दलहरूले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची, हेबिवेट नेताहरू पनि समानुपातिकमा

अनिल क्षेत्री
Read Time = 17 mins

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरूले समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएका छन् । सोमबार निर्वाचन आयोगमा पुगेर मुख्य राजनीतिक दलसहितका दलहरूले समानुपातिक तर्फको उम्मेदवारहरूको सूची बुझाएका हुन् । आयोगले आइतबार र सोमबार गरी दुई दिन समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाउन समय दिएको थियो । सोही समयावधिभित्र राजनीतिक दलहरूले आ-आफ्ना उम्मेदवारहरूको बन्दसूची आयोगमा पेश गरेका छन् । सत्तारूढ प्रमुख दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायत दलहरूले समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाएका हुन् । उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समानुपातिक बन्दसूचीमा नेपाली कांग्रेस कार्यसमितिबाट पनि कतिपय सदस्यहरू रहेको जानकारी दिनुभयो । प्रतिनिधिसभामा समानुपातिक पद्धतिबाट ११० जना र सातवटा प्रदेशसभामा २२० जना उम्मेदवार हुनेछन् ।

मिश्रित निर्वाचन प्रणालीअनुसार संघ र प्रदेशमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सांसद हुन्छन् । जसअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा एक सय ६५ प्रत्यक्ष र ११० समानुपातिक कोटाबाट आउँछन् । बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्ने व्यवस्था छ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला हुनुपर्ने व्यवस्था छ । दलहरूले आयोगमा संविधानले व्यवस्था गरे अनुसारको क्लस्टर मिलाएर ११० जनाको सूची पेश गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनका लागि कुल ८७ दलले निर्वाचन आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगले यही असोज ९ गते राजनीतिक दलहरूलाई आयोगमा बुझाएको समानुपातिक सूचीमा रहेका नामहरू सच्याउनका लागि पत्राचार गर्ने र १६ गतेभित्र सच्याएर ल्याउन समय दिएको छ । त्यसरी सच्याएर आएको नामावली नै अन्तिम नामावली हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले समानुपातिक उम्मेदवारको नामावलीलाई असोज २२ गते सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ । समानुपातिक पद्धतिमा मतदाताहरूले राजनीतिक दललाई मत दिनेछन् । राजनीतिक दलले पाएको मतको आधारमा बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट सांसद निर्वाचित हुन्छन् । प्रत्यक्षतर्फको मनोनयन भने असोज २३ गते हुँदैछ ।

पाँच ठाउँबाट प्रत्यक्षमा सिफारिस आरजू अन्ततः समानुपातिकमा
नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा हेबिवेट नेताहरू पनि समेटिएका छन् । कांग्रेसका १३ जना पार्टी पदाधिकारीमध्ये सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार समानुपातिक सूचीमा समेटिएका छन् । कांग्रेसले पूर्व-उपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, पूर्व–अर्थमन्त्री डा.रामशरण महत, केन्द्रीय सदस्य अम्बिका बस्नेतको नाम पनि समानुपातिक सूचीमा समेटेको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवापत्नीसमेत रहनुभएकी केन्द्रीय सदस्य आरजू राणालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ सहित देशका विभिन्न पाँच ठाउँबाट प्रतिनिधिसभामा उम्मेदवारका रूपमा प्रत्यक्षतर्फ नाम सिफारिस भए पनि राणालाई अन्तिममा समानुपातिकतर्फ राखेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको खसआर्य महिलामा आरजुको नाम सिफारिस गरिएको छ । यसअघि २०७४ मा आरजू कैलाली-५ बाटै प्रत्यक्ष निर्वाचन लड्नुभएको थियो । आरजू राणाले योपटक पनि प्रत्यक्ष लड्ने तयारी गर्नुभएको थियो । आरजू कैलाली ५, कञ्चनपुर, बर्दिया, बागलुङसहित पाँच स्थानबाट प्रत्यक्षतर्फ सिफारिस हुनुभएको थियो । तर, कैलाली-५ बाटै लड्ने तयारी गरे पनि पार्टीका असन्तुष्ट नेता पुष्करनाथ ओझा समूहले असहयोग गर्ने भएपछि आरजूलाई पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिक सूचीमा राख्नुभएको हो ।

एमालेका अधिकांश शीर्ष नेता प्रत्यक्ष चुनाव लड्ने
नेकपा एमालेका अधिकांश शीर्ष नेता प्रत्यक्ष चुनाव लड्ने भएका छन् । एमालेको समानुपातिक तर्फको बन्दसूचीमा सबैभन्दा वरिष्ठतम नेतामा स्थायी कमिटी सदस्य रघुजी पन्त मात्र पर्नुभएको छ । ललितपुरबाट दुईपटक चुनाव जित्नुभएका पन्त यसपटक काठमाडौंबाट उम्मेवारका आकांक्षी देखिनुभएको थियो । पन्तलाई समानुपातिकमा राखिएको र उहाँभन्दा सिनियर तथा पार्टीका पदाधिकारी अधिकांश नेता प्रत्यक्षमै उम्मेदवार बन्ने तय भएको एमालेले जनाएको छ । चुनाव नलड्ने केही नेताले भने चुनावको कमाण्ड गर्ने बताइएको छ । एमाले निर्वाचन आयोग विभागका उपप्रमुख नीरज आचार्यले बन्दसूची बुझाए पनि आचार्यले एमालेले बनाएको मापदण्डअनुसार समानुपातिकको बन्दसूची पेश गरेको जानकारी दिँदै भन्नुभयो, ‘समानुपातिक सूचीमा पुराना कोही नेता पनि पर्नुभएको छैन । सबै नयाँ रहनुभएको छ । एमालेले यसअघि जितेका सिट कायम मात्रै राख्ने होइन बढाउँछ ।’

एमालेले पार्टी उपाध्यक्ष रामबहादुर थापाकी श्रीमती नैनकला थापालाई पनि समानुपातिक सूचीमा समावेश गरेको छ । समानुपातिक सूचीमा बस्न इच्छा राख्नुभएका उपाध्यक्ष रामबहादुर थापा, युवराज ज्ञवाली, अष्टलक्षी शाक्य र उपमहासचिव विष्णु रिमाल भने समानुपातिकको बन्दसूचीमा अटाउन सक्नुभएन ।

पूर्वसभामुख महरा पनि समानुपातिकमा
पूर्व-सभामुखसमेत रहनुभएका नेकपा माओवादीका शीर्ष नेतामध्येका एक कृष्णबहादुर महरा पनि समानुपातिक उम्मेदवारमा सिफारिस हुनुभएको छ । माओवादी केन्द्रले पदाधिकारीबाट महरालाई समानुपातिक सूचीमा समावेश गरेको हो । खसआर्य समुदायबाट महरा एक नम्बर समानुपातिक सूचीमा समेटिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिनुभएको छ । महरा दाङ-२ बाट प्रत्यक्षतर्फ एकल उम्मेदवार सिफारिस हुनुभएको थियो । २०७४ सालमा त्यही क्षेत्रबाट महराले चुनाव जित्नुभएको थियो । तर, यसपटक भने महरा आफैँले प्रत्यक्ष चुनाव लड्ने इच्छा नदेखाएपछि समानुपातिकमा राखिएको माओवादी केन्द्रले जनाएको छ । महराले २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट प्रतिनिधिसभाको चुनाव जित्नुभएको थियो । दोस्रो जनआन्दोलनपछि अन्तरिम विधायक, २०६४, २०७० साल र २०७४ सालमा भएको चुनावमा प्रत्यक्ष निर्वाचित हुनुभएको थियो ।

नेकपा एसका तीन पदाधिकारी समानुपातिक सूचीमा
नेकपा एकीकृत समाजवादीले पार्टीका पदाधिकारीमध्ये तीनजनालाई समानुपातिकको बन्दसूचीमा समावेश गरेको छ । अध्यक्ष माधव नेपाल निर्वाचित भएको काठमाडौं–२ मा चुनाव लड्ने भनिएका उपाध्यक्ष प्रमेश हमाल समानुपातिकमा पर्नुभएको छ । पार्टी उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई प्रतिनिधिसभाअन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर १ छोडेर उपमहासचिव तुलाधर समानुपातिकमा बस्नुभएको हो । तुलाधरले आफू यसपटक समानुपातिकमा बसेको जानकारी दिँदै भन्नुभयो, ‘मैले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई धादिङ क्षेत्र नम्बर १ छोडेर समानुपातिक बसेको छु ।’ नेकपा एसका सचिव नागेन्द्र चौधरी पनि समानुपातिकमा समेटिनुभएको छ । चौधरी यसअघि एमालेमा पनि समानुपातिकबाट संविधानसभा सदस्य हुनुभएको थियो । पार्टीले समानुपातिकमा पुनःअवसर नदिने नीति बनाए पनि चौधरीका हकमा भने लागू भएन ।

लोसपाको प्रदेशतर्फ मधेश र लुम्बिनीमा मात्रै पूर्ण उम्मेदवारी
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधिसभा, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ सबै सिटमा उम्मेदवारको बन्दसूची बुझाएको छ । निर्वाचन आयोगमा बन्दसूची बुझाउन पुग्नुभएका नेता केशव झाले प्रतिनिधिसभाको ११० वटै र बाँकी दुई प्रदेशमा पनि सबै सिटमा उम्मेदवारी दिइएको जानकारी दिनुभयो । त्यस्तै, पाँचवटा प्रदेशमा भने केही मात्रै उम्मेदवारहरूको नाम बन्दसूचीमा राखिएको जानकारी दिँदै नेता झाले भन्नुभयो, ‘प्रतिनिधिसभाको ११० वटै सिटमा उम्मेदवारी दिएका छौँ । प्रदेश १ मा केही कम छ । मधेश प्रदेशमा सबै छ । बागमतीमा १५/२० जनाको, गण्डकीमा पाँच/सातजना, लुम्बिनीमा पूरै र कर्णाली र सुदूरपश्चिममा पाँच÷सातजना रहेका छन् ।’

डा.बाबुरामलाई माओवादीले दियो पाँच सिट
नेकपा माओवादी केन्द्रकै चुनाव चिन्हमा निर्वाचन लड्न लाग्नुभएका डा. बाबुराम भट्टराईको पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ पाँच सिट पाएको छ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बाबुरामको पार्टीका प्रतिनिधिसहित प्रतिनिधिसभा ११० जना समानुपातिक सूची आयोगमा बुझाएको जानकारी दिँदै भन्नुभयो, ‘हामी गठबन्धनमा पनि छौँ । बाबुरामजीको पार्टी पनि माओवादीकै चुनाव चिन्हमा लड्दैछ । उहाँको पार्टीका ५ सहित ११० जनाको सूची बुझाएका छौँ ।’
यसअघि समानुपातिक सांसद भएका र राष्ट्रियसभा सदस्य रहेकालाई यसपटक सूचीमा नराखेको जानकारी दिँदै पुनले भन्नुभयो, ‘यसअघि समानुपातिकबाट सांसद भएका, राष्ट्रियसभा सदस्य भएका र स्थानीय तहमा उम्मेदवार भएकालाई पनि बन्दसूचीमा राखेका छैनौँ, अधिकतम् समावेशी बनाएर सूची बनाएका छाँै । युवाहरू धेरै संख्यामा हुनेगरी पेश गरेका छौँ ।’

विवेकशील साझा पार्टीले निरुपमा यादवलाई पहिलो नम्बरमा राखेर प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारहरको सूची बुझाएको छ । पार्टीले सोमबार बुझाएको सूचीको पहिलो नम्बरमा यादव, दोस्रो नम्बरमा निर्जला कक्षपति, तेस्रो नम्बरमा सरस्वती पन्थी भुसाल, र चौथो नम्बरमा राम साह हुनुहुन्छ । त्यसपछि क्रमशः लक्ष्मी घिमिरे, दीपक रेग्मी र सुरज प्रधानको नाम समावेश गरिएको छ ।

कांग्रेसको घोषणापत्र मस्यौदा समिति सदस्य स्वतन्त्र पार्टीको उम्मेदवार
नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा सदस्य रहिसक्नु भएका मनीष झा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार बन्नुभएको छ । कांग्रेस महामन्त्री गगन थापाको टिममा रहेर स्थानीय चुनावको घोषणापत्र मस्यौदामा काम गर्नुभएका झा स्वतन्त्र पार्टीबाट मधेसी कोटाको पहिलो नम्बरमा बन्द सूचीभित्र पर्नुभएको छ । सो पार्टीले समानुपातिक उम्मेदवारका लागि पार्टीभित्रबाटै खुला मतदान आ≈वान गरेको थियो । झा फ्याक्टस नेपालको सिइओ हुनुहुन्छ । धनुषा जिल्लाका बासिन्दा झाले कांग्रेस छाडेर स्वतन्त्र पार्टी रोज्नुभएको हो ।

निर्वाचन आयोग जलमग्न
सोमबार अपरान्ह परेको पानीले निर्वाचन आयोग जलमग्न भएको छ । राजनीतिक दलहरूले समानुपातिक निर्वाचन तर्फको बन्दसूची पेश गर्ने दिन सोमबार आयोग कार्यालयमा बिहान १० बजेदेखि नै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू आयोग परिसरमा जम्मा भएका थिए । राजनीतिक दलहरूले आयोग परिसरमै बसेर पनि नमिलेका कागजपत्र मिलाउने र आयोगमा नामावली दर्ता गरिरहँदा परेको पानीले आयोग परिसर जलमग्न भयो । आयोग परिसर जलमग्न हुँदा बन्दसूची पेश गर्न गएका राजनीतिक दलका कार्यकर्ता तथा आयोगका कर्मचारीलाई प्रभावित बनायो । काम विशेषले आयोगमा जानेहरूले हातमा जुत्ता बोकेर कार्यालय छिरेका थिए । सोमबार केहीबेर परेको वर्षाले आयोग परिसर मात्र नभई काठमाडौंका कैयौँ स्थान जलमग्न भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?