बुटवल उपमहानगरद्वारा बसपार्कमा सहायता कक्ष स्थापना

हिमालय टाइम्स
Read Time = 2 mins

चन्द्रकान्त खनाल/हिटा
बुटवल । बुटवल उपमहानगरपालिकाले चाडबाडलाई ध्यानमा राखेर बुटवलस्थित नयाँ बसपार्कमा सहायता कक्ष स्थापना गरेको छ । चाडबाडको समयमा यात्रुहरू अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्यसम्बन्धी समस्या हुनसक्ने भएकाले बिहीबारदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो ।

सहायता कक्षबाट यात्रुहरूले स्वास्थ्य चेकजाँच, परामर्श, केही अत्यावश्यक औषधि, मास्कजस्ता सुविधा पाउने शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो । उहाँका अनुसार बसपार्कमा बुटवल उपमहानगरपालिकाले स्वास्थ्य सहायता, यात्रु सहायता र सरसफाइसम्बन्धी युनिट परिचालन गरेको छ । ‘हामीले बसपार्कमा आउने यात्रुको स्वास्थ्य परीक्षण, यात्रुलाई परेका समस्या समाधान र बसपार्कभित्रको सरसफाइ गर्ने कामको सुरुवात गरेका छौं,’ उहाँले भन्नुभयो, ‘यी तीनवटा युनिट चाडपर्वभर निरन्तर बसपार्कमा रहनेछन् र आवश्यक समन्वय, सहकार्यको काम गर्नेछन् ।’

उहाँले चाडबाडमा यात्रुहरूको भिडभाड बढी हुने र बसपार्कभित्र फोहोरसमेत बढ्ने भएकाले नियमितरूपमा औषधि छर्ने कामलाई पनि निरन्तर अघि बढाएको बताउनुभयो ।

कोभिड-१९, डेंगु र अन्य श्वासप्रश्वासबाट सर्ने रोगलाई ध्यानमा राखेर मास्क लगाउनका लागि प्रेरित गर्ने र स्वास्थ्य सचेतना फैलाउने काम गर्नका लागि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सहायता कक्षमा कर्मचारी खटिने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । उहाँले बसपार्कमा आएर अलपत्र परेकाको उद्धार तथा घरसम्म पुग्न बेखर्ची भएकाहरूलाई अवस्था हेरेर सहजीकरण र सहायता गर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?