ओलीको शीतल छहारी पाउने आशमा एमाले प्रवेश गरेँः पूर्वमहानिरीक्षक खनाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश गृनुभएकाे छ । बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्दै उहाँले अध्यक्ष केपी ओलीको शीतल छहारी पाउने विश्वासमा पार्टी प्रवेश गरेको बताउनुभयाे ।

आफू प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेर आईजीपीबाट अवकाश पाएको बताउँदै उहाँले ओली गृहमन्त्री हुँदा आफू इन्स्पेक्टर रहेको बताउनुभयाे ।

देश, जनता र सत्यको पक्षमा ओली उभिने नेताको रूपमा आफूलाई पहिल्यै लागेको खनालको भनाइ छ । आफूमाथि तत्कालीन प्रहरी प्रमुखले गरेको अन्यायबारे बल्खुस्थित एमाले पार्टी कार्यालयमा पुगेर जानकारी गराउँदादेखि नै ओली सत्यको पक्षमा उभिने नेताको रूपमा आफूले बुझेको पूर्वमहानिरीक्षक खनालले बताउनुभयाे ।

विभिन्न समूह तथा पार्टीका नाममा भएका आपराधिक गतिविधि नियन्त्रणमा पनि आफू प्रधानमन्त्री हुँदा ओलीले काम गरेको बताउँदै उहाँले सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको बताउनुभयाे । साथै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि शान्न्तिपूर्ण राजनीतिमा ल्याएका ओली जस्ता नेता हामीले अर्को पाउन नसकेको उहाँले बताउनुभयाे ।

खनाल जसपा सांसद सुरेन्द्र यादव अपहरण काण्डमा मुछिनुभएकाे थियाे । जनकपुरबाट यादवलाई खनाल, महेश बस्नेत समूहले गाडीमा हालेर काठमाडौंको मेरियट होटलमा राखेको जसपाले आरोप लगाएको थियो ।

खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरी, २०६४ मा सर्लाही-१ बाट निर्वाचित संविधानसभा सदस्य तथा नेकपा (एस)का केन्द्रीय सदस्य प्रकाश पाख्रिन पनि एमाले प्रवेश गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?