निजगढमा विमानस्थल निर्माण गर्न उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष

अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा अध्ययन गर्न सरकारद्वारा गठित विज्ञ समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थलसम्बन्धी अध्ययन प्रतिवेदन बुझाएको छ । विज्ञ समूहले आइतबार प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक वीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गर्नुभयो । विज्ञ समूहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्य विकल्प नरहेको निष्कर्ष निकालेको छ । विज्ञ समूहले विमानस्थल निर्माण गर्ने क्षेत्रमा बाघ, हात्ती जस्ता वन्यजन्तुहरू नरहेको अध्ययनले पुष्टि गरेको दाबी गरेका छन् ।

उक्त विज्ञ समूहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा अध्ययन प्रतिवेदन तयार पारेर विमानस्थलको विकल्प अरू कुनै नरहेको निष्कर्षसहित प्रधानमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले रूखहरूलाई संरक्षण गरी थप व्यवस्थापन गर्ने, वातावरण संरक्षण, पर्यावरण सबै पक्षहरूको अध्ययनमा विज्ञ समूहले न्यूनतम रूख कटान गर्दै वातावरण संरक्षणमा जोड दिएको बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अध्ययन प्रतिवेदन बुझ्दै प्रतिवेदनको आधारमा विमानस्थल निर्माण प्रक्रियाहरू अगाडि बढाउन निर्देशन दिनुभएको थियो । विज्ञ समूहको अध्ययन प्रतिवेदनको आधारमा विमानस्थल निर्माणको प्रक्रिया सुरु गर्ने पनि मन्त्री श्रेष्ठको भनाइ छ । ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहको गठन सर्वोच्च अदालतले फैसला गरेर जे निर्देशन भएका थिए, त्यही निर्देशनअनुसार सरकारले मन्त्रिपरिषद्बाट कार्यदल बनाउने काम ग¥यौँ । विज्ञहरू राखेर कार्यदल बनाएर अध्ययन गर्ने भनिएको थियो,’ उहाँले भन्नुभयो, ‘विज्ञहरूमा समाजशास्त्री, वातावरणविद्, वन्यजन्तुसम्बन्धी विज्ञहरू, हवाईसम्बन्धी विज्ञलगायत सबै क्षेत्रमा विज्ञहरूलाई राखेर कार्यदल बनायौँ । कार्यदलले निजगढ विमानस्थलको विकल्प नभएको निष्कर्षसहित प्रतिवेदन पेश गरेको छ ।’

मन्त्री श्रेष्ठले विज्ञ समूहको अध्ययनले नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको निष्कर्ष निकालेको पनि बताउनुभयो । प्रतिवेदनअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त स्थान काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) र पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदी बीचको करिब नौ हजार हेक्टर क्षेत्रफल भित्रको करिब चार हजार हेक्टर क्षेत्र उपयुक्त रहेको छ । रूख कटानी तथा वातावरणीय क्षति न्यूनीकरण गर्न सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राखी एयरपोर्ट सिटीको अवधारणालाई पूरै त्याग्नुपर्ने सुझाव विज्ञ समूहले दिएको छ ।

सर्वोच्च अदालतको फैसलाअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयानुसार विज्ञ समूह गठन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?