दुई महिनामा १३ हजार जनामा डेंगु संक्रमण, १३ जनाको मृत्यु

डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या १३ हजार नाघेको छ । साउनयता शनिबारसम्म देशभरिमा डेंगुका बिरामीको संख्या १३ हजार सात पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७५ जिल्लामा डेंगुका बिरामी देखिएका छन् । डेंगु संक्रमणका कारण हालसम्म १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । डेंगु सबैभन्दा बढी बागमती प्रदेशमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बागमतीमा डेंगुका बिरामीको संख्या नौ हजार ९९१ पुगेको छ । बागमतीपछि लुम्बिनीमा सबैभन्दा धेरै डेंगुका बिरामी छन् ।

लुम्बिनीमा एक ५१० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । त्यसपछि प्रदेश १ मा ४१७, सुदूरपश्चिममा ४०८, गण्डकीमा २९१, मधेश २२६ र कर्णालीमा सबैभन्दा कम १८८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी ललितपुर र भक्तपुरमा डेंगुका संक्रमित छन् । अहिले अस्पतालहरूमा डेंगुका बिरामी भरिभराउ भएका छन् । सरकारीमा अस्पतालमा मात्र होइन, निजी अस्पतालमा पनि डेंगुका बिरामीको चाप बढेको छ । सरकारी अस्पतालहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, सिभिल अस्पताल लगायतका अस्पतालमा बिरामीको चाप बढ्दो छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सबैभन्दा धेरै बिरामी पुग्ने गरेका छन् । अस्पतालमा आएका बाहेक घरका अन्य परिवारमा पनि डेंगु संक्रमण फैलिएको अनुमान छ ।

नेपालमा सन् २००४ मा पहिलोपटक डेंगुुको बिरामी फेला परेको थियो । त्यसयता डेंगुको संक्रमण देखिँदै आएको छ । साउनदेखि असोजसम्म बढी गर्मी र पानी पर्ने भएकोले डेंगुको संक्रमण जोखिम बढी हुने गरेको छ ।

थोरै संक्रमित हुँदा हेलचेक्र्याइँ गर्दा भयावह स्थिति
डेंगु नियन्त्रणका लागि सरकारले प्रयत्न गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार डेंगु नियन्त्रणका लागि प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वय गरिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ६० जिल्लाका १३९ तहमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न बजेट विनियोजन गरेको छ । डेंगु निदानका लागि किटहरूसमेत उपलब्ध गराउँदै आएको महाशाखाले जनाएको छ । सरकार तथा स्थानीय तहलेसमेत रोकथामका लागि विभिन्न प्रयास गरिरहेका छन् । लामखुट्टे नष्ट गर्न विभिन्न स्थानीय तहले पनि प्रयास गरिरहेका छन् । सरकारको हेलचेक्र्याइँका कारण डेंगु संक्रमण बढ्दै गएको चिकित्सकको भनाइ छ । सरकारले थोरै संक्रमित हुने बेलामै हेलचेक्र्याइँ गरेकाले अहिलेको भयावह स्थिति आएको चिकित्सकको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुन उपचार र रोकथाममा अझै ध्यान दिन नसके अवस्था भयावह हुने बताउनुहुन्छ ।

विशेषगरी साँझ-बिहानको समयमा सक्रिय हुने, सफा र जमेको पानीमा बस्ने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्छ । डेंगु संक्रमण महामारीका रूपमा फैलिए पनि महाशाखाले भने आक्रामक रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छैन । पछिल्लो समय काठमाडौंसहित चितवन, भैरहवा, बुटवल, दाङलगायत सहर डेंगु संक्रमणबाट बढी प्रभावित रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?