पाल्पामा फैलँदै डेंगु : एक संक्रमित पुरुषको मृत्यु

हिमालय टाइम्स
Read Time = 6 mins

रामचन्द्र रायमाझी/हिटा
पाल्पा । पाल्पामा डेंगु संक्रमित एक पुरुषको ज्यान गएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका-१, ख्याहाका ५८ वर्षीय डेंगु संक्रमित पुरुषको ज्यान गएको हो । उहाँको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा शनिबार ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पछिल्लो समय पाल्पामा डेंगु संक्रमणको प्रकोप निकै बढ्दै गएको छ । यहाँ दुुई महिनाको अवधिमा १४४ जनामा डेंगु संक्रमण देखिएको छ । यहाँका युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराउन आउनेमा डेंगु संक्रमण देखिएको हो । केही दिनयता दिनहुँ डेंगुसँग मिल्दोजुल्दो लक्षण लिएर आउने बिरामीको चापसमेत यहाँका अस्पतालहरूमा बढेको छ । अस्पतालको आकस्मिक कक्षमा टाउको तथा मांसपेसी दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने र ग्रन्थी सुन्निने लगायतका समस्या लिएर आउने बिरामीहरू बढेको अस्पतालहरूले जनाएका छन् ।

जिल्लामा साउनयता डेंगु संक्रमण बढेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुुभयो । तानसेन बजारसहित ग्रामीण भेगका निजी स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य संस्था तथा स्वास्थ्य चौकीहरूमा डेंगु संक्रमित थपिने क्रम बढेको छ । साउन महिनामा २३ जना डेंगु संक्रमित थपिएका थिए भने भदौ महिनामा १२१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । भदौ, असोज र कात्तिक महिनामा डेंगु संक्रमण अझै बढ्न सक्ने भएकाले सचेत हुन स्वास्थ्य कार्यालयले सबैलाई आग्रहसमेत गरेको छ ।

‘डेंगुबाट सिर्जित संक्रमण उत्कर्षतिर गइरहेको देखिन्छ । संक्रमणको तीव्रता लामखुट्टेको नियन्त्रणबिना ब्रेक लाग्ने देखिँदैन । किनभने डेंगु भाइरस ‘एडिस’ जातको लामखुट्टेले सार्ने गर्दछ । हाल यो लामखुट्टे अत्यधिक सक्रिय र व्यापक भएको देखिन्छ । धेरै मानिसहरू राती सुत्दा झुल लगाउने र लामखुट्टे भगाउने धुप वा अन्य उपायहरू अपनाउने गर्दछन् । तर, डेंगु भाइरस फैलाउने यो लामखुट्टे भने रातमा भन्दा दिनमा बढी सक्रिय हुने र टोक्ने गर्दछ,’ स्वास्थ्य कार्यालयका निमित्त प्रमुख न्यौपानेले भन्नुुभयो । प्रकोप बढ्दै जान थालेकाले स्वास्थ्य कार्यालयबाट सबैलाई सचेत गराउने कार्य गरिएको समेत उहाँले बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘स्वास्थ्य कार्यालय एक्लैले यसको रोकथाम गर्न सक्दैन, सबैले आ–आफ्नो ठाउँबाट सचेत र सतर्कता अपनाउनुपर्छ ।’ जिल्लाका सबै स्थानीय सरकारहरूलाई प्रकोप रोकथाम तथा नियन्त्रणका लागि पत्राचारसमेत गरिसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । डेंगुमा जटिल अवस्था सिर्जना नहोस् भन्नका लागि विशेष सतर्कता अपनाउने र जटिलताका संकेतहरू देखिए तुरुन्त चिकित्सकको परामर्श लिने वा अस्पताल जान स्वास्थ्य कार्यालयले सबैलाई आग्रह गरेको छ ।

परीक्षण गर्न किट अभाव
पाल्पामा डेंगु संक्रमण बढ्दै गए पनि स्वास्थ्य कार्यालयमा संक्रमण पत्ता लगाउने किट भने अभाव छ । किट नहुँदा लक्षण देखिएकाहरूको समेत परीक्षण गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले किट उपलब्ध नगराउँदा लक्षण देखिएका बिरामीहरूले बाहिर गएर महँगो शुल्क तिरेर परीक्षण गराउनुपरेको छ । बिरामी भएर निजी अस्पताल पुग्नेहरूको डेंगु र कोभिड दुवै परीक्षण गर्नुपर्ने भएकाले किट निःशुल्क नहुँदा पैसा तिरेर जाँच गर्नुपरेको सेवाग्राहीहरूको गुनासो छ । यहाँका सरकारी अस्पतालहरू पाल्पा अस्पताल र रामपुर अस्पतालमा डेंगुको परीक्षण नै नहुँदा सेवाग्राही निजी अस्पतालहरूबाट महँगो शुल्क तिर्न बाध्य भएका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?