ठेक्काको टुंगो छैन, मन्त्रीलाई शिलान्यास गर्न हतार

हिमालय टाइम्स
Read Time = 7 mins

दीपककुमार शर्मा/हिटा
बर्दिया । मतदातलाई प्रभावित पार्न बहालवाल मन्त्रीको पछिल्लोपटक बाँके जिल्लामा आउजाउ बाक्लिएको छ । जसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई अगाडि देखिनुभएको छ । अहिले उहाँ शिलान्यासदेखि उद्घाटन सम्मका कार्यक्रममा व्यस्त हुनुहुन्छ । मन्त्री राईले निर्वाचनको मिति घोषणा भएयता आफ्नो निर्वाचन क्षेत्रमा पर्ने टेपरीचौफेरी, नौरिगौडि-कैरातिपुर्वा, राजारामपुर्वा–हल्कारापुर्वाका साथै अमारहवादेखि लडियाघाटसम्म जोड्ने चारवटा पक्की पुलको शिलान्यास गरिसक्नु भएको छ । तर, ती पुलको काम कहिलेबाट सुरु हुने हो केही टुंगो छैन । टेण्डरसमेत नभएको अवस्थामा कसरी पुल निर्माण हुने हो स्थानीय अचम्मित छन् । बजेट र निर्माणको टुंगो नहुँदै गरिएको शिलान्यासले निर्वाचनमा मत बटुल्ने कामबाहेक अरू केही नभएको नेपालगञ्जका–११ का समिम अन्सारीले बताउनुभयो ।

स्थानीय सरकारले टेपरीमा १२० मिटर लामो पुल निर्माणको डिपिआरसमेत तयार पारेको थियो । अहिले ठेक्काका लागि टेण्डर गर्न बाँकी रहेको छ । संघीय र प्रदेश सरकारसँग बजेटका लागि पत्राचार गर्दै गरेका बेला स्थानीय तहसँग समन्वय नगरी मन्त्री राईले ठूलो दलबलका साथ आफ्नो नामको शिलालेख राखी यी परियोजनाहरूको शिलान्यास गर्न भ्याउनुभयो । बाँकेको राप्ती नदी तटीय ग्रामीण क्षेत्रका मतदातालाई प्रभावित बनाउनका लागि उहाँले पुलको शिलान्यास गर्दै हिँडेको भन्दै स्थानीय तहले अहिले विरोध गरिरहेका छन् । मन्त्री राईले विकासका नाममा मतदातालाई झुक्याउने काम गरेको उनीहरूले आरोप लगाएका छन् । यही क्षेत्रबाट लगातार दुईपटक सांसद हुनुभएका राईले १० वर्षसम्म जिल्लामा एउटा पुल पनि निर्माण गराउनुभएको छैन । स्थानीयबासी समुद्धिन शेष यो सोझै जनता झुक्याउने खेल भएकोे आरोप लगाउनुहुन्छ । मन्त्री राईले सबैतिर एउटै आकार र प्रकारको शिलालेख राख्ने क्रम पनि तीव्र पार्नुभएको छ ।

बाँकेको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचन लड्ने तयारीमा रहनुभएका मन्त्री राईले भदौ ४ गते सानातिना नालासँगै राप्ती नदीमा समेत सात सय मिटर लामो पुलको शिलान्यास गर्नुभएको थियो । हुलाकी राजमार्गमा पर्ने राप्ती नदीमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको पुल सञ्चालमा रहेको छ त्यसैको समानान्तर हुने गरी सात सय मिटरको लामो र साढे सात सय मिटर चौडाको अर्को पुल शिलान्यास मन्त्री राईले गर्नुभएको हो ।

यो पुलको ठेक्का आव्हान गरिएको छ । मन्त्री राई यत्तिकैमा चुप लागेर बस्नुभएन । उहाँले भदौ ४ गते नै नेपालगञ्जमा पाँचवटा आकाशे पुलको पनि शिलान्यास गर्न भ्याउनुभयो । आकाशे पुल कहाँ, कहिले निर्र्माण गरिने हो कुनै निश्चित छैन ।

यस्तै, उहाँले बर्दियाको गुलरिया नेपालगञ्ज हुलाकी राजमार्गको चार लेनको सडकखण्ड स्तरोन्नति गर्ने कामको पनि शिलान्यास पनि गर्नुभएको छ । मन्त्री राईले यी शिलान्यास र उद्घाटन गरेका भौतिक योजनाका नाम तयार पार्ने हो भने लामो लिष्ट नै बन्छ । यी योजना निर्माण कसरी र कुन माध्यमबाट हुन्छ भन्ने विषयमा जिल्लाबासी अन्यौल देखिँदा मन्त्री राईले भने शिलान्यास गरिएका सबै पूर्वाधारहरू निर्माण हुने दाबी गर्नुहुन्छ ।

भदौ दोस्रो सातातिर नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित हनुमानगढीको परिसरमा रहेको एकतले भवनको उद्घाटन गर्न पुग्नुभएका मन्त्री राईलाई स्थानीयले विरोध नै गरेका थिए । दुई वर्षअघि नै निर्माण सम्पन्न भई प्रयोगमा आइरहेको सो भवनको उद्घाटन र शिलालेखमा आफ्नो नामको राख्न खोज्दा स्थानीयले विरोध गरेपछि मन्त्री सुटुक्क फर्किनुभएको थियो । यसरी ठेक्का नहँुदै हतारमा शिलान्यास गर्न हतारिनुभएका मन्त्री राईलाई निर्वाचन जित्न लामै कसरत गर्नुपर्ने देखिन्छ ।

बाँकेको प्रतिनिधिसभा क्षेत्र नं २ मा अहिले सबैको नजर परेको छ । सो क्षेत्रमा गठबन्धनमा रहेका दलहरूबीच भएको सहमतिअनुसार जसपाका मोहम्मद इस्तियाक राईले नै टिकट पाउने पक्का भएको अवस्थामा सो क्षेत्रमा नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वमेयर धवलशमशेर राणा पनि निर्वाचन लड्ने भएपछि सबैको नजर सो निर्वाचन क्षेत्रमा परेको हो । २०७४ सालको निर्वाचनमा मोहम्मद इस्तियाक राई सांसद र राप्रपाका प्रभावशाली नेता धवलशमशेर राणा नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख भएदेखि नै सम्बन्ध त्यति राम्रो नरहेको अवस्थामा अब कसले बाजी मार्ने हो त्यसका लागि मंसिर ४ गतेसम्म पर्खनुपर्ने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?