सुधा देव
सप्तरी । कृषि पेशामा पुस्तौंदेखि निर्भर रहेका सप्तरी विष्णुपुर गाउँपालिका-३ का ७० वर्षीय प्रयाग यादव खेती भन्नेबित्तिकै दिक्क मान्न थाल्नुभएको छ । प्रयागका अनुसार एक दशकअघिसम्म १५ बिघा खेती गर्नलाई पुग्ने खर्चमा अहिले डेढ बिघामात्र खेती गर्न सकिन्छ । यसैले उहाँको खेतीप्रतिको आकर्षण घटेको हो । अहिले उब्जनी पनि घटेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार पहिले खेती गरेरै खान, लगाउन, स्वास्थ्य उपचार गर्न, छोराछोरी पढाउन पुग्थ्यो । ‘परिवारको हरेक आवश्यकता पूर्ति गर्न सकिन्थ्यो । अहिले त्यस्तो छैन,’ उहाँ भन्नुहुन्छ, ‘अहिले उब्जाएको धान, गहुँले पाँचजनाको परिवारलाई वर्षभरि जसोतसो खानमात्र पुगेको छ ।’ प्रयाग एक दशकअघिको कुरा सम्झनुहुन्छ, ‘पहिले वर्षको ६ मन अर्थात् २४० केजी धान दिएपछि हलियाले वर्षभरि खेत जोत्थ्यो । गोरु पनि आफ्नै हुन्थ्यो । त्यही ज्यालामा हलियाले वर्षभरि खेतको आली पनि मिलाउँथ्यो । अहिले त्यस्तो छैन । हलो जोत्ने चलन हराउँदै गएपछि ट्याक्टरले एक कठ्ठा खेत जोत्नै ५०० रुपैयाँ लिने गरेको छ ।’
मजदुरको खर्च पनि बढेकाले खेती महँगो हुँदै गएको उहाँ बताउनुहुन्छ । ‘एक दशकअघि धान रोप्ने, धानमा भएको घाँस उखेल्ने र धान काट्ने महिला मजदुरले अढाइ केजी धानमा काम गर्थे । त्यतिमा दिनभर काम पनि गर्थे । अहिले ५०० रुपैयाँ वा १५ केजी धान ज्याला दिए पनि मजदुरहरूले ११ बजेदेखि ६ बजेसम्म मात्रै काम गर्छन्,’ उहाँले भन्नुभयो, ‘खेतमा काम गर्ने मजदुर पाउन पनि एकदमै गाह्रो छ । पहिले खेत रोप्न एकजना महिला मजदुरलाई बोलाउँदा दुईजना आउँथे । अहिले तीनजनालाई बोलाउँदा एकजनामात्र आउँछ ।’
डेढ बिघा खेत रोप्दा १० मन, कमाउँदा ६ मन र काट्दा पनि आठ/नौ मन गरी २५ मन जति धान आउँछ । तर, धान रोप्ने, गोडमेल गर्ने र काट्ने मजदुरलाई ज्यालामात्रै दिनुपर्ने बाध्यता किसानहरूको छ । एक बिघा एक कठ्ठा धानखेतीमा तीनपटक पानी पठाउँदा चार हजार ५०० खर्च हुने गरेको राजविराज-१ का ७२ वर्षीय सुला रजक बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘आधुनिक प्रविधिको खेती सुरु हुन नसक्दा कृषिलाई दोस्रो पेशाका रूपमा राख्न हामी किसानहरू बाध्य छौं । हाम्रो आधारभूत आवश्यकता पूरा गर्नका लागि हामीले अर्कै कुनै रोजगार अपनाउनै पर्ने बाध्यता रहेको छ ।’
कृषिमा लगानी पनि उठ्न धौ-धौ भएपछि खासमा कृषकहरूलाई कृषि पेशाप्रतिको मोह घट्दै गएको सुलाको भनाइ छ । ५५ वर्षदेखि खेती गर्दै आउनुभएका उहाँ एक बिघा खेतमा खेती गर्नुहुन्छ । उहाँको मुख्य पेशा कृषि हो । विष्णुपुर गाउँपालिका-६ का ४६ वर्षीय बद्री सदाका अनुसार खेती गरेर बाँच्न सक्ने अवस्था नदेखेपछि विष्णुपुरका ९० प्रतिशत जति युवा रोजगारीका लागि बर्सेनि भारतको दिल्ली, पन्जाब वा अन्य ठाउँ जानुपर्ने बाध्यता छ ।
राजविराज नगरपालिका-१ की ४१ वर्षीया इनरवतीदेवी रजक भन्नुहुन्छ, ‘धानमा हाल्ने ५० केजी मलको दुई हजार पर्छ । त्यो पनि नेपालमा नपाएपछि भारतबाट ४५ केजीको दुई हजार तिरेर किन्नुपर्ने बाध्यता छ ।’ त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक कृषिविज्ञ डा. देवनाथ यादवले आधुनिक प्रविधिबाट कृषिको सुरुवात नगरेसम्म किसानको समस्या अन्त्य नहुने बताउनुहुन्छ । देवनाथका अनुसार जिल्लामा अहिलेसम्म पुरानै शैलीमा कृषि हुँदै आएको छ । किसानलाई बालीमा कति पानी कुन बेला हाल्ने ? कति मल कुन बेला हाल्ने ? जस्ता विषयमा जानकारी नभएकाले पनि कृषि उत्पादनमा ह्रास आएको छ । डा. देवनाथ भन्नुहुन्छ, ‘तीन तहकै सरकारले आधुनिक कृषिको प्याकेज ल्याएर किसानलाई तालिम दिन सकियो भने कम उत्पादन, बढी खर्चका कारण किसानहरूमा कृषि पेशाप्रति आएको नकारात्मक भावनाको अन्त्य हुनेछ ।’ प्रविधिबिना पनि नयाँ शैलीले किसानहरूले खेती गर्न सक्छन् । परम्परागत शैलीको खेतीभन्दा आधा खर्चमा खेती गर्न सकिने भए पनि किसानले नयाँ शैलीको खेतीलाई अपनाउन नचाहेको बुझाइ डा. देवनाथको रहेको छ ।
सप्तरीमा कृषि भूमि नौ लाख नौ हजार ५९९ हेक्टर क्षेत्रफल रहे पनि खेतीयोग्य जग्गा ८१ हजार ६६८ हेक्टर रहेको कृषि ज्ञानकेन्द्र सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादव बताउनुहुन्छ । सप्तरीमा किसानहरूले यसपालि कुल ६८ हजार हेक्टर क्षेत्रफलमा धान रोपेको कृषि ज्ञानकेन्द्रको तथ्यांकमा उल्लेख गरिएको छ । खेतीयोग्य जग्गाको २९ देखि ३० प्रतिशतमात्र सिँचाइ सुविधा रहेकाले ७० प्रतिशत किसानले आकाशकै पानीको भरमा खेती गर्नुपर्ने अवस्था छ ।
प्रतिस्पर्धी क्षमता कम भएर बाहृय बजारमा पहुँच बढाउन नसक्नु पनि किसानको कमजोरी रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालय सिंहदरबारमा कार्यरत वरिष्ठ कृषि प्रसार अधिकृत शम्भुप्रसाद देव बताउनुहुन्छ । शम्भु भन्नुहुन्छ, ‘आयातमा किसानहरूले प्रतिस्थापन गर्न सकिरहेका छैनन् ।’ कृषिमा यान्त्रिकीकरण, विद्युतीकरण, सहुलियत दरको ऋण र आर्थिक स्रोत आदिमा वास्तविक किसानको पहुँच, समयमा बीमा, गुणस्तरीय बिउ र आवश्यक कृषि सामग्रीको उपलब्धता हुनुपर्ने उहाँको तर्क छ । उहाँ आर्थिकरूपले सम्पन्न हुन एउटा किसानले कति जग्गामा खेती गर्ने वा गाईवस्तु पालन गर्ने वा दुवै गर्ने भन्ने विषयमा योजना बनाएर अघि बढ्नुपर्ने बताउनुहुन्छ ।
कृषि ज्ञानकेन्द्र सप्तरीको तथ्यांकअनुसार जिल्लामा ६८ हजार हेक्टर जग्गामा यसपालि धान रोपाइँ भएको छ । जिल्लाका ६५.६ प्रतिशत जनता कृषिमा निर्भर रहेका छन् । यहाँको मुख्य बाली धान र गहुँ रहेको छ । कृषि ज्ञानकेन्द्रका योजना प्रमुख किसुनदेव राउतले पाँच वर्षयता कुनै वर्ष उत्पादन बढी भएको र कुनै वर्ष कम भएको बताउनुभयो । आर्थिक वर्ष २०७६/७७ मा उत्पादन घटेको थियो भने २०७/७८ मा उत्पादन बढेको थियो । समयमा पानी पर्यो, समयमा धान रोप्यो, समयमा मल पाएर हाल्न सकियो, समयमा काटेर घर भित्र्याउन सकियो भने उत्पादन बढी हुने, त्यस्तो हुन सकेन भने उत्पादन घट्ने भनाइ किसुनदेवको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका