महानगरको टुकुचा खोज्ने अभियान जारी

सोमबार हात्तीसार-कमलपोखरी क्षेत्रमा उत्खनन

डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोलामाथि निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान जारी राखेको छ । पाटन उच्च अदालतले टुकुचामाथिको अनधिकृत संरचना नहटाउन आइतबार आदेश दिएको थियो । तर, महानगरले भने खोलामाथि बनेका संरचना हटाउने अभियान जारी राखेको हो । महानगरपालिकाले सोमबार हात्तीसार-कमलपोखरीको क्षेत्रमा उत्खनन गरेको छ । सोमबार बिहानैदेखि महानगरले पुतलीसडक-हात्तीसार-कमलादी क्षेत्रमा टुकुचा खोतल्ने अभियानलाई निरन्तरता दिएको हो ।

महानगरपालिकाको टोलीले सिद्धार्थ बैंकको अन्डरग्राउण्ड पार्किङको वाल पनि भत्काएको छ । हात्तीसारमै रहेको नेपाल हाउस रेष्टुरेन्ट बार एण्ड बेकरीको एकतले संरचना पनि महानगरले भत्काएको छ । यस संरचना मुनिबाट टुकुचा बगिरहेको भन्दै महानगरले संरचना भत्काएको हो । यसअघि शनिबार नै लक्ष्मी बैंक र सिद्धार्थ बैंक परिसरमा पनि टुकुचा फेला पारेको थियो । केही दिनअघि जयनेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो ।

आइतबार मात्रै उच्च अदालत पाटनले तीन घरका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अर्डर अल्पकालीन अन्तरिम आदेश भएका संरचनामा भने महानगरले छोएकोे छैन ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जयनेपाल हल क्षेत्रमा गायव भएको थियो । यस अघिदेखि नै स्थानीयले खोला अतिक्रमण गरेर संरचनाहरू निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेका थिए । महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायव भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको हो । महानगरका अनुसार टुकुचा खोलामाथि नारायणहिटी राजदरबार, जयनेपाल हल, न्यु प्लाजालगायत सयौँ ठूल्ठूला भवन निर्माण भएका छन् । पुतली सडकदेखि थापाथली क्षेत्रसम्म पनि खोला गायव भएको छ । कमलादी क्षेत्रस्थित काठमाडौं प्लाजा पछाडि केही ठाउँमा मात्रै टुकुचा देखा पर्छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानअन्तर्गत सडकपेटी र फुटपाथ खाली गराउनेदेखि मापदण्डविपरीत बनाइएका भवन, भवनका पार्किङ स्थल महानगरले खाली गराउँदै आएको छ । नक्सापासबिनै बनेका संरचना र नक्सामा उल्लेख भएविपरीत प्रयोग गरिएका संरचनामा महानगरले डोजर लगाइरहेको छ ।

अब सुत्ने होइन, उठ्ने बेला हो, काम रोकिँदैन : महानगर प्रहरी प्रमुख पाण्डे
काठमाडौं महानगर नगरी प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले टुकुचा खोज्ने अभियान जारी रहने बताउनुभयो । महानगरपालिकाको आदेशमा नै टुकुचा उत्खनन गरिरहेको भन्दै अभियान जारी रहने उहाँले बताउनुभयो । महानगरपालिका विकासका लागि अघि बढिसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने उहाँको भनाइ छ । कामनपा चीनको स्टाइलमा विकास गर्नका लागि अघि बढेको र रातारात काठमाडौं परिवर्तन गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । ‘महानगरको आदेश भएर नै हामी आएको हो । अब काम गर्न रोकिँदैन, अघि बढेपछि बढेको बढ्यै हो,’ उहाँले भन्नुभयो, ‘चीनमा देख्नुभएको छ ? हामी चीनको महानगरको स्टाइलले अघि बढ्न चाहन्छौँ । त्यहाँ आज केही हुँदैन तर भोलि अर्कै संरचना बनिसकेको हुन्छ । रातारात काठमाडौं चेन्ज गर्नुपर्छ । अब सुत्ने होइन, उठ्ने बेला हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?