हास्य कलाकार राजु श्रीवास्तवको निधन

Read Time = 3 mins

नयाँदिल्ली । भारतीय लोकप्रिय हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । उहाँको ५८ वर्षको उमेरमा बुधबार बिहान दिल्लीको एम्स अस्पतालमा निधन भएको हो । हृदयघात भएपछि उहाँलाई उक्त अस्पतालनमा ल्याएको थियो । उहाँलाई गत अगस्ट १० मा बिहान हृदयघात भएको थियो, त्यसपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो ।

उहाँको विगत ४२ दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो । डाक्टरहरूले उहाँको टाउकोको सिटी स्क्यान गर्दा मस्तिष्कको एक भागमा सुन्निएको बताएका थिए । अस्पतालमा राजुको एन्जियोप्लास्टी गरिएको थियो, जसमा मुटुको ठूलो भागमा शतप्रतिशत ब्लकेज भेटिएको थियो । राजुका परिवारमा श्रीमती शिखा, छोरी अन्तरा, छोरा आयुष्मान हुनुहुन्छ ।

कानपुरको नयापुरवामा २५ डिसेम्बर १९६३ जन्मिनुभएका राजुले सन् १९९३ मा कमेडीको दुनियाँमा प्रवेश गर्नुभएको थियो । उहाँ सन् १९८० मा कानपुरबाट मुम्बई आउनुभएको थियो । उहाँ सन् २०१४ मा भाजपा (भारतीय जनता पार्टी) मा प्रवेश गर्नुभएको थियो । श्रीवास्तव उत्तर प्रदेश फिल्म विकास परिषद्को अध्यक्ष पनि हुनुहुन्थ्यो ।

श्रीवास्तव सन् २००५ मा ‘द ग्रेट इण्डियन लाफ्टर च्यालेन्ज’ मा सहभागी भएर चर्चामा आउनुभएको थियो । ‘गजोधर भैया’को भूमिकामा उहाँ निकै चर्चित हुनुभयो । श्रीवास्तवले सामान्य भारतीयको जीवनबाट ती पक्षहरू उठाउनुहुन्थ्यो, जसमा सबै हाँस्न बाध्य हुनेगर्थे ।

राजुले केही चलचित्रमा पनि अभिनय गर्नुभएको छ । उहाँको चलचित्र ‘तेजाब’बाट बलिउड यात्रा सुरु भएको थियो । यसपछि उहाँले ‘मैंने प्यार किया’, ‘बाजीगर’, ‘आमदनी अठन्नी खर्चा रुपैयाँ’, ‘बिग ब्रदर’, ‘बम्बे टू गोवा’लगायत चलचित्रमा महत्वपूर्ण भूमिका निभाउनुभएको छ । उहाँले आफ्नो करियरमा १६ चलचित्रमा र १४ टिभी शोमा काम गर्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?