अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

जीवनरक्षा गर्न चिकित्सक संघको माग

हिमालय टाइम्स
Read Time = 6 mins

धनगढी । धनगढीमा अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न माग गरिएको छ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सात बुँदे माग गर्दै धनगढीमा अनशन बसिरहनुभएका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ । अस्पतालका अनुसार उहाँमा टाउको दुख्ने, रिँगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, शरीरका मांसपेशी सुक्नेजस्ता समस्या देखिएका छन् । उहाँमा अल्सर हुने सम्भावना बढ्दै गएको अस्पतालले जनाएको छ ।

गएको आठ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले बहुविशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको छ । मांसपेशी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शंका भएको हुनाले ज्यानलाई थप अन्य जोखिम हुन सक्ने जटिलताहरू आउन सक्ने हुनाले थप उपचारका लागि बहुविशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा स्थानान्तरणका लागि अस्पतालले सल्लाह दिएको छ ।
यसैबीच, नेपाल चिकित्सक संघले डा. केसीको जीवनरक्षा गर्न माग गरेको छ । संघका महासचिव डा. बद्री रिजालले सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको भन्दै जीवन रक्षा गर्न माग गर्नुभएको छ । ‘उहाँको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निष्कर्षमा पुर्‍याई डा. केसीको जीवन रक्षा गरिदिनु वार्ता टोलीलाई हार्दिक अनुरोध गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

सरकार र केसी पक्षबीच अनौपचारिक वार्ता
धनगढीमा अनशनरत डा. केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि (स्वास्थ्य सचिव र उपसचिव) बीच सोमबार अनौपचारिक वार्ता भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मागका विषयमा छलफल भएको डा. केसीका तर्फबाट वार्तामा सहभागी प्रितम सुवेदीले जानकारी दिनुभयो । आज (मंगलबार) १० बजे पुनः वार्ता बस्ने गरी वार्ता टुंगिएको छ । सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच आइतबार पहिलो चरणको वार्ता भए पनि निष्कर्षविहीन भएको थियो । सरकारी वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव रोशन पोखरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सदस्य रहनुभएको छ ।
डा. केसीको तर्फबाट वार्ता गर्न डा. जीवन क्षेत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र प्रितम सुवेदी सदस्य रहेको टोली छ । डा. केसी र सरकार दुवैको मध्यस्थता गर्ने गरी नेपाल चिकित्सक संघका प्रतिनिधिलाई पनि वार्ता टोलीमा राखिएको छ । डा. केसीले भदौ २७ मा धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह सुरु गनुभएको हो । चौथो दिन स्वास्थ्यमा समस्या देखिन थालेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको छ ।

देशभरका सरकारी अस्पतालमा बेड अनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पताल÷स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधि उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराइनुपर्ने उहाँका माग छन् ।

यस्तै, २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने माग पनि उहाँले अघि सार्नुभएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्ड विपरीतका नियुक्ति खारेजी, मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्ने लगायत माग पनि उहाँले सरकारसँग राख्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?