धेरै तितो नबोलौं यो सरकार कसरी बन्यो भनेर त छताछुल्लै भइसकेको छ : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार भएको भए गत वैशाखमै निर्वाचन भइसकेको हुने बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

बैठकमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार परमादेशबाटै बनेको पुनः दोहोर्याउनु भयो । यो सरकार संविधान विपरित रहेको र यो प्रतिगमन भएको पनि दावी गर्नुभयो । यद्यपि, यो सरकारले निर्वाचन तोकिसकेका कारण अब धेरै बहस गर्न जरुरी नभएको बताउनु भयो। उहाँले आफू सरकारमा रहिरहेको भए १७ र २७ वैशाखमै भइसकेको हुने बताउनु भयो ।

उहाँले यो सरकारले जेसुकै भने पनि संविधानको उल्लघन गरेको घटना अहिले भइरहेका घटनाक्रम देखाएको पनि बताउनु भयो। उहाँले भन्नुभयो, ‘सरकार बनाएको परिवेश त छताछुल्ल भएकै छ । जे भए पनि अब हामी एउटा कोर्षमा गइसकेका छौं । निर्वाचनको मिति तोकिएको छ । यो प्रतिगमन होइन । तर, संविधानविपरित परमादेशबाट सरकार गठन हुनु चाही प्रतिगमन नै हो ।’

बैठकमा उहाँले यो सरकारले भष्ट्राचारको सन्दर्भमा ‘ .....भन्दा देख्नेलाई लाज’ भने जस्तो गरिरहेको आरोप पनि लगाउनु भयो । उहाँले अब छुट्टिने बेलामा धेरै कठोर नबोलने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘तितो नबोलौं तर प्रधानमन्त्रीलाई सही बाटो देखाउनै पर्छ ।’

संबोधनका क्रममा संसदको प्रारम्भमा निकै राम्रा काम भएको बताउनु भयो । प्रारम्भामा धेरै कानुन संसोधन गरेको, संघीयताका संरचना निर्माण गरेका, संघ, स्थानीय तह कसरी चलाउने भनेर संविधान अनुकुल कानुन र अन्य संरचना निर्माण गरेको बताउनु भयो । यस्तै, प्रदेशहरूको राजधानी तोक्ने, एउटा बाहेक बाँकीको नामाकरण लगायत काम निकै राम्रोसँग गरेको बताउनु भयो । साथै, भूकम्पपछिको पुनर्निर्माणमा पनि अत्यन्तै प्रभावकारी काम भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?