टेबलटेनिसमा चार खेलाडी छनोट

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

कञ्चनपुर । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट टेबलटेनिसमा महिलातर्फ कञ्चनपुरका चारजना छनोटमा परेका छन् । महिलातर्फ पाँचजना छनोट हुने खेलमा चारजना कञ्चनपुरबाट छनोटमा परेका हुन् । छनोटमा कञ्चनपुरका देवकी भट्ट, एन्जला कार्की, इन्दु ज्ञवाली र योगिता साउद पर्नुभएको छ । उहाँहरू चारैजनाले युट्युबमा हेर्दै अभ्यास गर्दै राष्ट्रिय प्रतियोगिताको छनोटमा पर्नुभएको हो ।

कञ्चनपुरमा टेबलटेनिसका लागि कोच नहुँदा युट्युब हेर्दै सिक्दै गरेको उहाँहरूले बताउनुभयो । छनोटमा परेकामध्ये देवकी भट्ट र इन्दु ज्ञवालीले यसअघि पनि राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिस्पर्धा गरिसक्नुभएको छ । ‘अभ्यास गर्नका लागि ठाउँ छैन प्रशिक्षणका लागि प्रशिक्षक पनि हुनुहुन्न ।’ छनोटमा पर्नुभएकी देवकी भट्टले भन्नुभयो, ‘युट्युब हेरेर आफैंले अभ्यास गरेर यहाँसम्म पुगेकी छु ।’ उहाँले टेबलटेनिस युट्युबमा हेर्ने र अभ्यास गर्ने गरेको बताउनुभयो ।

उहाँले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लगातार राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नुभएको छ । तर, अहिलेसम्म पदक भने हात पार्न सक्नुभएन । यसपटकको प्रतियोगितामा भने गोल्ड मेडल ल्याउने दाउमा रहेको उहाँले बताउनुभयो ।

‘प्रशिक्षकबिना नै युट्युब हेरेरै भए पनि चौथोपटक राष्ट्रिय प्रतियोगितामा छनोटमा परेकी छु,’ उहाँले भन्नुभयो, ‘यसपटक त गोल्ड मेडल ल्याउने आशा छ ।’ उहाँसँगै छनोटमा पर्नुभएकी ईन्दु ज्ञवालीले पनि युट्युब हेरेरै अभ्यास गर्ने गरेको बताउनुभयो । ‘हामीले जे-जति सिकेका छौं त्यो युट्युबबाटै सिकेको हो,’ उहाँले भन्नुभयो, ‘आफ्नै मेहनतले गर्दा राष्ट्रिय प्रतियोगितामा छनोट भएका छौं ।’ उहाँले पनि यसअघिको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्नुभएको हो । खेलकुदका बारेमा राष्ट्रिय प्रतियोगिताका समयमा मात्रै जानकारी हुने ज्ञवालीले बताउनुभयो ।

‘जब राष्ट्रिय प्रतियोगिता हुन्छ त्यतिबेला मात्रै हामीहरूले सूचना पाउने गरेका छौं, त्यसभन्दा अघि खेलकुदसम्बन्धी केही जानकारी हुँदैन,’ उहाँले भन्नुभयो, ‘प्रशिक्षणको व्यवस्था भए हामीले पनि पदक लिएर आउँथ्यौं ।’ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोटमा पर्नुभएकी अर्की खेलाडी एन्जिला कार्कीले युट्युब हेरेरै अभ्यास गर्ने गरेको बताउनुभयो । उहाँले टेबलटेनिस खेल्न र अभ्यास गर्नका लागि कञ्चनपुरमा सुविधा नभएको बताउनुभयो । ‘हामीले आफैं अभ्यास गरेर खेल्ने हो, हाम्रो प्रतिस्पर्धी प्रशिक्षकबाट प्रशिक्षण लिएका हुन्छन् हामीभन्दा अगाडि नै हुने भए,’ उहाँले भन्नुभयो, ‘हामीलाई पनि प्रशिक्षणको व्यवस्था भए राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्छौं ।’ प्रशिक्षणबिना नै छनोटमा पर्नु नै सफलता भएको बताउँदै उहाँहरूले यसपटक पदक लिएर आउने दाबी गर्नुभयो ।

टेबलटेनिसको महिलातर्फ छनोट भइसकेका खेलाडीमा पाँचजना कञ्चनपुरका र एकजना बझाङका छन् । कञ्चनपुरमा भलिबल, कबड्डी, टेबलटेनिस, तेक्वान्दो, कराँते, फुलकन्ट्याक्ट कराँते, कुस्ती र आइटिस तेकवान्दो खेलको छनोटका खेल भइरहेका छन् । प्रतियोगिताको छनोटमा ९७८ खेलाडी प्रतिस्पर्धा गरिरहेका छन् । कञ्चनपुरबाट मात्रै ३१ वटा खेलका लागि ४२१ खेलाडी छनोट प्रतियोगिताको प्रतिस्पर्धामा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?