प्रकोपको सामना चुनौतीपूर्ण

हिमालय टाइम्स
Read Time = 6 mins

अहिले नेपालमा मनसुन अन्तिम अवस्थामा छ तर, कुनै-कुनै वर्ष मनसुन पूर्णरूपमा समाप्त हुन झण्डै असोजको अन्तिम समय कुर्नुपर्ने हुन्छ । यस वर्ष पनि असोज लागिसकेको छ तैपनि देशका विभिन्न ठाउँमा भारी वर्षा हुने क्रम जारी छ । यसबाट हालका दिनमा धनजनको ठूलो क्षति भइरहेका खबर आइरहेका छन् । सुदूरपश्चिम नेपालको केही ठाउँ हालै बाढी, पहिरो र डुबानबाट नराम्ररी प्रभावित भएका छन् र ती ठाउँहरूमा मानवीय तथा भौतिक क्षतिसमेत भएको छ ।

मानव जगतमा अहिले मात्र होइन उहिल्यैदेखि नै अनेक प्रकारका प्रकोप हुँदै आएका छन् । जुनसुकै युग होस्, जुनसुकै ऋतु होस् र जुनसुकै समय होस् कतै न कतै केही न केही प्रकोपहरू भइरहेकै हुन्छन् । यसको प्रकृति हिउँद बर्र्खा जस्ता ऋतुमा फरक-फरक प्रकारका हुने गर्छन् । भौगोलिक रूपमा भिन्न-भिन्न ठाउँमा भिन्न- भिन्न प्रकारका प्रकोप हुने गर्छन् । यसरी हेर्दा एकातिर मानव सभ्यता र अर्कातिर प्रकृतिको प्रकोपको तानातानमा सांसारिक सभ्यता अगाडि बढिरहेको छ । मानिसले अहिलेसम्म अनेक प्रकारका विकास निर्माण र आविष्कार गरिसकेको छ । यही क्रममा संसारका कतिपय देशहरू विकास निर्माणका दृष्टिले निकै अगाडि पुगेका छन् तैपनि त्यस्ता देशहरूमा समेत अनेक प्रकारका प्रकोप हुने गरेको पाइएकै छ ।

यसरी हेर्दा प्रकृतिमाथि मानिसको विजय हुन नसक्ने रहेछ भन्ने देखिन्छ । त्यसकारण मानिस जहाँ होस् जस्तो अवस्थामा रहोस् प्रकृतिको प्रकोपका बीच जहिलेसुकै भए पनि एक प्रकारको मनोवैज्ञानिक त्रासमा रहेको हुन्छ । नेपाल पनि एउटा यस्तै देश हो जहाँ भौगोलिक बनोटका कारणले सिर्जना हुने र अन्य विविध खालका प्राकृतिक प्रकोपको मनोवैज्ञानिक त्रासमा रहने गरेको छ । मानवीय कारणले सिर्जना हुने र नितान्त प्राकृतिक प्रकोपहरूको सामना नेपालले गरिरहेकै छ । भुइँचालो मानवीय कारणले हुने प्रकोप होइन तर २०७२ सालको महाभूकम्पपछि निरन्तर रूपमा यसका पराकम्पहरूको सामना हालसम्म नेपालले गरिरहेको छ । यसबाहेक बाढीपहिरो र डुबानका समस्यामा नेपाल पर्दै आएको छ ।

नेपाल पहाडी मुलुक हो । यो उत्तरबाट दक्षिणतिर फर्केको भिरालो जमिन भएको देश हो । हिमाली क्षेत्रदेखि दक्षिणमा चुरे पहाडको फेदीसम्म बाढीपहिरोको जोखिम हुने गरेको छ । त्यसमुनि तराई पर्दछ । तराईमा पहिरोको जोखिम त रहँदैन तर पहाडदेखि आएको पहिरोको गति त्यहाँसम्म पुग्दा त्यो प्रवाहपूर्ण बाढीमा परिणत हुन्छ । त्यही बाढीले तराईमा डुबान गराउँदछ । तराईमा डुबानको समस्या रहने गर्छ । मूलरूपमा नेपालमा बर्खामा बाढी, पहिरो र डुबान समस्या अधिक मात्रामा हुने गर्छन् । यसबाट धनजनको ठूलो क्षति हुने गर्दछ । बाढीपहिरोले कुन क्षेत्रमा बढी क्षति गराउँछ भन्ने पूर्वानुमान गर्न खासै सकिँदैन ।

गतवर्ष सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र बाढीपहिरोबाट बढी प्रभावित भएको थियो भने यसवर्ष त्यति ठूलो क्षति भएन भन्दाभन्दै हाल बर्खा सकिँनै लाग्दा अन्तिम क्षणमा आएर सुदूरपश्चिममा ठूलो क्षति हुनपुग्यो । अछाममा २२ जना मानिसको दुःखद् निधन भएको छ भने केही मानिसहरू बेपत्ता भएका छन् । केही मानिसहरूको घाइते अवस्थामा उद्दार र उपचार भइरहेको छ । अछामको यो दुःखद् घटनाजस्तै माथि पहाडी क्षेत्रबाट आएको बाढीले तराई क्षेत्रमा डुबान गराएको छ । सुदूरपश्चिमका तराई क्षेत्र कैलाली, कञ्चनपुर लगायतका ठाउँ डुबानमा परेका छन् । ठाउँठाउँका राजमार्ग अवरुद्ध भएको छ ।

मानिसहरू आवागमन गर्ने साना बाटाहरूसमेत अवरुद्ध भएका छन् । केही ठाउँका पुलपुलेसा बाढीमा बगेका छन् । यसले गर्दा त्यसतर्फको जनजीवन प्रभावित भएको छ । सरकारले यस्तो अवस्थामा तदारुकताका साथ उद्धार र राहतको व्यवस्था गर्न आवश्यक छ । यो विस्तारै गरौँला वा भोलि गरौँला भन्ने विषय होइन । अहिलेको अहिल्यै र आजको तत्कालै गर्नुपर्ने विषय हो यो । उद्धार, उपचार र राहतसम्बन्धी सम्पूर्ण प्रबन्ध सरकारबाट हुनुपर्छ । यसका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाहरूको भूमिका देखिने बेला पनि यस्तै अवस्थामा हो । यसतर्फ सर्वसाधारण नागरिकलगायत सबैको सहयोग अपेक्षित रहन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?