अर्थतन्त्र सुधारका लागि उत्पादनमा जोड

Read Time = 4 mins

काठमाडौं । विश्व बैंकले अर्थतन्त्र सुधारका लागि नेपालले स्वदेशी उत्पादनमा विस्तार गर्नुपर्नेमा जोड दिएको छ । विश्व बैंकका प्रमुख अर्थशास्त्री डा. हान्स टिमरले उत्पादन विस्तारसँगै स्रोत परिचालन गरी साना तथा मझौला व्यवसाय प्रवद्र्धन गर्नुपर्ने सुझाव दिनुभएको हो ।

नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघद्वारा विश्व बैंकसँगको सहकार्यमा आयोजित वस्तुको मूल्य र आर्थिक विकाससम्बन्धी अन्तरक्रिया बैठकमा टिमरले दक्षिण एशियाले स्रोत साधनको पर्याप्त सदुपयोग गर्दै विश्वस्तरमा पनि भइरहेको मूल्यवृद्धिको यथार्थलाई बेवास्ता नगरी तत्कालका लागि स्वदेशी उत्पादनमा वृद्धि गरेर परिस्थिति समायोजन गर्नुपर्ने बताउनुभयो ।

विश्व बैंकका प्रमुख अर्थशास्त्री टिमरले जीविकोपार्जनका लागि घरपरिवारलगायत समष्टिगत आर्थिकस्तर र व्यापारस्तरमा लचिलोपन बढाउन आवश्यक रहेको बताउनुभयो । आयात बढ्दै गएको अवस्थामा पनि नेपालले वैदेशिक स्रोतसाधनमा राम्रो पहुँच राख्ने भएकाले हाल सोचे जस्तो अवस्था नरहेको भन्दै टिमरले संघीय सरकारका विभिन्न स्थानीय तहमा उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गरी राजस्व परिचालनमा जोड दिनुपर्ने बताउनुभयो ।

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले विश्व बैंकले नेपाललाई दिँदै आएको ऋण र अनुदान बैंक तथा वित्तीय संस्थामार्फत् उपलब्ध गराउनुपर्ने बताउनुभयो । जसबाट तरलताको समस्या न्यूनीकरण भई बजारमा स्थायित्व ल्याउने, बजारमा मूल्य स्थिरता हुने र व्यावसायिक वातावरणमा सुधार हुने उहाँको भनाइ थियो । दिगो आर्थिक विकास र उदीयमान संकटको सामना गर्न साना तथा मझौला व्यवसाय लक्षित कर्जा बैंक वित्तीय संस्थाबाट प्रवाह गर्नुपर्ने पनि गोल्यानले बताउनुभयो । नेपाल आर्थिक संघका कार्यकारी समिति सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. पोषराज पाण्डेले व्यापारघाटा, कृषि क्षेत्रको वृद्धि, सामाजिक सुरक्षा सञ्जाल, वित्तीय घाटालगायतका समस्याबारे चर्चा गर्नुभयो ।

कार्यक्रममा विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि कन्ट्री म्यानेजर लाडा स्ट्रेलकोवास, विश्व बैंक नेपाल कार्यालयका वरिष्ठ अर्थशास्त्री एलिस जे बु्रक्स, माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि कन्ट्री इकोनोमिस्ट तथा कार्यक्रम प्रमुख डा. ते हृयुन लीलगायत ५२ जनाको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?