खेलकुदको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर राख्दै स्रोत परिचालन उपसमितिले आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले निजी क्षेत्रलाई पर राखेर खेलकुदको विकासको परिकल्पना गर्न नसकिने भन्दै निजी क्षेत्रलाई हातेमालो गर्न अव्हान गर्नुभयो ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथकले नवौं राष्ट्रिय खेलकुदको प्लेटफर्ममा निजी क्षेत्रलाई समावेश गर्नुपर्ने र खेललाई राष्ट्रिय गौरव, राष्ट्रको पहिचान, राष्ट्रका लागि खेल र स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ अघि बढेको मूल अभियानसँग निजी क्षेत्रलाई एकाकार गरेर, हिस्सेदार बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । मन्त्री गहतराजले खेल क्षेत्र एक उद्योग रहेको भन्दै यस क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आव्हान गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रका लागि एउटा नयाँ सुरुवातको थालनी गरेकोमा खेलकुद परिषद्प्रति आभार व्यक्त गर्दै खेलकुदको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै विश्वका कैंयन् देशमा निजी क्षेत्रको सहभागिताका कारण खेल क्षेत्रले उन्नति गरेको बताउनुभयो । उहाँले विगतमा निजी क्षेत्रले खेलकुदमा गरेको सहयात्रालाई स्मरण गर्दै निजी क्षेत्रलाई खेलकुदमा चन्दा र दान दिएको नभई लगानीका रूपमा लिन अनुरोध गर्नुभयो । उहाँले निजी क्षेत्रले खर्च गर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत हुने खर्चलाई खेलकुदको क्षेत्रमा लगानी गराउनेतर्फ अर्थमन्त्रीले सम्बोधन गर्न आव्हान गर्नुभयो ।

अर्थमन्त्री जनार्दन शर्माले खेल क्षेत्र आर्थिक विकास एवं प्रगतिका लागि महत्वपूर्ण क्षेत्र रहेको भन्दै खेल क्षेत्रमा ठूला–ठूला लगानी भइरहेको बताउनुभयो । उहाँले खेलकुद क्षेत्रमा निजी क्षेत्रलाई आकर्षण गर्ने खालका नीति नियमलाई अगाडि ल्याउने कार्यमा राज्यले पहल गर्नेतर्फ अग्रसर रहेको बताउनुभयो । कार्यक्रमका सभापति भण्डारीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँंदै नवौं राष्ट्रिय खेलकुलाई सफल बनाउन र खेलकुदमा लगानी गर्न निजी क्षेत्रलाई आव्हान गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?