पाल्पाका नौ सय उम्मेदवारलाई १६ करोड बढी जरिवाना

हिमालय टाइम्स
Read Time = 3 mins

रामचन्द्र रायमाझी/हिटा
पाल्पा । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ को खर्च विवरण नबुझाउने पाल्पाका ९०१ जना उम्मेदवारलाई जरिवाना तोकेको छ । जसअनुसार नगरपालिकाका प्रमुख/उपप्रमुख २० जना, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष ४९ जना, नगरका वडाध्यक्ष/सदस्य २७५ जना र गाउँपालिकाका वडाध्यक्ष/सदस्यहरू ५५५ जनालाई जरिवाना गरिएको हो । उनीहरूलाई आयोगले १६ करोड ४७ लाख ५० हजार जरिवाना तोकेको छ । उक्त जरिवानाअनुसार नगरप्रमुख र उपप्रमुखका उम्मेदवारबाट ९० लाख, वडाध्यक्ष र सदस्यका उम्मेदवारबाट पाँच करोड ५२ लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारबाट एक करोड ७१ लाख ५० हजार र वडाध्यक्ष, सदस्यका उम्मेदबारबाट आठ करोड ३४ लाख जरिवाना संकलन हुनेछ ।

स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार भई कानुनबमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा बिलम्ब गरी बुझाउनेहरूउपर स्पष्टीकरण पेश गर्न आयोगको मिति २०७९ साउन ३१ को निर्णयबमोजिम भदौ १ गते गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो । सूचनाबमोजिम सात दिनभित्र स्पष्टीकरण पेश नगरेको तथा प्राप्त स्पष्टीकरणको बेहोरा चित्तबुझ्दो नदेखिएका आधारमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम निर्वाचन आयोग ऐनको दफा २६ उपदफा (१) बमोजिम जरिवाना गरेको आयोगले जनाएको छ ।

आयोगले नगरपालिका प्रमुख र उपप्रमुखको हकमा चार लाख ५० हजार, वडाध्यक्ष र सदस्यहरूको दुई लाख, गाउँपालिका अध्यक्ष-उपाध्यक्षको तीन लाख ५० हजार र वडाध्यक्ष तथा सदस्यहरूको एक लाख ५० हजार जरिवाना निर्धारण गरेको छ । निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । त्यस अवधिभित्र विवरण नबुझाउनेलाई आयोगले कारबाही गर्ने निर्वाचन आयोगले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?