पितृप्रति श्रद्धाभाव व्यक्त गर्नुको तात्पर्य

Read Time = 14 mins

✍️ डा. नारायणप्रसाद निरौला

‘पा रक्षणे’ धातुमा ‘तृच्’ प्रत्यय (पा+तृच्=पितृ) लागेर पिता शब्दको निर्माण हुन्छ । जसको अर्थ रक्षा गर्नेवाला रक्षक वा संरक्षक भन्ने हुन्छ । वंशका रक्षक नै पिता हुन् । पितृ शब्दबाटै पिता (बुबा) नाम आएको हो । यसैगरी बुबापट्टिका तीनपुस्ते बुबाआमा, हजुरबुबा हजुरआमा, बुढाहजुरबुबा हजुरआमा र आमापट्टिका तीन पुस्ते अर्थात् मावली हजुरबुबा हजुरआमा, बुढाहजुरबुबा बुढीहजुरआमा र कुप्रा हजुरबुबा हजुरआमालाई क्रमशः वसु, रुद्र र आदित्यस्वरूप पितृ हुन् ः ‘वसुरुद्रादितिसुताः पितरः श्राद्धदेवताः ।’ (याज्ञवल्क्यस्मृति) जसलाई श्राद्धका देवता भनेर मानिएको छ ।

हामी पितृकै अंश रूप हौँ । यसैले हाम्रा जन्मदाता सदा आदरणी र पूजनीय हुन्छन् । पितृबीज नै हामी भएकाले पनि पितृप्रतिको हाम्रो सम्बन्ध बीजकीय रूपमा रहेको हुन्छ । ‘आत्मा वै पुत्रः’ अर्थात् पितृआत्माको अंशरूप नै पुत्र वा सन्तति रहेकाले पितृसँग सन्ततिको आत्मीय सम्बन्ध रहेको हुन्छ । यो संसारमा परम्पराको बीजाधान गर्दै अनन्त सन्ततिको सूत्रपात गर्ने स्वपितृ सदा आदरणीय र पूजनीय हुन्छन् । धर्मशास्त्रले पनि तीन ऋणमध्ये पितृऋणलाई महत्वरूपमा बताएको छ ।

देहान्त्यपछि हामीले उचित संस्कार गर्न सकेनौँ भने ती देहान्त्यी गतिहीन भई यही भूलोकमा नै विक्षिप्त बनी विचरण गरिरहन्छन् । ती नै भूत प्रेतका रूपमा रहेका हुन्छन् । जसको उदाहरण श्रीमद्भागवत माहात्म्यमा वर्णित धुन्धुकारी उपाख्यान हेर्न सकिन्छ ।

जब देहान्त्य हुन्छ त्यसपछि प्राणवायुले यो शरीरलाई त्याग्दछ । देहान्त्यसँगै शरीर पृथ्वी, जल, तेज, वायु र आकाशमा मिल्छ, दाह संस्कारादि कार्य गरिन्छ । स्मृति चेत पनि नासिएर जान्छ । केवल कर्म अनुसारको आत्मा रूपमात्र रहन्छ । जब औध्वदेहिक कर्म गरिन्छ अनि उक्त आत्माले एक हातबराबरको सूक्ष्म शरीर प्राप्त गरी पितृलोकको यात्रामा अगाडि बढ्छन् भनेर गरुडपुरणमा यसरी बताइएको छ : ‘अहोरात्रेश्च नवभिः प्रेतः पिण्डमवाप्नुयात् । जन्तुनिष्पन्नदेहश्च दशमे बलमाप्नुयात् ।। दग्धे देहे पुनदहः पिण्डेरुत्पद्यते खगः । हस्तमात्रः पुमान् येन पथि भुङ्ते शुभाशुभम् ।।’ (गरुडपुराण, सारोद्धार, १।४९-५०) अर्थात् नौ दिनसम्म दिएका पिण्डले विदेहात्माको शरीर बन्छ । दशौँ दिनको पिण्डले शक्तिको सञ्चार हुन्छ ।
यसरी शक्ति प्राप्त गरी विदेहात्मा वर्षदिनसम्म यात्रा गरेर पितृलोकमा पुग्छन् । वार्षिक कर्मको फलस्वरूप उक्त एक हातको सूक्ष्म शरीरलाई त्याग गरी उक्त आत्माले वायुरूप एक अंगुलको अर्को शरीर प्राप्त गरेर मनुष्य पितृका रूपमा रही आर्जन गरेको कर्मको फल भोग गर्छन् ः ‘ततः संवत्सरस्यान्ते प्रत्यासन्ने यमालये । बहुभीतिपुरे गत्वा हस्तमात्रं समुत्सृजेत् । अङ्गुष्ठमात्रो वायुश्च कर्मभोगाय खेचरः ।।’ (गरुडपुरण, सारोद्धार, २।८२–८३) अर्थात् पुत्रादिले प्रदान गरेका वस्तु प्राप्त गरी तृप्त भई पितृको लोकमा कर्मभोगअनुसार पितृ विचरण गर्दछन् ।

यसरी विचरण गर्ने पितृलाई हाम्रा अँखाले देख्न सक्दैनन् । अर्थात् ती पितृको सूक्ष्म वायुरूपी शरीर रहने भएकाले पनि यी हाम्रा चर्मचक्षुले देख्न नसकेका हुन् । यसरी देहान्त्यपछि हामीले उचित संस्कार गर्न सकेनौँ भने ती देहान्त्यी गतिहीन भई यही भूलोकमा नै विक्षिप्त बनी विचरण गरिरहन्छन् । ती नै भूत प्रेतका रूपमा रहेका हुन्छन् । जसको उदाहरण श्रीमद्भागवत माहात्म्यमा वर्णित धुन्धुकारी उपाख्यान हेर्न सकिन्छ ।

यसरी पितृलोमा पुगेका पितृहरूका पनि देवता हुन्छ । अर्थात् त्यहँको व्यवस्था पनि भिन्नै छ । ब्रहृमाका पुत्रमध्ये स्वर्गमा रहने सात देवता पितृदेवगण हुन् । यी मध्ये चार सुकाल, अंगिरस, सुस्वधा र सोमपा मूर्तिमान (मूर्त) पितृदेव हुन् । अमूर्त देवतमा वैराज, अग्निष्वात्त र वर्हिषद पर्दछन् । नाम गोत्रको उच्चारण गर्दै स्वर्गीय पितृहरूको आराधना गरेमा यी पितृहरूले स्वर्गमा गएका आफ्ना बाबुआमा आदिलाई तृप्त गराउँछन् भन्ने कुरा हरिवंश पुराणमा उल्लेख छ ।

पितृका दुई श्रेणी छन् । १. दिव्य पितर । २. मनुष्य पितर । दिव्य पितृ त्यो समूहको नाम हो जसले मनुष्यको कर्मअनुसार देहान्त्यपश्चात् के गति हुन्छ यसको निर्णय गर्दछन् । दिव्यपितृ एक न्याय परिषद् जस्तै हो । यसका न्यायाधीश यमराज हुन् । कव्यवाडनल, सोम, अर्यमा र यम यी चार दिव्यपितृका मुख्य गण हुन् । अर्यमालाई पितृका प्रधान मानिन्छ भने यमराजलाई न्यायाधीश । यी चार दिव्यपितृका अलावा प्रत्येक वर्गबाट सुनुवाइ गर्नेवाला प्रतिनिधि देवता विशेष रहन्छन् । जस्तो कि अग्निष्वाता देवताका प्रतिनिधि, सोमपा साध्यका प्रतिनिधि, बर्हिषद गन्धर्व, राक्षस, किन्नर, सुपर्ण तथा यक्षका प्रतिनिधि हुन् ।

अर्यमालाई पितृका देवता मानिन्छ । पितृको कूल परम्पराको लेखा जोखा एवं व्यवस्थापन अर्यमाद्वारा हुने गर्दछ । को कुन कूलको भन्ने सम्पूर्ण वृत्तान्त अर्यमाले राख्दछन् । उनको निवासस्थान उत्तराफाल्गुनी नक्षत्र लोक भनेर बताइएको छ । यसरी सम्पूर्ण गणको समूहलाई पितर भनिन्छ । यसरी दिव्यपितृको न्यायपरिषद्ले गरेको निर्णयानुसार आफू (हाम्रा पितृ)ले जे जस्तो कर्मभोग लिई गएका छन् सोको भुक्ति गर्नुपर्ने विधान पितृलोकमा हुने गर्दछ ।

सूर्यका हजारौँ किरणमध्ये प्रमुख किरणको नाम अमा हो । उक्त अमा नामक प्रधान किरणको तेजबाट सूर्यले त्रिलोकलाई प्रकाशित गर्दछन् । सोही अमा तिथिका दिन वस्य अर्थात् चन्द्रमा रहने भएकाले अमावास्या भनिएको हो । पितृको निवासस्थान चन्द्रमाको माथिल्लो भागमा बताइएको छ (सिद्धान्तशिरोमणि) । हाम्रो एकमहिना बराबर पितृलोकमा एक दिनरात हुन्छ । हाम्रो शुकलपक्ष पितृलोकमा रात र हाम्रो कृष्णपक्ष पितृलोकमा दिन हुन्छ । औँसीका दिन पितृलोकमा मध्याहृन भोजन गर्ने समय हुने भएकाले पनि पितृप्रति श्रद्धा भक्तिपूर्वक श्राद्धादि कर्म गरिएको हो ।

अग्निदेवले प्रदान गरिएको वस्तु देवता र पितृलाई प्रदान गर्दछन् वा पु¥याउँछन् भनी ऋग्वेदको अग्निसूक्तमा यसरी बताइएको छ ः ‘अग्निः पूर्वेभिर्ऋषिभिरिड्यो नूतनैरूतसदेवाँएहवक्षति ।।’ (ऋग्वेद, अग्निसूक्त २) अर्थात् अग्निदेव नै देव तथा पितृका स्तुत्य छन् । उनैले देव तथा पितृलाई लिन र लान समर्थ छन् । यसैगरी पितृलाई अर्पण गरिएका वस्तु सूर्यद्वारा वाष्प भई पितृलोकमा पुग्ने र त्यही भोजनले पितृ तृप्त हुने र भोजन गर्ने उपयुक्त समय औँसी रहेकाले पनि औँसीमा पितृकर्म गर्नु भनिएको हो । यसैले औँसी पितृ पूजनका निम्ति विशेष रहेको हो । यसैगरी सोह्रश्राद्धा कृष्णपक्षमा रहनुको कारण पनि यही हो ।

संसारका जुनसुकै धर्मावलम्बीले पनि पितृप्रति श्रद्धाभाव व्यक्त गर्ने भिन्न भिन्न व्यवस्था रहेका छन् । पितृप्रति श्रद्धाभाव अनेक प्रकारले व्यक्त गर्न सकिन्छ । तर्पण, श्राद्ध, ब्राहृमणभोज, पिण्डदान, सीदान्नदान आदि पितृप्रति पूज्य भाव प्रकट गर्ने वैदिक विधि हुन् ।

हामी पितृबीजकै स्वरूप हौँ । संसारका हरेक विषयवस्तुको आधार छ । कार्यकारण भावबाटै यो संसार चलेको छ । यसैले हाम्रा आधार पितृ हुन् । पितृका आधार देवता हुन् । देवताको आधार परब्रहृम ईश्वर हुन् । जतिसुकै भौतिकवादी भने पनि हामीमा स्वतः पितृको अंश हुन्छ । आजको डिएन्ए परीक्षणले पनि सोही कुरा दर्शाएको छ । यसैले पितृप्रति श्रद्धाभाव राख्नु भनेको स्वयंको कल्याण चाहनु हो । आफ्नो कल्याण सबैको अभीष्ट नै रहन्छ । यसैले शास्त्रमा पनि पितृप्रति श्राद्धाभाव व्यक्त गर्ने विशेष दिनहरूको व्यवस्था गरिएको छ ।

संसारका जुनसुकै धर्मावलम्बीले पनि पितृप्रति श्रद्धाभाव व्यक्त गर्ने भिन्न-भिन्न व्यवस्था छन् । पितृप्रति श्रद्धाभाव अनेक प्रकारले व्यक्त गर्न सकिन्छ । तर्पण, श्राद्ध, ब्राहृमणभोज, पिण्डदान, सीदान्नदान आदि पितृप्रति पूज्य भाव प्रकट गर्ने वैदिक विधि हुन् । पितृप्रतिको श्रद्धाभावले पितृ आशीर्वाद प्राप्त हुन्छ । जसबाट हाम्रो कल्याण हुन्छ भनी स्मृति पुराणमा वर्णन पाइन्छ । हाम्रो कल्याणको आधार नै पितृप्रतिको श्रद्धाभाव हो । पितृप्रति श्रद्धाभाव नहुनु आफ्नै अपमान हो ।

आफ्नो मानवीय अस्तित्वको अस्वीकार हो । किनकि हाम्रा आधार पितृ हुन् । हामी पितृकै बीज (जिन) लिएर आएका छौँ । यसैगरी हामीले पनि यही पितृको बीजकीय गुण छोडेर जान्छौँ । जुन कुरा निरन्तर चलिरहन्छ । यसैले हाम्रो आफ्नै उन्नति प्रगति सर्वकल्याणका निम्ति पनि पितृप्रतिको श्रद्धाभाव हुनुपर्दछ । वेदले पनि पितृलाई देवताको संज्ञा दिएको छ । देवता सदा पूज्य हुन्छन् । यसैले पितृप्रति सदा पूज्य भाव रहनुपर्दछ । श्रद्धाभाव व्यक्त गर्नसक्नु पर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?