पश्चिममा बाढी-पहिरोको बबण्डर

हिमालय टाइम्स
Read Time = 7 mins

अछाम । अछामका विभिन्न ठाउँमा पहिरोमा पुरिएर डेढ दर्जन बढी मानिसको ज्यान गएको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा शुक्रबार राति गएको पहिरोमा पुरिएर १७ जनाको ज्यान गएको हो । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार पहिरोमा पुरिएर ६ जना अझै बेपत्ता छन् । घाइते ११ जनामध्ये तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि सुर्खेत लगिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्यको स्थानीय अस्पताल र स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

शनिबार अबेरसम्म तुर्माखाँद गाउँपालिका-५ मा चार, कमलबजार नगरपालिका-६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ । उक्त वडामा तीनजना पहिरोमा परी बेपत्ता छन् । रिजालका अनुसार ढकारी गाउँपालिका-६ मा एकजनाको शव भेटिएको छ भने एक बेपत्ता छन् । शव भेटिएकामध्ये धेरैको सनाखत भए पनि शनिबार अबेरसम्म यकिन विवरण आइनसकेको उहाँले बताउनुभयो । यकिन विवरण आउन बाँकी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने उहाँको भनाइ छ । ‘घटनाको यकिन विवरण आइसकेको छैन । केहीको सनाखत भएको जानकारी आएको छ । तर पूर्ण विवरण प्राप्त भएको छैन,’ हिमालय टाइम्ससँग उहाँले भन्नुभयो, ‘उद्धार र खोजीकार्य जारी छ । मृतकको संख्यासमेत बढ्न सक्छ ।’ पहिरोमा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएको उहाँले बताउनुभयो ।

तीन पालिकाबाहेक अन्यमा पनि पहिरोले क्षति पुर्‍याएको उहाँले बताउनुभयो । उहाँका अनुसार अन्य पालिकामा भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको छैन । सम्भावित क्षति हुनसक्ने क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको उहाँले जानकारी दिनुभयो ।

कैलाली-कञ्चनपुर जलमग्न, हजारौँ विस्थापित
लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश प्रभावित बनेको छ । लगातारको वर्षाले कैलाली र कञ्चनपुरका विभिन्न ठाउँहरू जलमग्न बनेका छन् । लगातारको वर्षाका कारण कैलाली र कञ्चनपुरका हजारौँ परिवार विस्थापित भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार वर्षापछि कञ्चनपुरको मछेली, बनहरा र दोदा नदीको बाढी बस्तीमा पसेको छ । जिल्लाको वनहरा शिविर, कृष्णपुर नगरपालिकाको तटीय क्षेत्रका वडाहरू, लालझाडी गाउँपालिका-३, शुक्लाफाँटा नगरपालिका-१२, बेलौरी नगरपालिका–५ लगायतमा बाढी घरमा पसेको र डुबान भएको सुदूरपश्चिम प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार डुबानमा परेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । त्यस्तै, कैलालीको भजनी नगरपालिका-८ पथरिया नदीमा बाढी आउँदा सोनाफाटा, दैलेखी, भरतान, जनकपुर र छछरहवा टोल डुबानमा परेको छ । वडा नं ५ स्थित कान्द्रा नदीमा पानीको सतह बढ्दा लालबोझी र पुलियापुर टोलमा बाढी पसेको छ । भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिकाका बस्तीहरूसमेत डुबानमा परेका छन् । मोहना, पथरैया, काडा र कान्द्रा नदीमा आएको बाढी बस्तीमा पसेको छ ।

कैलाली–कञ्चनपुर मात्रै होइन बर्दियाका विभिन्न नदी तथा खोलामा आएको बाढीले पनि बस्ती ढुवानमा परेका छन् । जिल्लाको राजापुर र ठाकुरबाबा नगरपालिका अन्तर्गतका विभिन्न नदी तथा खोलानाला भरिएर बस्ती डुवानमा परेका हुन् । कर्णाली नदीमा पानीको बहाव बढेसँगै राजापुर–७ बाजुरोली टोलका ३०, ठाकुरबाबा नगरपालिका-७ र ५ का ३५ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद बास्तोलाले जानकारी दिनुभयो । नदी र खोलामा पानीको सतह बढने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको उहाँले बताउनुभयो । बर्दियालगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भएपछि बबई नदीले खतराको तह पार गरेको छ ।

राजमार्ग अवरुद्ध, कञ्चनपुरमा बाढीले झोलुंगे पुल बगायो
लगातारको वर्षापछि आएको बाढी र पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त मार्ग अवरुद्ध भएको छ । त्यसैगरी, कैलालीको चुरे गाउँपालिका-६ बालकोटस्थित भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सोही गाउँपालिकाको वडा नं ५ र ६ स्थित भीमदत्त राजमार्गको अन्य पाँच स्थानमा पनि पहिरो जाँदा सडक अवरुद्ध छ । कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुंगे पुल बगाएको छ । बाढीले शुक्लाफाँटा नगरपालिका-१२ स्थित बनहरा नदीको झोलुंगे पुल बगाएको हो । तीन वर्षअघि उक्त नदीमा झोलुंगे पुल निर्माण गरिएको थियो । बाढीले पुल बगाएपछि स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ । बाढीले नदी किनारका बस्तीमा समेत क्षति पुर्‍याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?