राजेन्द्र र आनन्द पहिलो

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गोड स्पिनका राजेन्द्र कपाली र ललितपुरका आनन्द धाक्वा केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा पहिलो हुनुभएको छ । पुरुष भेट्रान सिंगल्सको ५० वर्षमाथि राजेन्द्र र ६० वर्षमाथि आनन्द पहिलो हुनुभएको हो ।

काठमाडौं खेलमण्डल (केकेएम)/न्युरोड टिम (एनआरटी) द्वारा संयुक्त आयोजित प्रतियोगिताको ५० वर्षमाथि फाइनलमा राजेन्द्रले एनिज पिङपोङ क्लबका कपुर शर्मा पौडेललाई ११-८, ८-११, १२-१० र ११-३ को सेटमा पराजित गर्नुभयो । ललितपुरका किरण व्यञ्जनकार र एनिजका प्रकाश धाक्वा तेस्रो हुनुभयो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ६० वर्षमाथि फाइनलमा आनन्दले आदर्श विद्या मन्दिर (एभिएम) का मदन आचार्यलाई ११-२, ११-४ र ११-७ को सोझो सेटमा हराउनुभयो । डिल्लीबजारका पुण्य पौडेल र कान्तिपुर भ्याली पिङपोङ क्लबका जगदीश्वरप्रसाद जोशी तेस्रो बन्नुभयो ।

जुनियर गल्र्स यू-१९ सिंगल्समा मोर्डन कलेजकी दिया देउलाले नेपाल आर्मीकी सुस्मिता खड्कालाई १७-१५, १४-१२ र ११-७ तथा एपिएफकी वियंका राईले केकेएम/एनआरटिकी अञ्जु सुवाललाई ११-८, ११-७ र ११-६ को सिधा सेटमा पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गर्नुभयो । सोही स्पर्धाको ब्वाइजमा मकवानपुरका विशाल गोले, केकेएम/एनआरटीका धनञ्जय दाहाल र हिमाल विष्ट तथा एपिएफका रुविन महर्जन सेमिफाइनलमा पुग्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?