नेताका सपना, जनताका सपना

रत्न प्रजापति
Read Time = 12 mins

नेताको पछि लाग्ने असंख्य भिडले नेपालको राजनीति शक्तिको पूजामा रमाइरहेको प्रष्ट हुन्छ । नेताले भनेको सर्वमान्य ठान्ने र नेताको बोलीलाई आदर्शवचन मान्ने प्रवृत्तिले नेताका बारेमा आलोचनात्मक टिप्पणी कमै हुन्छन् । जसले गर्दा नेताहरू बढी स्वतन्त्र र स्वच्छन्द बन्न थालेका छन् । नेताको बोलीमा लगाम लाग्नै छोडेको छ । जे पनि बोल्न थालेका छन् नेताहरूले । आफ्नो बोलीमा ताली पिट्ने जनताको भीडले गर्दा नेताहरूमा विवेकशीलताको पनि कमी महसुस हुन थालेको छ । यद्यपि कोहीकोही यस्ता नेताहरू पनि थिए नेपाली राजनीतिमा, जसको बोली र वचनलाई अहिले पनि अनुसरण गर्ने गरिन्छ ।

नेपाली राजनीतिकवृत्तमा विशेषगरी बीपी कोइराला, पुष्पलाल र मदन भण्डारीका बोली, वचन र विचारलाई अझै अत्यन्तै महत्व दिएर त्यसलाई मनन गर्ने प्रयत्न गरिन्छ । दूरदृष्टि भएका ती नेताहरूको दूरगामी बोली, वचन र विचारले नेपाली अर्थ-राजनीतिको क्षेत्रमा विशेष महत्व रहेको देखिन्छ । तर, दूरदृष्टि भएका नेताका दूरगामी बोली, वचन र विचारलाई पछ्याउने क्रममा हामी पछौटे त भइरहेका छैनौँ ? विचारणीय छ । समय धेरै बदलिइसकेको छ । राजनीतिले पनि धेरै पटक कोल्टे फेरिसकेको छ । शासनप्रणाली पनि धेरैपटक फेरिइसकेको छ । अनि जनताका आशा, अपेक्षा र सपना फेरिइसकेका छन् । यसरी बदलिएको समय र सन्दर्भमा पनि राजनीतिक दलका शीर्षनेताहरूका उही दशकौँ पुराना बोली, वचन, विचार र सपनाकै मात्र कुरा गरिरहने हो भने वर्तमानमा जनताले देखेका सपनाहरू कुण्ठित हुन सक्छन् । समय र सन्दर्भनुसार अब जनताका सपनालाई प्राथमिकता दिनुपर्छ । राजनीतिक दलप्रतिको आस्थाका आधारमा होइन समय-सन्दर्भ, सत्यता र आवश्यकताको आधारमा नीतिनिर्माण गर्नुपर्छ । अझै पनि हामीले पुराना नेताका पुरानै सपनाको मात्रै कुरा गरिरहृयौँ भने हामी समयको साक्षी बन्न नसकेको प्रमाणित हुनेछ ।

राजनीतिक दलका नेताहरूले आफ्नै दलको शीर्षनेताको सपनाको कुरामात्रै गरिरहने हो भने आमनागरिकको सपनाको कुरा चाहिँ कसले गर्ने ? आमनागरिकका आफ्नै सपना छैनन् र ? अब राज्यले आमनागरिकको सपनालाई सोचेर नीतिनिर्माण गर्ने कि राजनीतिक दलका नेताको सपनालाई सोचेर नीति निर्माण गर्ने ?

एक राष्ट्रिय दैनिकमा हालै प्रकाशित मुख्य समाचारनुसार चौथो नेपाल पूर्वाधार सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बीपी कोइरालाले २०१५ सालमा देखेको सपनाअनुसार सबै नागरिकले महसुस गर्नेगरी पूर्वाधार निर्माण हुनुपर्ने बताएका छन् । कुरा त सही नै हो । नागरिकले महसुस गर्नेगरी पूर्वाधार निर्माण हुनसकेको भए नागरिकले उपचार नपाई मर्नुपर्ने थिएन । तुइनबाट खसेर नदीमा बेपत्ता हुनुपर्ने थिएन । सुसूचित हुने अधिकारबाट वञ्चित हुनुपर्ने थिएन । शिक्षाको उज्यालो घामबाट वञ्चित हुनुपर्ने थिएन । गरिबी र अभावमा पिल्सिनुपर्ने थिएन । किनभने पूर्वाधार नै विकासको पूर्वशर्त हो अथवा पहिलो आवश्यकता हो तर स्मरणीय कुरा के हो भने त्यो बीपीको मात्रै सपना थिएन । आमनेपाली जनताको सपना हो । पूर्वाधार विकास नभई अरू कुराको विकास हुँदैन भन्ने ज्ञान बीपीलाई मात्रै होइन आमनेपाली जनतालाई पनि छ । यसो हो भने पूर्वाधार निर्माणको सपनालाई किन बीपीको मात्रै सपना भन्ने ?

त्यो त आमनेपाली जनताको सपना हो । त्यसैले आमनेपाली जनताको सपनाकै रूपमा चिन्नुपर्छ र त्यसलाई आमनेपाली जनताको सपनाकै रूपमा महत्व दिनुपर्छ ।
सोचनीय र विचारणीय कुरा के मात्रै हो भने हरेक कुरालाई राजनीतिक दल, राजनीतिक वाद र राजनीतिक सिद्धान्तलाई आधार बनाएरमात्रै बोल्ने अथवा गर्ने प्रवृत्तिले आमनागरिकको आफ्नो सपना चाहिँ कहिले पूरा हुन्छ अथवा कसले पूरा गर्छ ? देशको हरेक क्षेत्र राजनीतिको मियो वरिपरि घुमेको छ । राजनीतिक दलका नेताहरू सर्वेसर्वा भएका छन् । राजनीतिक दलका नेताहरू नै सर्वज्ञाता भएका छन् र राजनीतिक दलका नेताहरूलाई नै आदर्श मान्ने गरिएको छ । राजनीतिक दलका अग्रज नेताले भनेको वा बोलेको कुरालाई नै लागू गर्नुपर्छ भन्ने मान्यताले जरो गाड्दै आएको छ । यसो त राजनेताले सबै नागरिकको प्रतिनिधित्व गरेर बोलेका हुन्छन् नै । तर, राजनीतिक दलैपिच्छे अग्रज नेता हुने र सर्वमान्य नेता हुने भएकाले तिनले भनेका वा बोलेका कुरालाई सतत पालना गर्ने अभिप्रायले देशको नीतिनिर्माण गर्ने परिपाटीले आमनागरिकलाई हित गर्छ कि गर्दैन अथवा आमनागरिकलाई सुविधा दिन्छ कि दिँदैन भन्ने कुराले अहम् महत्व राख्दछ । कांग्रेस नेताहरू बीपीले देखेको सपनाको कुरा गर्छन् । कम्युनिष्ट नेताहरू पुष्पलाल र मदन भण्डारीले देखेको सपनाको कुरा गर्छन् । कोही कोही प्रचण्डले देखेको सपनाको कुरा पनि गर्छन्, जबकि स्वयं प्रचण्ड आफ्नै सपनालाई कुल्चेर अघि बढ्ने धृष्टता गर्दैछन् ।

कोही कोही चाहिँ अझै पनि राजाले देखेको सपनाको कुरा पनि गर्दैछन् । यसरी राजनीतिक दलका नेताहरूले आफ्नै दलको शीर्षनेता वा सर्वमान्य नेताको सपनाको कुरामात्रै गरिरहने हो भने आमनागरिकको सपनाको कुरा चाहिँ कसले गर्ने ? के आमनागरिकका आफ्नै सपना छैनन् र ? अब राज्यले आमनागरिकको सपनालाई सोचेर नीतिनिर्माण गर्ने कि राजनीतिक दलका नेताको सपनालाई सोचेर नीति निर्माण गर्ने ? आमनागरिकका सपना त सानै छन् । ती सपनामा जीवनको आधारभूत आवश्यकताका कुरा छन् । एक छाक पेटभरि खान पाइयोस् । एक आङ गतिलो लाउन पाइयोस् । समयमा उपचार पाइयोस् । उपचारै नपाएर मर्नु नपरोस् । छोराछोरीले घरआँगनछेउमै पढ्न लेख्न पाऊन् । देशमै उद्योगधन्दा खुलून् र निर्वाध चलून् । रोजगारीका लागि युवाले विदेशिनु नपरोस् । आफैँले उत्पादन गरेको वस्तुको मूल्य पाउन माइतीघर मण्डलामा धर्ना बस्नु नपरोस् र मिटरब्याजी साहुको चंगुलमा परेर घरवासै उठिवास नहोस् ।

नेताहरूले आधा शताब्दीअघि देखेका सपनाका कुरा अहिले कति सान्दर्भिक हुन्छन् ? र, कति व्यावहारिक हुन्छन् ? बरू अहिले त बालेन साह र हर्क साम्पाङका सपनाका कुरा बेस लाग्छन् । किनभने तिनका सपना समय-सान्दर्भिक छन्, व्यावहारिक छन् ।

यस्तै त हुन् आमनागरिकका सपना । आमनागरिकका सपनामा समाजवादका कुरा छैनन् । पुँजीवादका कुरा छैनन् र विकासवादका कुरा पनि छैनन् । सामान्य र व्यावहारिक कुरा छन् आमनागरिकका सपनामा । देशका शासकहरू चाहिँ आमनागरिकका आधारभूत आवश्यकताका सपनालाई कुल्चेर महत्वाकांक्षी सपनाका कुरा गर्छन् तर कहिल्यै पूरा गर्दैनन् त्यो सपना । यही नै आमनेपाली नागरिकको दुर्भाग्य बनेको छ ।

नेताहरूले आधा शताब्दीअघि देखेका सपनाका कुरा अहिले कति सान्दर्भिक हुन्छन् ? र, कति व्यावहारिक हुन्छन् ? बरू अहिले त बालेन शाह र हर्क साम्पाङका सपनाका कुरा बेस लाग्छन् । किनभने तिनका सपना समय-सान्दर्भिक छन्, व्यावहारिक छन् र तत्कालीन प्राथमिकता र आवश्यकतामा आधारित छन् । आदर्शका कुराभन्दा आवश्यकताका कुरा बढी व्यावहारिक हुन्छन् । व्यावहारिक कुराले नै आमनागरिकका सपनालाई सम्बोधन गर्न सक्छन् । कति गर्ने बीपीले देखेको सपनाका कुरा । कति गर्ने पुष्पलाल र मदन भण्डारीले देखेको सपनाका कुरा । सपना देख्नेले किन आफ्नै कालमा ती सपना पूरा गरेनन् ? अथवा किन ती सपना अहिलेसम्म पूरा हुन सकेनन् ? नेताका सपनालाई लत्याएर शक्तिको उन्मादले बरालिएका अरू धेरै नेताहरूले जनहितभन्दा पार्टीहितका कामकुरालाई प्राथमिकतामा राख्दै आएकाले देश पछौटेपन भोग्न बाध्य छ ।

सपना अनुसारको काम गर्नेले देश आफ्नै कार्यकालमा बनाएका छन् । सिंगापुरका लि क्वान यु, मलेसियाका महाथीर मोहम्मद अनि कोरियाका पार्क चुङ हीले आफ्नै कार्यकालमा बनाए आफ्नो देश । हाम्रो देशका नेताहरूले चाहिँ किन पूरा गर्न सकेनन् आफ्नै कार्यकालमा आफ्नो सपना ? प्रश्न जायज छ र सोचनीय पनि । आमनागरिकका सपनालाई केन्द्रबिन्दुमा राखेर नीतिनिर्माण र कार्ययोजना बनाई कार्यान्वयन गरेमात्रै आमनागरिकले महसुस गर्ने विकास हुन सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?