सुदूरपश्चिम खेलकुद : पूर्वाधारलगायतका सुविधाबाट अझै टाढा

हिमालय टाइम्स
Read Time = 10 mins

धनगढी । ३४ वर्षअघि कञ्चनपुरका बक्सर विष्णुबहादुर सिंहले ओलम्पिकमा रचेको इतिहास अझै जीवित छ । सिओल ओलम्पिकमा पाराग्वेका खेलाडीलाई पराजित गरेर ‘एक वाउट’ जित्ने अहिलेसम्मकै एक्ला खेलाडी हुनुहुन्छ सिंह । राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षण विभागको उपनिर्देशक पदमा कार्यरत सिंह अब जागिरको उत्तराद्र्धमा हुनुहुन्छ ।

सिओल ओलम्पिकमा सुदूरपश्चिमबाटै डम्बरदत्त भट्टले पनि बक्सिङ खेलमा प्रतिस्पर्धा गर्नुभएको थियो । पछिल्लो समय ब्याडमिन्टन खेलको जुनियरतर्फ विश्व वरीयताको नम्बर एकमा रहनुभएका प्रिन्स दाहाल पनि सुदूरपश्चिमकै खेलाडी हुनुहुन्छ । दार्चुलामा बुबाको पछि लागेर बुबाकै साथ र सहयोगले ब्याडमिन्टनको विश्व वरीयतासम्म पुग्नुभएका प्रतिभावान खेलाडी दाहाल जन्मिएको दार्चुलाको खेलको अवस्था भने अझै दयनीय छ ।

केही वर्षअघिसम्म तेक्वान्दोमा तहल्का मचाउनुभएका कीर्तिमानी खेलाडी दीपक विष्टले पनि सुदूरपश्चिमबाटै खेलजीवन सुरु गर्नुभएको हो । यसरी विसं २०४०/४२ को दशकयता निरन्तर खेलाडी तयार गरिरहेको सुदूरपश्चिम प्रदेश खेलकुदका लागि चाहिने पूर्वाधारलगायतका सुविधाबाट अझै टाढा छ ।

कैलाली र कञ्चनपुरमा केही खेल संरचना र पूर्वाधार सरकारले लगानी गरेर बेलाबखत बनाइरहेको भए पनि सात पहाडी जिल्लामा अझै त्यो सुविधाबाट खेलाडी वञ्चितजस्तै छन् । विगतदेखि नै भलिबलमा पहाडी जिल्लाबाट खेलाडी उत्पादन हुँदै आएका छन् । तर, खेलाडीलाई नियमित प्रशिक्षण दिएर निखार ल्याउन यहाँ पर्याप्त प्रशिक्षकसमेत नभएको अवस्था छ ।

पूर्वराष्ट्रिय खेलाडी भोजराज जोशी दुई दशकयता दार्चुलामा स्वयंसेवक प्रशिक्षक भएर भलिबल खेलाडी तयारीमा लाग्नुभएको छ । भोजराज त एक उदाहरणीय पात्रमात्रै हुनुहुन्छ । उहाँजस्तै लामो समय खेलकुदमा खर्चिएका सिनियर खेलाडी यहाँ विभिन्न खेलमा बिनासुविधा स्वयंसेवक प्रशिक्षक छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला छनोट सकिएर प्रदेशस्तरीय छनोट सुरु भइरहँदा यहाँ कुनै खालको रौनकता भने देखिँदैन ।

चर्चित ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको गृहजिल्ला दार्चुलामा एउटा कभर्डहलसम्म छैन । खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई चिनाउन सफल हुनुभएका दाहालको गृहजिल्ला दार्चुलामा नौ वर्षअघि महाकाली नदीमा आएको बाढीले यहाँको कभर्डहल बगाएको थियो । त्यसैगरी भलिबलका स्वयंसेवक प्रशिक्षक भोजराज जोशीले खेलमैदान र कभर्डहलका बारेमा पटक–पटक समस्या राख्दा पनि कसैले चासो नदेखाएको गुनासो पोख्नुभयो । दार्चुलाबाट आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लाबाट १७२ खेलाडी छनोट भएका छन् ।

डडेल्धुरा जिल्लामा व्यवस्थित खेलमैदानको अभाव छ । सदरमुकाम अमरगढी नगरपालिकामा तीनवटा रंगशाला र खेलमैदान निर्माणाधीन अवस्थामा छन् । तर, बजेट अभावमा पूरा हुन सकेको छैन । लामो समयदेखि खेलमैदान अभावमा जिल्ला सदरमुकामलगायत अन्य क्षेत्रमा खेलकुदसम्बन्धी गतिविधि प्रभावकारी हुन सकेका छैनन् । सात स्थानीय तह रहेको डडेल्धुरामा परशुराम नगरपालिकाबाहेक अन्य स्थानमा बहुखेल प्रतियोगिता गर्न सकिने खेलमैदान नहुँदा खेलाडी र दर्शकलाई समस्या हुने गर्छ ।

भलिबलबाहेक क्रिकेट, दौड र इन्डोरमा खेलाइने खेलहरूका लागि बढी समस्या भइरहेको खेलाडीको दुखेसो छ । यहाँ खेलाडीले जोखिम मोलेर अभ्यास गर्नुपर्ने अवस्था छ । खेलमैदान निर्माणाधीन अवस्थामा रहेकाले खेलाडीले असहजता महसुस गरी खेल्ने गरेको भलिबल प्रशिक्षक नरेश थापाले जानकारी दिनुभयो ।

तीन साताअघि बझाङमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट तयारी हुँदै थियो । जिल्ला खेलकुद विकास समितिले खेलाडी छनोट गरेपछि १२ वटै पालिकाका खेलाडी सदरमुकाम चैनपुर आए । चैनपुरका विभिन्न स्थानमा विभिन्न खेलका लागि खेलाडी छनोट प्रक्रिया सुरु भयो । खेल खेलाउनका लागि समितिले सदरमुकाम नजिकैका विद्यालयलाई चौर प्रयोग गर्न अनुमति माग्यो र सोही ठाउँमा खेल खेलायो ।

मैदान नहुँदा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता छनोटका लागि स–साना खेल बगरमै खेलाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताउनुभयो । क्रिकेट, फुटबलजस्ता ठूलो ठाउँमा खेल खेलाउनका लागि मात्रै नभई सानो ठाउँमा हुने भलिबल, क्रिकेट, ब्याटमिन्टन, हृयाण्डबल, टेबलटेनिस, बक्सिङ, तेक्वान्दो, फुलकन्ट्याक्ट पौडी, खोखो, एथलेटिक्स, बुद्धिचाललगायतका खेल खेलाउनका लागि पनि बझाङमा खेलमैदान अभाव छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशका लागि बझाङबाट १७ विधामा ११४ पुरूष र ८९ महिला छनोट भएका छन् । बझाङमा कराँतेबाहेक कुनै खेलमा पनि प्रशिक्षक छैनन् ।

यता, बैतडीमा भने जिल्लास्तरीय छनोटका क्रममा जिल्लास्तरमा प्रशिक्षक र खेल पूर्वाधारबिनै खेलाडी छनोट गरिएका छन् । जिल्लाबाट नवौं राष्ट्रिय प्रतियोगिताका लागि १३ खेलका १५६ खेलाडी छनोट गरिएका छन् । छनोट भएका खेलाडीले प्रदेशस्तरीय प्रतियोगिता खेल्नेछन् । तर, जिल्लामा छनोट भएका अधिकांश खेलाडी प्रशिक्षक र खेलमैदानको अभावका बीच छनोट गरिएका हुन् ।

यहाँ भलिबलका मात्रै एक प्रशिक्षक रहेका र अन्य खेलका प्रशिक्षक नै नरहेका बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ । प्रशिक्षक र प्रशिक्षणबिनै हरेक वर्ष यहाँका खेलाडीले राष्ट्रिय खेलकुदमा भाग लिन छनोट खेल खेल्ने गरेका छन् । जिल्लाका खेलाडी राष्ट्रिय प्रतियोगितामा भाग लिँदा प्रशिक्षक र खेलमैदानबिना खेल्ने समस्या वर्षौँदेखिको हो । न त यहाँ कुनै खेलको गतिलो खेलमैदान छ, न कभर्डहल नै ।

खेलमैदान नहुँदा अभ्यास गर्न तथा बन्द प्रशिक्षणका लागि समस्या हुने गरेको क्रिकेट खेलाडी रितु कनौजियाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खेलाडीका लागि आवश्यक पर्ने खेलमैदानको अभाव छ, खेलमैदानबिनै राष्ट्रिय प्रतियोगितामा भाग लिनुपर्ने बाध्यता छ । यसले गर्दा आफ्नो क्षमतामा निखारता आउन सक्दैन ।’

कराँते, भारत्तोलन, ब्याडमिन्टनलगायत खेलका लागि कभर्डहल आवश्यक पर्दछ । तर, यहाँ कभर्डहल नै छैन । खेलाडी छनोट खुला आकाशमा हुने गरेको कराँते खेलाडी नरेन्द्र कार्कीले बताउनुभयो ।

कञ्चनपुरमा भने सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि बजेट विनियोजन गरेर अघि बढेको बताउनुभयो । ‘यहाँ विभिन्न खेलका स–साना टहराहरू मात्रै भए,’ मन्त्री रावलले भन्नुभयो, ‘इन्डोर खेल सञ्चालनलाई करिब २५ करोडभन्दा बढीको लगानीमा खेलकुद परिसरमा कभर्डहल बनाउन प्रक्रिया अघि बढेको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?