साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल छैटौं पटक उपविजेतामै सीमित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । महिला साफ च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको प्रतिस्पर्धात्मक फाइनलमा बंगलादेशले नेपाललाई तीन-एक गोलअन्तरले हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो । योसँगै नेपालले पहिलोपटक महिला साफ च्याम्पियनसिपको उपाधि जित्ने अवसर गुमाएको छ ।

गोलका थुप्रै सुन्दर अवसरहरू सिर्जना गरे पनि फिनिसिङमा चुक्दा नेपाल उपविजेतामा सीमित हुन पुगेको छ । नेपाली खेलाडीहरू मैदानमा निकै आत्मविश्वासका साथ भिडे पनि जित निकाल्न भने सकेनन् । सोमबारको खेलमा भाग्यले पनि नेपाललाई साथ दिएन । एकपटक गोललाइनमै पुगेको बल पनि गोलमा परिणत हुन सकेन । हारसँगै नेपाल इतिहास रच्ने मौकाबाट चुकेको छ ।

खेलको १३औं मिनेटमा बंगलादेशले अग्रता लिएको थियो । बंगलादेशकी सामसुननहरले पहिलो गोल गर्दै नेपाली समर्थकलाई स्तब्ध पार्नुभएको थियो । यस्तै, खेलको ४२औं मिनेटमा श्रीमोती सरकारले दोस्रो गोल गर्नुभयो । दोस्रो हाफको ७०औं मिनेटमा नेपालबाट एकमात्र गोल अनिता बस्नेतले गर्नुभएको थियो ।

खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक थियो भने दोस्रो हाफमा नेपालले बंगलादेशलाई निरन्तर दबाबमा राखेको थियो । तर, बंगलादेशको रक्षापंक्ति र गोलरक्षकको बलियो पर्खाल नेपालले तोड्न सकेन ।

नेपाल सेमिफाइनलमा भारतलाई १-० ले हराउँदै फाइनलमा पुगेको थियो । बंगलादेशले पनि भारतलाई हराएर फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, बंगलादेशले भारतलाई समूह चरणमा हराएको हो । बंगलादेशले छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि जित्दै नयाँ इतिहास रचेको छ ।
यसअघिका पाँचवटा साफमा नेपाल लगातार फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा नै सीमित हुँदै आएको थियो । यसपटक नेपालले बंगलादेशसँग खेलेको फाइनलमा पनि नेपालले उपविजेतामै चित्त बुझाउनुपरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?