को हुन् गोठाटारमा हत्या गरिएका अन्सारी ?

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा हिजो(सोमबार) साँझ गार्मेन्ट व्यवसायीको गोली हानी हत्या भएको थियो । तयारी पोसाक र झोला बनाउने फ्याक्ट्रीका सञ्चालन सर्लाहीका लाल मोहम्मद अन्सारीको हत्या भएको छ ।

साँझ हत्या भएपनि उनको हत्या किन र के कारणले गरियो भने खुल्न सकेको छैन । प्रहरीले भने घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

अज्ञात समूहले अन्सारीको टाउको, छाती र पेटमा गोली हानेका थिए । मोटरसाइकलमा आएका दुई जनाले गोली हानी फरार भएका थिए । घटनापछि गम्भिर घाइते भएका अन्सारीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस्तो छ पृष्ठभूमि  ?

मृतक अन्सारी सर्लाहीको गौडैता नगरपालिका–१० मनहरवाका स्थायी बासिन्दा हुन् । केही वर्षअघिदेखि उनी परिवारका साथ काठमाडौंमा बस्दै आएका थिए । अन्सारीको विगत भने आपराधिक पृष्ठभूमि रहेको देखिएको छ ।

यद्यपी उनको व्यस्त सडकमा अपरिचित समूहले हत्या गरि फरार हुनुले हत्या र गोलीकाण्डका पुराना शृंखलालाई ताजा बनाइदिएको छ । हत्या गरिएका ५७ बर्षीय अन्सारी करिब ९ वर्ष जेल बसेर ६ वर्षअघि रिहा भएका थिए ।

जाली नोट र कर्तव्य ज्यान मुद्दामा जोडिएका उनी २०६४ साउन ९ गते जेलमा ८ वर्ष ७ महिना बसेर छुटेका थिए । लाल मोहम्मद, लाल अन्सारी, लाल थापाजी लगायत उपनामले उनी चिनिएका थिए । उनी व्यक्ति हत्या र जालीनोटको कारोबारमा कैद सजाय भुक्तान गरि २०७३ जेठ २५ मा केन्द्रीय कारागारबाट छुटेका थिए ।

उनको जोरपाटी नयाँ बस्तीमा गार्मेन्ट र झोला बनाउने फ्याक्ट्री छ । नक्कली भारतीय रुपैयाँको कारोबारमा मुछिएका उनी कुमार श्रीवास्तव भन्ने व्यक्तिसँग सम्पर्कमा रहेका उनीसँगै २ पटक बंगलादेश गएका थिए ।

बंगलादेशबाट फर्केपछि अन्सारी पक्राउ परेका थिए । उनीसँग सम्पर्कमा रहेका पाकिस्तानी नागरिक एजाजसँग पनि उनको राम्रो सम्बन्ध रहेको स्रोतले बताउँछ । जेलपछि आफ्नो स्वार्थ नमिलेपछि अन्तर्राष्ट्रिय गिरोहले अन्सारीमाथि निसाना साँधेको हुनसक्ने स्रोतको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?