‘गत वर्षको बाढीले सर्वस्व लुट्यो, यस वर्ष के हुने हो ?’

रासस
Read Time = 6 mins

बझाङ । खप्तडछान्ना गाउँपालिका-५ सुतारीगाउँकी पुनम सार्की विरामी पर्नुभएको दुई महिना भयो । भारतका विभिन्न अस्पतालमा उपचार गर्दा पनि सञ्चो नभएपछि उनको परिवार गत हप्ता नेपाल फर्किए । बझाङको तमैल बजारसम्म गाडीमा आएका उनीहरू तमैलबाट भने ‘स्टेचर’का सहारामा आफन्तले सार्कीलाई घर पुर्याएका छन् ।

गत वर्ष बाढीले तहसनहस बनाएको छान्नामा यसपटक पनि मनसुन सुरु भएलगतै जडारीगाडले सडक बगाएपछि यातायातका साधन बन्द छ । छोरा राजु सार्कीले भन्नुभयो, ‘बिरामी बोकेर आएका, त्यसैमाथि बाटोमै पहिरो आएर हामी त निकै आत्तिएका थियौँ । हत्तपत्त पहिरो छल्दै अगाडि आयौँ ।’

‘कान्छो भाइलाई काकासँग छोडेर आयौँ’, राजुले भन्नुभयो, ‘डाक्टरले गाउँमै लैजान सुझाव दिएपछि घर आएका हौँ । यता बाटो नै रहेनछ । एक/दुई जनालाई पनि अघिपछि हिँड्नै नसक्ने ठाउँमा स्टेचरमा दुई अघि दुई पछि मुस्किलले घर पुगेका छौँ ।’

सार्की परिवारलाई मात्रै होइनन्, अहिले छान्नामा जडारीगाड सबैको दुःख बनिरहेको छ । छान्ना प्रवेशदेखि सुरु हुने जडारीगाडले कतै सडक भत्काइएको छ भने कतै गाडले नै आफ्नो बाटो बदलेको छ । छान्नाको करिब १० किलोमिटर जमिनको छेउछाउमा बग्ने जडारीगाडले बर्खायाममा सधैँ दुःख दिने गरेको खप्तड छान्ना-५ का कृष्ण थापा बताउनुभयो । ‘जडारीगाडले हामीलाई हिउँदबाहेक जहिल्यै दुःख दिन्छ”, उहाँले भन्नुभयो, ‘गत वर्ष आएको बेमौसमी बाढीपछि त हत्केलामा ज्यान राखेर हिँँड्नुपर्छ । बाटो नै हुँदैन । बनाइएको बाटो पनि हप्ता दिनभन्दा बढी टिक्दैन ।’

बाटो सहज नहुँदा बिरामीलाई बोक्नुपर्यो भने त ज्यान नै तलमाथि हुनसक्ने उहाँले बताउनुभयो । गत वर्ष असोज ३० गतेदेखि कात्तिक ३ सम्म आएको बेमौसमी बाढीका कारण छान्नामा करोडौँको भौतिक क्षति भएको थियो भने छ जनाको ज्यानै गएको थियो । मौसम पूर्वानुमान महाशाखाले गत वर्षको बाढीले गलेको जमिन बग्न सक्ने जनाउँदै सतर्कता रहन आग्रह गरेपछि खोला किनाराका बस्ती भने सङ्कटमा परेका छन् ।

खप्तडछान्ना गाउँपालिका-१ का सुरेन्द्र खाती भन्नुहुन्छ, ‘मौसम पूर्वानुमान महाशाखाले पनि गलेको जमिन फेरि बग्ने सङ्केत गरेको छ । अब हाम्रो त कतै जाने ठाउँ पनि छैन । गत वर्षको बाढीले सर्वस्व लुट्यो । यो वर्ष त झनै के गर्ने भन्ने सोचेका पनि छैनौँ ।’

उहाँका अनुसार खातीगाउँमा पानी परेको दिनमा रातभर जाग्राम बस्छन् । दिउँसो आँगनमै जडारीगाड हेरेर टोलाउँछन् । ‘अब के गर्ने, कता जाने, के खाने पनि टुङ्गो छैन । गत वर्षको बाढीले सबै लुट्यो । अहिले रित्तै छौँ’, उहाँ भन्नुहुन्छ । खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया भने बाढीपीडितका लागि अहिले बजेट नभएको र अब यसै नयाँ आर्थिक वर्षबाट बाढीपीडितका लागि आवश्यक व्यवस्था गर्ने बताउनुहुन्छ । ‘योभन्दा अगाडि बजेट पनि थिएन । अहिले उहाँहरूका लागि बजेट छुट्याएका छौँ । अब कार्यान्वयन हुन्छ ।’

उहाँ विपद् न्यूनीकरणका लागि पनि पूर्ण रुपमा तयारी गरेको बताउनुहुन्छ । ‘गत हप्ता विपद्सम्बन्धी पूर्वतयारीका लागि बैठक पनि बसेको थियो । त्यसमा सचेत रहन सबैका लागि सूचना पनि जारी गरेका थियौँ । हाम्रो गाउँपालिकामा रहेको जेसिबीलाई पनि तम्तयार अवस्थामा राखेका छौँ,’ उहाँ भन्नुहुन्छ । उहाँले कुनै ठाउँमा घटना घट्यो भने पनि सबै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुहुन्छ । जडारीगाडले बाटो क्षति पुर्याएका ठाउँमा पनि वैकल्पिक बाटो बनाएको छ । उहाँका अनुसार घाटखोला, खातीगाउँ, कालुखेतीमा वैकल्पिक बाटो तयार पारिएको छ ।

‘पहिरोजन्य ठाउँमा पनि नजानका लागि सर्वसाधारणमा अनुरोध गरेका छौँ’, अध्यक्ष खाती भन्नुहुन्छ, ‘गाउँपालिकाभरि आएका पहिरामा नहिँड्नका लागि पनि सबैलाई आग्रह गरेका छौँ । कुनै घटना घटिहालेमा तत्काल उद्धारका लागि सुरक्षा निकायलाई ‘हाइअलर्ट’मा राखेका छौँ ।’ उहाँले गाउँपालिकामा गर्भवतीको अवस्था हेरेर सरकारी हेलिकोप्टरको व्यवस्था गर्ने जानकारी दिनुभयो । ‘असोजमा हुने सुत्केरीको नामावली तयार पार्न स्वास्थ्य संयोजकलाई निर्देशन दिएका छौँ । बच्चा जन्माउन नसक्ने अवस्था भएमा तत्काल हेलिकोप्टरमार्फत ‘रिफर’ गर्नेछौँ । यसका लागि सम्बन्धित सबै निकायसँग समन्वय गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?