नयाँ इतिहास रच्ने मोडमा नेपाल

हिमालय टाइम्स
Read Time = 5 mins
A A- A+

काठमाडौं । साबिक विजेता भारतलाई सेमिफाइनलमा पराजित गरेसँगै साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल नयाँ इतिहास रच्ने मोडमा छ । भारत बाहिरिएसँगै महिला साफ च्याम्पियनसिपमा पहिलोपटक नयाँ च्याम्पियन बन्ने पक्का भइसकेको छ ।

यसअघि भएका पाँच संस्करणमै भारत च्याम्पियन बनेको थियो । तर, शुक्रबार भएको सेमिफाइनलमा नेपालले भारतलाई १-० र बंगलादेशले भुटानलाई ८-० ले हराउँदै फाइनल भेट पक्का गरे । त्योसँगै नेपाल र बंगलादेशमध्ये एउटा च्याम्पियन बन्नेछ । दुवै टोलीले यसअघि प्रतियोगिताको उपाधि उचाल्न सकेका छैनन् ।

यसअघि चारपटक फाइनल खेलिसकेको र उपाधि दाबेदार भारतलाई हराएकाले नेपाल नयाँ च्याम्पियन बन्ने आँकलन गरिएको छ । सन् २०१० मा सुरु भएको च्याम्पियनसिपमा २०१६ को चौथो बाहेक नेपालले सबै फाइनल खेलेको छ । चौथो संस्करणमा भने नेपाल सेमिफाइनलमा रोकिएको थियो ।

साफ च्याम्पियनसिप फुटबलको १२ वर्षे इतिहासमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलोपटक भारतलाई पराजित गरेको हो । भारतमाथिको जितसँगै नेपाल साफ च्याम्पियनसिपको पाँचौंपटक फाइनलमा पुग्यो ।

घरेलु मैदान विराटनगरमा आयोजित पाँचौं संस्करणको साफ च्याम्पियनसिपमा घरेलु समर्थकको साथ हुँदाहुँदै पनि नेपालले फाइदा लिन सकेको थिएन । तर, यसपटक नेपालले करिब सात हजार दुई सय घरेलु समर्थकको पूरै लाभ उठायो । पाँचपटकको साफ च्याम्पियनसिपको विजेता भारत पहिलोपटक सेमिफाइनलबाट बाहिरियो ।

साफ च्याम्पियनसिपमा जहिले पनि नेपाल भारतसँगै पराजित हुँदै आएको थियो । साफको सुरुवाती चरणको फाइनल खेलमा पनि नेपाल भारतसँग १–० गोलअन्तरले पराजित हुँदै दोस्रो बनेको थियो । सन् २०१२ मा भएको दोस्रो संस्करणको फाइनल खेलमा पनि नेपाल भारतसँगै ३-१ गोलअन्तरले पराजित भएको थियो । यसैगरी सन् २०१४ मा भएको तेस्रो संस्करणको फाइनल खेलमा पनि नेपाल भारतसँग ६-० गोलअन्तरले पराजित हँुदै उपविजेता बनेको थियो ।

सन् २०१६ मा भएको चौथो संस्करणको खेलमा भने नेपाल सेमिफाइनलबाटै बाहिरियो । त्यतिबेला नेपाल सेमिफाइनल खेलमा भारतसँग ३-१ गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । सन् २०१९ मा भएको पाँचौं संस्करणमा पनि नेपालले फाइनल खेलमा ३-० गोलअन्तरले भारतसँग पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझाएको थियो ।

घरेलु समर्थकका माझ नेपाल र बंगलादेशबीचको फाइनल खेल सोमबार हुनेछ । समूह चरणको खेलमा नेपालले भुटानलाई ४-० गोलअन्तरले पराजित गरेको थियो भने श्रीलंकालाई ६-० गोलअन्तरले हराएको थियो । खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले बाह्र वर्षपछि इतिहास रच्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले सबै खेलाडीको मेहनत र आमफुटबलप्रेमीको समर्थनमा नेपालले जित दर्ज गरेको बताउनुभयो । भारतविरुद्धको खेलमा वर्षा बाधक नबन्दा जित हात पार्न सहज भएको उहाँको प्रतिक्रिया थियो ।

मुख्य प्रशिक्षक थापाले नेपाली टोलीले पाएको अवसरलाई गुमाउन नदिएको उल्लेख गर्दै बंगलादेशविरुद्धको फाइनलमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय फुटबल टोलीकी सदस्य प्रीति राईले घरेलु दर्शकले खेल जिताउन सहयोग पुर्‍याएको र आगामी खेलमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने बताउनुभयो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?