कञ्चनपुरमा ३ सय बढी घर डुबानमा, जनजीवन अस्तव्यस्त

हिमालय टाइम्स
Read Time = 2 mins

कञ्चनपुर । शुक्रबार रातिदेखिको अविरल वर्षातका कारण कञ्चनपुरमा करिब तीन सय घर डुबानमा परेका छन् । भिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा तीन सय घर डुबानमा परेका हुन् ।

वनहरा नदीको बाढी बस्तीमा पसेपछि शुक्लाफाँटा नगरपालिका-११ को वनहरा शिविरका ३० घर र वडा नम्बर १२ का ४ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मछेली नदीको बाढीले कृष्णपुर नगरपालिका-४ को बेलकुन्टीमा ८० घर, मोहना नदीको बाढीले कृष्णपुर नगरपालिका(५ को पवित्रा बस्तीका ७० घर डुबानमा परेका छन् ।

दोदा नदीको बाढीले लालझाडी गाउँपालिका-३ मा १०० घर डुबानमा परेको प्रहरीको भनाई छ । बाढीमा बस्ती पसेर घर डुबानमा परेपछि प्रभावितहरुलाई अहिले विद्यालय भवनमा राखिएको प्रहरीले जनाएको छ ।

बाढी प्रभावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताउनुभयो ।

‘बाढी प्रभावित बस्तीमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेका छौं, शुक्लाफाँटा र कृष्णपुरका बाढी प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा राखि सकेका छौं,’ उहाँले भन्नुभयो, ‘लालझाडीमा उद्धारको काम भइरहेको छ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?