अनियमितता र भ्रष्टाचार : सम्पन्न परिवार समृद्ध नातेदार

प्रा. देवीभक्त ढकाल
Read Time = 19 mins

सम्पन्न परिवार समृद्ध नातेदारको अवधारणालाई मूर्तरूप दिन अनियमितता र भ्रष्टाचार नेपालका पार्टीहरूका नेताहरूको राष्ट्रिय लक्ष्य हो । यो लक्ष विगत तीन दशकयताको राष्ट्रिय लक्ष्यले नेपालको राजनीतिक परिवारको वर्ग परिवर्तन भएको छ । हाम्रो प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको मुख्य उपलब्धि नेताहरूको परिवारलाई सम्पन्न बनाउने, उनीहरूका नातेदारहरूको आर्थिक समृद्धिका लागि नियम कानुन मिचेर समृद्ध बनाउने हो ? नेताहरू यो उद्देश्य प्राप्त गर्न तँछाडमछाडमा छन् । अबको निर्वाचनले पुरानै उद्देश्यलाई पक्कै प्राथमिकतामा राख्ने नै छ ।

अब हेरौँ यसपटक कति परिवारले भाग्यमानी परिवार बन्ने चिठ्ठा पाउँछन् । अहिले नेताहरूको विशेष समृद्धिका लागि उम्मेदवार बन्ने टिकटको दर वृद्धि भएकाले राजनीतिमा योगदान गरे पनि गरिबहरूलाई भने प्रवेश स्वतः निषेधित गर्दै आएको विगतको रणनीतिमा परिवर्तन गरिने छैन । किनकि अहिले सबै पार्टीका नेताहरूको छनौटमा व्यापारिक घरानामा चिनिने चौधरी, गोल्छा, चाचन, घिराइया, केडिया, अहिले प्रजातन्त्रले र लोकतन्त्रले बनाएका नयाँ ओम्नी, बतास जस्ता अन्य नवविकसित व्यापारिक घराना पर्नेछन् । शेरबहादुर, पुष्पकमल, खड्गप्रसाद ओली, माधव नेपाल, उपेन्द्र यादव, बाबुराम आदिका विशेष छनौटमा पर्ने योग्यता बनाएका, नजिकमा रहेका भाग्यमानी व्यापारिक घरानाका नेताहरूलाई यसअघि र अब गर्ने आर्थिक योगदानको आधारमा निष्पक्ष छनौट हुने नै छ । यसले देशमा थप भ्रष्टाचार, अनियमितता, विधिविहीनताको परिस्थिति निर्माण गर्न पक्कै भूमिका निर्वाह गर्नेछ । यो निर्वाचनले सबै पार्टीका मुख्य-मुख्य नेताहरूको आर्थिक हैसियत अझै सुदृढ गर्नेछ भन्ने विश्वासमा पक्कै खण्डखातिर हुनेछैन । अर्थ मोह र परिवार मोह सबै समस्याका कारण हुन् ।

हाल आफ्नो पहुँच, हैसियत अनुसार बजेटको दुरुपयोग र अपचलन गर्ने जिम्मेवारी सबैले निर्वाह गरेकै हुन्छन् । आश्चर्यको विषय के छ भने मन्त्रीहरू बजेट कम हुने मन्त्रालय र भ्रष्टाचारबाट थोरै पर रहने सचिव भएको मन्त्रालयमा जान चाहँदैनन् ।

ती कारणको निराकरणविना समस्याको समाधान निस्कँदैन । जिम्मेवारीमा रहेका व्यक्तिमा आर्थिक इमानदारीता किन देखिँदैन ? जिम्मेवारी पाउने भनेको आर्थिक घोटाला गर्न पाउने विशेष अधिकार हो भन्ने धारणा किन सबै जिम्मेवारमा पाइन्छ ? तल्लो तहका जिम्मेवारी पाउने पियन, चौकिदारदेखि देशको प्रधानमन्त्री, राष्ट्रपतिसम्मले अनैतिक लाभ कसरी लिन सकिन्छ भन्ने चिन्तन र ध्यान गरेपछि देशको कानुन व्यवस्थाको खिलाफमा काम हुने विषय स्वाभाविकै हुन्छ । सबै संस्थामा वा कार्यालयमा आफ्नो पदीय हैसियतनुसार कार्यालयको बजेट अपचलन गर्नु सबै तहमा काम गर्नेहरूको मुख्य ध्येय रहेका कारण सबै कार्यालयमा बजेट अपचलन, दुरुपयोग वा बजेटलाई व्यक्तिगत आम्दानीमा रूपान्तरण गर्ने प्रतिस्पर्धा सबै जिम्मेवारमा पाइन्छ ।

आफ्नो पहुँच, हैसियत अनुसार बजेटको दुरुपयोग र अपचलन गर्ने जिम्मेवारी सबैले निर्वाह गरेकै हुन्छन् । आश्चर्यको विषय के छ भने मन्त्रीहरू पनि बजेट कम हुने मन्त्रालय र भ्रष्टाचारबाट थोरै पर रहने सचिव भएको मन्त्रालयमा जान चाहँदैनन् । मन्त्रीहरूले आफ्नो अनुकूलको सचिव रोज्ने । सचिवहरूसँग मन्त्रीहरूको मनोमालिन्य हुने विषय किन छताछुल्ल हुन्छ ? त्यसको मुख्य कारण हो नियमविपरीतका काममा मन्त्रीले दबाब दिने अवस्था । नियमको पालना गर्दा आफ्नो र आफ्नाको हित गर्ने परिस्थिति निर्माण नहुने भएकाले मन्त्रीहरू नियमविपरीतका काम गर्ने वातावरण बनाउन आफ्नालाई सचिवको रूपमा रोज्ने प्रचलन वास्तवमा कुशासनको पूर्वशर्त हो । हाम्रो राजनीतिक नेतृत्वको मुख्य कमजोरी भनेकै ऊ के गर्न राजनीति गरेको हो त्यो विषयको सन्देश काम र व्यवहारबाट दिन सक्दैनन् । भन्ने एउटा र गर्ने अर्को यिनीहरूको मुख्य विशेषतासँगै कमजोरी हो । भाषणमा निष्पक्ष गर्छु भन्ने तर व्यवहारमा सोझै पक्षपातपूर्ण काम गर्दा निष्पक्ष भएको लंगडो दलील दिन नछोड्ने चरित्रले समस्या दिनहुँ उत्पत्ति भएका छन् । हाम्रो राजनीतिले विकास र समृद्धिका कुरा गरेको धेरै दशक भएको छ । कुरामात्र भए तर जनताका समस्या समाधानमा अहिलेसम्म सिन्को भाँचिएकै छैन । जनतामा सरकारप्रति असन्तुष्टि चुलिएको छ । असन्तुष्टिलाई सम्बोधन गर्ने सशक्त कार्यक्रम सरकारसँग नहुँदा सरकारप्रतिको विश्वासमा नितान्त कमी आएको छ । सरकार नै अविश्वसनीय हुनु भनेको देश जनता र स्वयं सरकारको दुर्भाग्य हो । जनताको समृद्धिमा अहिलेसम्मकै सरकारहरू पूर्णतः असफल भएका छन् ।

तर, हाम्रो दुर्भाग्य जनताको समृद्धिका विषयमा धाराप्रवाह भाषण गर्ने सबै पार्टीका नेताहरूको, उनीहरूको परिवारको र उनका नातेदारको समृद्धिमा भने सबै पार्टीका नेताहरू पूर्णतः सफल देखिन्छन् । २०४६÷०४७ को परिवर्तन र गणतन्त्रको स्थापनापछिका नेताहरू, तिनका नातेदारहरूको वर्ग नै परिवर्तन भएको छ । हिजो चरम गरिबीमा जिउन बाध्य भएका केही नेताहरू राज्यको जिम्मेवारीका कारण एक्कासि सभ्रान्त भए भने र उनका नातेदारसमेत सम्भ्रान्त भएको विषयले जनतामा उत्पन्न असन्तुष्टिले अहिलेको राजनीतिक नेतृत्व जनताको आँखाको तारो बनेको छ । इतिहासमै राजनीतिक नेतृत्व यति धेरै अविश्वसनीय बनेको थिएन जुन अविश्वसनीयता अहिले व्याप्त छ । नेताको परिवार, उनका नातेदारमा र केही सीमित राजनीतिक कार्यकर्तामा समृद्धि आउँदा देशमा सबै क्षेत्रमा भ्रष्टाचार बढेको छ । बढ्दो भ्रष्टाचारले सरकार जनताका न्यूनतम् समस्यालाई समाधान गर्न एकातिर असफल छ भने आफ्नो र नातेदारको आर्थिक परिवर्तनमा आएको सफलताको पछाडि देशमा अनियमितता र भ्रष्टाचार भने चुलिएको छ । नातावाद कृपावादको त्यत्तिकै बिगबिगी छ । विकास बजेटलाई अपचलन गर्ने कामले विकास बजेटको दुरुपयोग सम्भवतः इतिहासमै यसअघि कहिल्यै भएको थिएन ।

यस्तो अनियमितता, बेथिति जुन रूपमा विकसित भएको छ यसले वर्तमान राजनीतिक परिवर्तनप्रति नै जनतामा चरम असन्तुष्टि विकास भएको छ । असन्तुष्टिलाई सम्बोधन गर्ने दिशामा सरकार मुकदर्शकमात्रै छैन विद्यमान असन्तुष्टिलाई व्यवस्थापन गर्न वर्तमान राजनीतिक नेतृत्व पूर्णतः असमर्थ छ । हाम्रा राजनीतिक पार्टी र नेताबीच जनताको समृद्धि र विकासको विषयमा भने सधैँ तीव्र विवाद छ । समृद्धिको विषयमा भएको अनियमितताका विषयमा नेताहरू र पार्टीहरू एकअर्काको मुकदर्शक हुन्छन् किन ? यो परिस्थितिसँग सबै नेताहरूबीचको अनौठो समझदारी र तालमेलरूपी समस्या नै हाम्रो दुर्भाग्य हो । सबै नेतालाई सत्ताको लालशा छ । त्यसको गन्तव्य सबैले सम्पन्नतालाई बनाएकाले इमानदारी, नैतिकता, प्रतिष्ठालाई बलात तिलाञ्जलि दिएका छन् । परिणामस्वरूप राजनीतिमा विकृति र विसंगति छताछुल्ल छन् । प्रतिपक्षी दल, तिनका नेताहरूको अन्तिम गन्तव्य भ्रष्टाचार, अनियमितता भएकाले सत्तारूढ दलका नेताहरूले गरेको अनियमिततालाई प्रतिपक्षी दल, तिनका नेताहरूमा खुलेर विरोध गर्ने नैतिक बल छैन । जो सत्तामा रहे पनि भ्रष्टाचार, अनियमितता आकस्मिक दुर्घटना नभएर नियमित कर्मका रूपमा विकसित छ । अहिले जनताका समस्या समाधान होइन अझै भयावह बनाउन हाम्रा नेताहरू क्रियाशील छन् ।

हाम्रो राजनीतिले समस्याको समाधानको बाटो परित्याग गर्नेगर्छ र समस्याहरूको उत्पादनको बाटोमा अग्रगामी छलाङ मारेको छ । यहाँ जसरी हुन्छ मिलिजुली बहुमतको सरकार बनाउने, बहुमतको नाममा सबैले आलोपालो लुट मच्चाउने विषयलाई राजनीति हो भन्ने गलत सन्देश प्रवाहित भएको छ । विचार, सिद्धान्त र आदशविपरीत गठबन्धन किन हुन्छ ? विचारविपरीतका दलबीच तालमेल गरेर निर्वाचन जसरी पनि जित्ने थप विकृति गणतन्त्रले ल्याएको छ । यसले भ्रष्टाचार, नातावाद, कृपावाद जस्ता प्रजातान्त्रिक शासनविरोधी काम कारबाहीलाई संस्थागत गरेको छ । यस्ता क्रियाकलापले नेपाली राजनीति सधैँ नकारात्मक बाटोमा अग्रसर भएको छ ।

न्यायालय, अख्तियार जस्ता निकायमा पार्टीका कार्यकर्ता, योग्यता नै नपुगेका नातेदारलाई नियुक्ति गर्ने प्रतिस्पर्धाको गलत नजिर बसेको छ । अहिले त अदालत भ्रष्टाचारीलाई दण्डित गर्ने निकायबाट भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने निकायमा रूपान्तरण गरेर ती संस्थाहरूको मूल्य, मान्यता र मर्यादाको लिलामी गर्ने प्रतिस्पर्धामा दलहरू क्रियाशील देखिन्छन् । अदालतको इजलासमा बस्ने न्यायाधीश कुन पार्टीको न्यायाधीश हो भनेर सोध्नुपर्ने, त्यही पार्टीका नेताहरूको, कार्यकर्ताको सिफारिशका आधारमा न्याय प्राप्त हुने अवस्थाले अदालतको मर्यादा, गरिमालाई सबै दलहरूले लिलामी गर्दा न्यायालयप्रतिको आस्था र विश्वास समाप्त भएको छ ।

न्यायाधीश र न्यायालयको तटस्थता र निष्पक्षताको लिलामी गर्न सबै दलहरू र तिनका नेताहरू प्रतिस्पर्धा गर्दैछन् । सबै पार्टीसँग र सबै नेताहरूसँग दलाल, बिचौलिया, तस्कर व्यापारिक घराना जोडिएका छन् । तिनीहरूको सहयोगमा राज्यका साधन र स्रोतहरूको चरम दुरुपयोगबाट धनार्जन गर्ने सजिलो पेशाका रूपमा राजनीतिलाई नेताले अंगिकार गरेका छन् । आफ्नो स्वार्थमा बाधा पर्ने अवस्थामा प्रधानन्यायाधीशलाई महाभियोग लगाउने, निष्काशन गर्ने, हड्ताल, विरोधले न्याय सम्पादनजस्तो संवेदनशील र मर्यादित क्षेत्रलाई प्रदूषित बनाउने काम राजनीतिक नेतृत्वले गरेको छ । शक्तिमा हुनेहरू छाडा भएका छन् । अदालत र अख्तियारलाई नियुक्तिका माध्यमले राजनीतिक नियन्त्रणमा राखेर दलका नेताहरूले भ्रष्टाचार गर्न अनुकूल अवस्था बनाएका छन् । नेताहरू उनीहरूको परिवार, नातेदार र अत्यन्तै सीमित कार्यकर्तालाई यो व्यवस्था फलिफाप भएको छ भने आमनागरिक उठिबासको अवस्था झेल्न बाध्य छन् ।

आफ्नो स्वार्थमा बाधा पर्ने अवस्थामा प्रधानन्यायाधीशलाई महाभियोग लगाउने, निष्काशन गर्ने, हड्ताल र विरोधले न्याय सम्पादन जस्तो संवेदनशील, मर्यादित क्षेत्रलाई प्रदूषित बनाउने काम राजनीतिक नेतृत्वले गरेको छ । शक्तिमा हुनेहरू छाडा भएका छन् ।

न्यायाधीश, पुलिसजस्ता निकयले राजनीतिक आस्थाका आधारमा न्याय सम्पादन गर्ने परिपाटीमा राज्य कोषबाट तलबभत्ता, सुविधा खानेहरू जनविरोधी काम गर्ने गर्दछन् । के राजनीतिको गन्तव्य, अर्थ, एकआपसमा लडाइँ, झगडा, षड्यन्त्र, विवाद, पक्षपात, सत्ता संघर्षमात्रै हो ? राजनीति जनकल्याणका लागि कठोर श्रम र तप हो । तर, नेपाली नेताहरूले राजनीतिलाई श्रम र तप साथै जनकल्याणको साधनको रूपमा बुझेनन् । राजनीतिको दीर्घकालीन लक्ष्य भनेको जनकल्याण हो तर हाम्रो राजनीतिको गन्तव्य स्वयं कल्याणमा सीमित छ । संप्रति राजनीति स्वयंमा एउटा समस्या हो । जहाँ-जहाँ राजनीति उहाँ-उहाँ कलह, गड्बडी, भ्रष्टाचार र अनियमितता हुन्छ । शील, अश्लीलको विभाजन रेखा नेपाली राजनीतिज्ञ हुँ भन्नेले मेटिदिएका छन् । अनर्गल प्रलाप, विलाप, आरोप प्रत्यारोपको अर्ध र पूर्णबिराम छैन । शिष्ट सम्वाद र साझा निष्कर्षको युग नै समाप्त भएको छ । के जनादेशको सन्देश यही हो ? सरकारलाई दुर्घटनाग्रस्त हुनबाट जोगाउन रातोझण्डा देखाउने काम विपक्षी दलको हो । पहिल्यै सुझाव दिने, त्यसपछि सुधार नगरे विरोध गर्ने, विरोधबाट सच्चिएन भने सरकारलाई हटाउने, वैकल्पिक सरकारका माध्यमले विकृति र विसंगतिलाई पन्छाएर सुशासनको पुनर्वाहाली गर्ने काम प्रतिपक्षको हो ।

तर, हाम्रो राजनीतिमा विपक्षले सुधार गर्न सुझाव दिनै जानेको छैन । मात्रै विरोध र विरोधपछि विपक्षीको सरकार पनि फेरि अघिल्लो सरकार जस्तै भ्रष्ट नै हुने परिपाटीले द्वन्द्व, टकराव हाम्रो राजनीतिको स्थायी विशेषता बनेको छ । तसर्थ हाम्रो राजनीति कहिल्यै विकासको बाटोमा लागेन बरू विनाशको बाटोमा लागेको हुनाले नेपालीहरूको आर्थिक सामाजिक अवस्था दिनप्रतिदिन खस्केको छ । राजनीतिलाई प्रेय, श्रेय कर्म कसरी बनाउने भन्ने विषयलाई राजनीतिकर्मीले कहिले आत्मसात गर्छन् त्यसैले समस्याको गाँठो फुक्छ । अन्यथा नेपालको राजनीति अनियमितता, भ्रष्टाचार : सम्पन्न परिवार समृद्ध नातेदारको सेरोफेरोमै रुमलिन्छ ।

Subscribe
Notify of
guest
5 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
TP Mishra
TP Mishra
2022-09-20 8:23 am

Ramro

Hom nath sapkota
Hom nath sapkota
2022-09-20 9:43 am

You have hit them more n more now they are frear of people specialy free candidates n free party.

ganesh neupane
ganesh neupane
2022-09-23 12:29 pm

राम्रो लाग्यो।यस्तै भैरहेको छ।तपाईंलाइ बधाई छ।

Cholendra pandit
Cholendra pandit
2022-09-26 3:23 pm

अनियमिता र भ्रष्टाचारको माथिल्लो अंश पार्टीहरुको घोषणापत्र को प्रस्तावनामा राख्न् उचीत।

छुटाउनुभयो कि ?