एनआरएनए स्वास्थ्य सम्मेलनको १५ बुँदे घोषणापत्र

Read Time = 7 mins

काठमाडौं । स्वास्थ्य संसाधनको सुदृढीकरणद्वारा मानसिक स्वास्थ्यमा सबैको पहुँच भन्ने नाराका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिको आयोजनामा आइतबार सिड्नीमा सम्पन्न चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलनले विभिन्न १५ बुँदे घोषणपत्र जारी गरेको छ । भर्चुअलरूपमा आयोजित सम्मेलनमा विश्वका दुई दर्जनभन्दा बढी देशका एनआरएनहरू, एनआरएनएका पदाधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति रहेको आयोजकले जनाएको छ । सम्मेलनका २५ सत्रमा एक सयभन्दा बढी विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए ।

स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार भएकाले हरेक राष्ट्रको समृद्धि, सामाजिक र आर्थिक विकासका लागि स्वस्थ नागरिक अपरिहार्य रहेको भन्दै एनआरएनएले हरेक नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताका लागि आवश्यक भूमिका खेल्ने र विदेशमा सिकेका ज्ञान र सीपलाई नेपालको स्वास्थ्य क्षेत्रमा लगाउन नेपाल सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

कोरोनाले विश्वका हरेक स्थानमा रहेका नेपाली पनि प्रत्यक्ष अप्रत्यक्षरूपमा प्रभावित भएको र महामारीबीच उत्पन्न मानसिक स्वास्थ्य संकट अझ अर्को भयावह पक्ष रहेको उल्लेख गर्दै मानसिक स्वास्थ्य संकट समाधानसहित हरेक व्यक्तिको चौतर्फी विकासका लागि विशेष योजनासहितका स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने ऐक्यबद्धता जनाएको छ ।

आधुनिक चिकित्साका साथै योग, आयुर्वेद, होमियोपेथी, अकुपञ्चरलगायतलाई आधुनिक विज्ञानले समेत स्वीकार गरेका स्वास्थ्य पद्धतिको लोकप्रियता र प्रभावकारिता विश्वस्तरमै व्यापक बन्दै गएको भन्दै आयुर्वेद एवं वैकल्पिक चिकित्सा पनि समेट्न आग्रह गरिएको छ ।

मानसिक स्वास्थ्य नै सम्पूर्ण स्वास्थ्य भन्ने मूल सिद्धान्तअनुरूप विश्वभर छरिएर रहेका सम्पूर्ण विज्ञ, विशेषज्ञ, मनोविद्, सल्लाहकार एवं मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत सम्पूर्णलाई मानसिक स्वास्थ्यको विश्वव्यापी सञ्जालमा आबद्ध हुन सम्मेलन आहृवान गरेको छ । छारे रोग, डिप्रेसन, आत्महत्यालगायत समस्या समाधान तथा न्यूनीकरणका लागि बृहत् जनचेतना फैलाउन विशेष कार्यक्रम सञ्चालन, निजी तथा सरकारी क्षेत्रका सम्पूर्ण साझेदारलाई नेपालमा मानसिक स्वास्थ्यको सहज र सुलभ पहुँच वृद्धि गर्न आवश्यक संरचना जस्तै क्राइसिस सेन्टर, आत्महत्या रोकथाम परियोजना, परामर्श क्लिनिक, पुनर्वास केन्द्रलगायतमा लगानीका लागि पनि आहृवान गरिएको छ ।
नेपालमा वा नेपालबाहिर रही स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, मानसिक स्वास्थ्य क्षेत्रका विज्ञ, विशेषज्ञ, सम्पूर्ण स्वास्थ्यकर्मी, नीति निर्माणकर्ता, सामाजिक अभियन्ता तथा संघसंस्थालाई संगठित भई हातेमालो गर्न पनि सम्मेलनले आहृवान गरेको छ ।

स्वस्थ समाज निर्माण एवं नागरिक स्वास्थ्य अभिवृद्धिका लागि चिकित्सा, योग, आयुर्वेद, होमियोपेथी, अकुपञ्चरलगायत परापूर्वकालदेखि आधुनिक विज्ञानले समेत स्वीकार गरेका स्वास्थ्य पद्धतिको लोकप्रियता र प्रभावकारिता विश्वस्तरमै व्यापक बन्दै गएको भन्दै आयुर्वेद एवं वैकल्पिक चिकित्सा पद्धतिमा नेपालमा र नेपालबाहिर रहेका नेपालीलाई समेट्न आग्रह गरिएको छ । जसका लागि आवश्यक अनुसन्धान, जडीबुटीजन्य औषधि उत्पादन, सर्वसुलभता र प्रचारप्रसारका लागि सहकार्यमा जोड दिइएको छ । स्वास्थ्य क्षेत्रको बृहत् विकास र नागरिक स्वास्थ्य सुनिश्चितताका लागि एक अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र स्थापना, र्‍यापिड रेस्पन्स टिमका लागि भौतिक संरचना निर्माण र दुर्गम स्थानमा प्रोत्साहनसहितको सेवा सञ्चालन, घुम्ती स्वास्थ्य सेवा, क्लिनिक, म्यामोग्राम, रक्तदान बसलगायत आवश्यक सहयोग जुटाउँदै विभिन्न प्रकारका स्वास्थ्य शिविर सञ्चालन गरी दूरदराजसम्म पनि स्वास्थ्य सेवा प्रवाह गर्न पनि एनआरएनएले आग्रह गरेको छ ।

विश्वभर छरिएर रहेका स्वास्थ्यकर्मी एवं चिकित्सक, विज्ञ, विशेषज्ञलगायत समग्र स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तित्वलाई एउटै सूत्रमा बाँधी नेपाल र नेपालीप्रति थप जिम्मेवार बनाउने, स्वास्थ्य क्षेत्रमा देखिएका समस्या पहिचान एवं निराकरण गर्ने तथा नीतिनिर्माण तहमा गर्न सकिने योगदानलगायतका विषयमा बृहत् छलफल गर्ने उद्देश्यले यसै वर्षको डिसेम्बर महिनाभित्र एनआरएनए अमेरिकामा क्षेत्रीय स्वास्थ्य सम्मेलन र पाँचौं विश्व स्वास्थ्य सम्मेलन क्यानाडामा आयोजना गर्ने निर्णयसमेत सम्मेलनले गरेको एनआरएन स्वास्थ्य समिति सभापति सञ्जीव सापकोटाले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?