नेपाली कांग्रेसले ल्यायो चुनावी गीत

Read Time = 5 mins

काठमाडौं । नेपाली कांग्रेसले नयाँ चुनाव गीत सार्वजनिक गरेको छ । अगामी ४ मंसिरमा हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचका लागि भन्दै नेपाली कांग्रेसले नयाँ चुनाव गीत ‘मंसिर चार’ सार्वजनिक गरेको हो । शनिबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको थियो ।

खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी, केन्द्रीय सदस्य रामहरि खतिवडालगायतले गीत सार्वजनिक गर्नुभएको थियो । गीत नेपाली कांग्रेसको निकट नेपाल सांस्कृतिक संघले निर्माण गरेको हो ।

कार्यक्रममा मन्त्री चौधरीले ४ मंसिरको निर्वाचनलाई लक्षित गर्दै नेपाली सांस्कृतिक संघले जुन गीत ल्याएको छ त्यसले नेपाली कांग्रेसलाई जिताउन र जनतामा भिजाउन उल्लेखनीय भूमिका खेल्ने बताउनुभयो । ‘सर्वसाधरणले कांग्रेसको सन्देश बुझ्ने गरेर निर्माण भएको चुनाव गीत मैले विमोचन गर्न पाए । मेरो लागि यो भन्दा ठूलो खुशीको विषय अन्य के होला’ मन्त्री चौधरीले भन्नुभयो ।

त्यस्तै केन्द्रीय सदस्य रामहरि खतिवडाले सांस्कृतिक संघले ४ मंसिरको निर्वाचनका लागि भनेर तयार गरेको गीत आफूलाई मन परेको बताउनुभयो । सबै नेपालीको भावना र मर्म समेटिएको गीत नेपाली कांग्रेसलाई निर्वाचनमा जिताउन महत्वपूर्ण हुने खतिवडाको धारणा थियो ।

सांस्कृति संघका सभापति तीर्थ थापाले नेपाली कांग्रेसलाई स्थानीय निर्वाचनमा जिताउन यस्ता कयौं गीत ल्याएको स्मरण गर्दै ४ मंसिरको निर्वाचनमा कांग्रेसको जित सुनिश्चितताका लागि गीत निर्माण भएको जिकिर गर्नुभयो । पार्टीको नेतृत्व तहले सांकृतिक संघको भूमिका र योगदान नदेखेको गुनासो गर्दै थापाले नेपाली कांग्रेसलाई निर्वाचनमा हरकिसिमबाट सघाउन संघ तयार रहेको भनाइ राख्नुभयो ।

सांस्कृतिक संघका महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दर’ निर्वाचनमा पार्टीका नेता तथा कार्यकर्तालाई जनतासमक्ष जान सजिलो होस् भनेर गीत निर्माण गरिएको सुनाउनुभयो । यस्तै महामन्त्री गणेश सुवेदीले यो गीतले आमजनमानसमा एक खालको जागर ल्याउने बताउनुभयो । सांस्कृतिक संघका सहमहामन्त्री लेखबहादुर पुन, अभिनेता बिक्रान्त बस्नेतलगायत कांग्रेस निकट थुप्रै कलाकार उपस्थिति कार्यक्रममा रहेको थियो । सार्वजनिक गीतमा राधिका हमाल, शशिविक्रम थापा, गोविन्दमधुर आचार्य, स्मृति शाहीलगायतको स्वर छ भने शब्द लोकराज अधिकारीको र संगीत गोविन्दमधुर आचार्यको छ ।

गीतको भिडियामा बिक्रान्त बस्नेत, शिवहरि बैरागी, राधिका हमाल, स्वस्तिका लामिछाने, विष्णु रोक्का, सिर्जना घिमिरे, सरु थपा, गान्दीप गिरी, नवीन गिरी, शिवशंकर रिजाल ‘जोगिन्दर’, अर्जुन गिरी, राजेन्द्र खत्री, उत्तम थापालगायतको अभिनय देख्न सकिन्छ । तीर्थबहादुर थापाको निर्देशन रहेको भिडियोमा जीवन पराजुलीको छायांकन र उत्तर मगरको सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?