संगीतकार शुभबहादुर सुनामको निधन

Read Time = 3 mins

काठमाडौं । संगीतकार शुभबहादुर सुनामको निधन भएको छ । स्याक्सोफोन वादनमार्फत लोकप्रियता हासिल गर्नुभएका संगीतकार सुनामको सोमबार बिहान ४ः३० बजे निधन भएको हो ।

मृगौलासम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनुभएका ७४ वर्षीय उहाँको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको हो । उहाँको सोमबारै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ ।

अन्तिम श्रद्धाञ्जलिमा संगीतकार संघ नेपालका तर्फबाट उहाँले संगीत भरेको ‘हुँ यात्री एउटा...’ बोलको गीतमार्फत सुनामप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । संगीतकार संघ नेपालका केन्द्रीय कमिटीको साथमा वरिष्ठ संगीतकार सम्भुजित बास्कोटा, सुरेश अधिकारी, महेश खड्का, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, वसन्त सापकोटा, लक्ष्मण शेष, राजु सिंह, संगीतकर्मी कृष्ण कँडेललगायत संगीतका विशिष्ट व्यक्तित्वले उक्त गीत एकसाथ गाएर सांगीतिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । ‘हुँ यात्री एउटा’मा भैरवनाथ रिमालको शब्द, दीप श्रेष्ठको स्वर र शुभबहादुरको संगीत छ ।

सुनामले १० हजारभन्दा गीतमा सेक्सोफोन बजाउनुभएको छ । नेपालमा स्याक्सोफोन बजाउने थोरै संगीतकर्मीहरूमा सुनामको नाम सबैभन्दा माथिल्लो स्थानमा पर्दछ । उहाँले झण्ठ ६ दशकदेखि स्याक्सोफोन बजाउँदै आउनुभएको थियो ।

उहाँ नेपालमा मात्र नभएर एशियामा समेत प्रख्यात स्याक्सोफोनवादकको रूपमा प्रख्यात हुनुहुन्थ्यो । सुनामले हजारौं नेपाली गीतका साथै दर्जनौं नेपाली चलचित्रका गीतमा स्याक्सोफोनवादन गर्नुभएको छ ।

‘फूलको थुंगा बगेर गयो...’, ‘के छ र दिउँ...’, ‘रेलि माई रेलि माई...’, ‘फूलै फूलको मौसम तिमीलाई...’, ‘को हो त्यो जसले मलाई...’, ‘मोहनी लगायो...’ जस्ता कालजयी गीतका सर्जक सुनामले चलचित्र ‘मनको बाँध’मा पहिलो पटक स्याक्सोफोन बजाउनुभएको थियो ।

१४ वर्षको उमेरदेखि नै स्याक्सोफोन बजाउन सुरु गर्नुभएका उहाँले ‘प्रतिक्षा’, ‘के घर के डेरा’, ‘चाहना’, ‘दाजुभाई’, ‘बन्धन’लगायत चलचित्रमा संगीत गर्नुभएको छ । नेपाली सेनाका सहायक रथीको रूपमासमेत सेवा पु¥याउनुभएका सुनाम स्याक्सोफोन बजाउन विदेशमा पनि जानुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?