‘साना सडकका लागि जनप्रतिनिधिबाट दबाब’

Read Time = 3 mins

काठमाडौं । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले सडक पूर्वाधारलगायत ठूला आयोजनालाई प्राथमिकता दिनुको सट्टा साना–साना सडकमा समय खर्च भइरहेको बताउनुभएको छ । आइतबार तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित पूर्वाधार विकासमा सञ्चारकर्मीको भूमिका अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो ।

विभागले संघीय सडकमात्रै हेर्नुपर्ने भए पनि त्यसबाहेकका सडक हेर्नुपर्ने बाध्यता रहेको महानिर्देशक थापाको भनाइ छ । उहाँले भन्नुभयो, ‘संविधानतः हामीले संघीय सडकमात्रै हेर्ने हो । सरकारले संघीय सडक भनेर ८० वटा राजमार्ग तोकिदिएको छ । ८० वटा राजमार्गमात्रै सडक विभागअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् हेरिनुपर्ने हो तर त्यो नभएर हामीले वडास्तरीय, गल्ली–गल्लीका सडकमा पनि हेर्नु परिरहेको छ ।’

बजेटका बेला विभागमा झण्डै २५ देखि ३० अर्बसम्म लागतका साना सडकको प्रस्ताव आउने गरेको उहाँले बताउनुभयो । साथै उहाँले समयमा काम नसक्ने पप्पुलगायतका १९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्दै ठेक्का रद्द गरिएको जानकारी दिनुभयो ।

अर्थ समितिका पूर्वसभापति कृष्णप्रसाद दाहालले पूर्वाधारको महत्वपूर्ण पाटो सडकको विकास दीर्घकालीन ढंगबाट गरिनुपर्ने भए पनि अन्तरमन्त्रालयबीच समन्वय अभाव रहेको बताउनुभयो । उहाँले विभाग अब पूर्णरूपमा डिजिटल प्रणालीमा जानुपर्ने बताउनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अबको पत्रकारिता विधागत र विशिष्टिकृत हुनुपर्नेमा जोड दिँदै पूर्वाधार क्षेत्रलाई पनि नेपाली मिडियाले उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो । कार्यक्रम गोविन्दप्रसाद चौलागाईँको सभापतित्वमा भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?