संस्करण हो जुन २०७६ सालमा प्रकटाशित भएको छ ।

शिखर समुद्रमा मुद्रण भएको यस पुस्तकको मूल्य ४५० रुपैयाँ छ । पुस्तकमा सेतो तौलयुक्त कागज प्रयोग भएको छ । पुस्तकको छपाइ स्तरीय छ र अशुद्धिहरू पनि कमै पाइन्छन् । पुस्तकको आवरण पनि आकर्षक छ । नीलो पृष्ठभूमिमा हिमाल र त्यसको फेदीमा बादल लागिरहेको नदीको खोंच, पहाड अनि भिराला जमिन र त्यसका काछको बाटोबाट यात्रा गरिरहेका दुईजना पदयात्रीहरू देखिन्छन् जुन अर्थपूर्ण छ । जसरी यस पुस्तकको शीर्षक ‘मेची–काली’ रहेको छ त्यसरी नै आवरणले त्यससँग मिल्दोजुल्दा परिदृश्य देखाउने प्रयास गरेको छ । पृष्ठ आवरणमा लेखकको फोटोसहित केही विचार र यात्राका पाँच उपहार दिइएको छ ।

पुस्तकले नेपालका ७७ वटै जिल्लाको सामान्य परिचय गराएको छ तर यतिमा मात्र पुस्तक सीमित छैन, यसले ती विभिन्न जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक, जातीय तथा पर्यटकीय महत्वको ठाउँहरूको समेत चिनारी दिएको छ । कुन जिल्लाका के कस्ता विशेषता छन् भनेर पुस्तकले बताएको छ ।

पाँच उपहारमा-१, आनन्द, ज्ञान, स्मृति र दूरदृष्टि २, मित्रता, जानपहिचान र अनुभव ३, दिक्दारी र एक्लोपनबाट मुक्ति ४, शारीरिक, मानसिक र आत्मिक शुद्धता र ५, तेज, फुर्ति र उत्साह वृद्धि भनिएको छ । यस पृष्ठको तल प्रकाशक विद्यार्थी पुस्तक भण्डारको नाम र ठेगाना उल्लेख गरिएको छ । भूमिका खण्डमा लेखक पोख्रेलको ‘किताबको परिवेश र कृतज्ञता’ र प्रा.डा.माधवप्रसाद पोखरेलको ‘भूमिका’ रहेका छन् । यसपछि विषयसूची छ । पछिल्लो पटक नेपाललाई प्रशासनिक आधारमा गरिएको विभाजनबमोजिम प्रदेश नं १, २, ३, ४, ५, ६ र ७ लाई क्रमिक रूपमा जिल्ला–जिल्ला गरेर चिनाइएको छ ।

प्रदेश नं. १ का १४ जिल्ला, प्रदेश नं. २ का ८ जिल्ला, प्रदेश नं. ३ का १३ जिल्ला, प्रदेश नं. ४ का ११ जिल्ला, प्रदेश नं. ५ का ११ जिल्ला प्रदेश नं. ६ का १० जिल्ला र प्रदेश नं. ७ का ९ जिल्लालाई पुस्तकमा चिनाइएको छ । हाल १ नं. प्रदेशबाहेक अरू ६ प्रदेशको नामकरण भइसकेको छ तर लेखकले यस पुस्तकको लेखन कार्य गरेताका तिनको नामकरण नभएका कारण यहाँ सातै प्रदेशको नं. मात्र उल्लेख भएको पाइन्छ । लेखकको यो प्रयास एकदमै सराहनीय छ । उहाँले धेरै ठूलो मिहिनेत र खोजका आधारमा मात्र यो पुस्तक तयार पार्नुभएको हो भनेर भनिरहनै पर्दैन ।

पुस्तकले नेपालका ७७ वटै जिल्लाको सामान्य परिचय गराएको छ तर यतिमा मात्र पुस्तक सीमित छैन, यसले ती विभिन्न जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक, जातीय तथा पर्यटकीय महत्वको ठाउँहरूको समेत चिनारी दिएको छ । कुनकुन जिल्लाका के कस्ता विशेषता तथा वैशिष्ट्यसमेत छन् भनेर पनि पुस्तकले बताएको छ । जसले गर्दा पुस्तक पठनीय तथा संग्रहणीयसमेत छ । लोकसेवा आयोगको तयारीका क्रममा रहेका विद्यार्थीका लागि पुस्तक अझै आवश्यकीय र पठनीय प्रमाणित हुन आउँछ ।

यो पुस्तक हेर्दा, पढ्दा र यसको आकार प्रकार हेर्दामात्र पनि त्यो कुरा पुष्टि भइहाल्छ । पुस्तकका लागि लेखक पोख्रेललाई धेरै धेरै बधाई छ र पुस्तकको सफलतको कामना । यसका साथै उहाँको हालको निवृत्त जीवन तुलनातमक रूपमा फुर्सदिलो पनि होला भन्ने अनुमानका आधारमा उहाँको यस समयमा यस्ता अन्य धेरैभन्दा धेरै पुस्तकहरू सिर्जना हुन सकून् उहाँलाई हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?