पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर सुरु

Read Time = 3 mins

काठमाडौं । पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौथो तला डिइसिसीमा प्रदर्शनी उद्घाटन गर्दै नेपालस्थित पाकिस्तानका राजदूत सइद हैदर शाहले नेपाल र पाकिस्तानबीच रहेको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन आपसी हितमा हुने आर्थिक तथा व्यापारिकलगायतका गतिविधिमा संलग्नता बढाउन प्रदर्शनीले सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

प्रदर्शनी पाकिस्तान र नेपालको व्यापारिक सम्बन्धको उत्कृष्ट नमुना भएको भन्दै दुवै देशका आफ्नै मौलिक उत्पादन एकै थलोमा प्रदर्शन हुँदा दुवै देशका उपभोक्ता लाभान्वित हुने बताउनुभयो ।

दुई देशबीचको सम्बन्ध व्यावसायिकसँगै सांस्कृतिक र सामाजिक पनि रहेको भन्दै राजदूत शाहले प्रदर्शनीले दुवै देशको रहनसहनदेखि सांस्कृतिक कुरामा समेत परिचित हुने अवसर प्रदान गर्ने बताउनुभयो । आर्थिक गतिविधिलाई बढावा दिएर दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि प्रदर्शनी उपयोगी हुने अपेक्षा रहेको आयोजक इन्ट्रोडक्सन ट्रेड शोका प्रबन्ध निर्देशक सुमन महर्जनले बताउनुभयो ।

पाकिस्तानमा निर्मित छालाका सामग्रीले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीले पाकिस्तानमा प्रभाव जमाएको भन्दै उहाँले प्रदर्शनीमार्फत् दुवै देशको उत्पादन प्रवद्र्घनमा सघाउ पुग्ने बताउनुभयो । बिहीबारसम्म चल्ने प्रदर्शनीमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्रीहरू रहेका छन् । मेलामा काठमाडौंस्थित पाकिस्तानी राजदूतावास, ललितपुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज र भक्तपुर चेम्बर अफ कमर्शलगायतको पनि सहयोग रहेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?