तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार निरौलासहित ६ जनाविरुद्ध सडक निर्माणका लागि विनियोजित बजेट हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्लाको खाँदबारी नगरपालिका-६ स्थित हिगुवा महानन्द चोक हुँदै थलेडाँडा-बर्खेडाँडा सडक निर्माणका लागि आव २०७४÷७५ मा विनियोजित तीन लाख ७४ हजार १२७ रुपैयाँ बजेट काम नै नगरी हिनामिना गरेको आरोपमा अख्तियारले प्रमुख प्रशासकीय अधिकृत निरौला, इञ्जिनियर सुरज श्रेष्ठ र सब-इञ्जिनियर मनोजकुमार चापागाईँ तथा उपभोक्ता समिति अध्यक्ष भुवननाथ अधिकारी, सचिव गोपालबहादुर थापामगर र कोषाध्यक्ष मेनुका तामाङविरुद्ध मुद्दा दायर गरेको हो । आरोपित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरौला कञ्चनपुरको महेन्द्रनगरस्थित नगरविकास कोषको रकम हिनामिना प्रकरणमा समेत मुछिएका आरोपित हुन् ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सडक निर्माण नै नगरी उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न भएको नक्कली विवरण तयार पारेर रकम हिनामिना भएको अनुसन्धानबाट खुलेको छ । काम नगरी नापी किताब, स्वीकृत सम्झौता, बैंक स्टेटमेन्ट, बिल भरपाइका नक्कली कागजात बनाएर रकम भुक्तानी भएको खुलेको छ ।

अख्तियारले निरौला, श्रेष्ठ र चापागाईंविरुद्ध हिनामिना भएको रकमलाई बिगो कायम गरी बिगो बराबर जरिवाना असुल तथा कैद सजाय मागदाबी लिएको छ । कामै नगरी काम भएको भनी नक्कली कागजात तयार पारी सरकारी रकम हिनामिना गरेको कसुरमा पनि अख्तियारले आरोपित तीन कर्मचारीलाई थप सजाय हुने माग दाबी लिएको छ ।

अख्तियारले उपभोक्ता समितिका अध्यक्ष अधिकारी, सचिव थापामगर र कोषाध्यक्ष तामाङविरुद्ध पनि तीन लाख ७४ हजार १२७ रुपैयाँ बिगो कायम गरी बिगो बराबर नै जरिवाना गर्नुपर्ने मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको छ । ‘सडक मर्मत कार्यमा वास्तविक रूपमा भए गरेको कार्यभन्दा बढी कार्य भए गरेको’ भनी कर्मचारी र उपभोक्तासमितिको मिलेमतोमा बजेट हिनामिना भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?