डा. केसीको अनशन र सरकार

हिमालय टाइम्स
Read Time = 7 mins

डाक्टर गोविन्द केसी अहिले अनशनरत हुनुहुन्छ । स्वास्थ्य क्षेत्रमा विभिन्न सुधारको माग गरेर उहाँ यसरी अनशनमा बस्नुभएको हो । संघीय राजधानी तथा देशका विभिन्न ठाउँहरूमा उहाँले यसपूर्व पनि यस प्रकारका अनशनहरू गर्नुभएको छ । यो उहाँको बीसौँ अनशन हो । उहाँ अनशनमा बस्नुभएको आज १२औँ दिन बितिसकेको छ । यसपटक उहाँ धनगढीमा अनशनमा बस्नुभएको थियो । यसपूर्व त्यति धेरै पटक अनशन बस्नुभएका डा. केसीसँग तत् तत् सरकारहरूले सम्झौता गर्दै उहाँको अनशन स्थगित गराउने कार्य गर्दै आएका थिए तर सम्झौता कार्यान्वयन भने गरिँदैनथ्यो । जसले गर्दा सरकारले पटक-पटक आफूलाई झुक्याएको भनेर डा. केसी पुनः अनशन बस्नुभएको हो ।

स्वास्थ्य क्षेत्रमा रहेका बेथिति, विकृति तथा विसंगति हटाउनुपर्ने उहाँका मागको कार्यान्वयनप्रति सरकारले चासो नदेखाएका कारण उहाँले पुनः अनशन गर्नु परेको हो । उहाँले देशका सरकारी अस्पतालमा बेड अनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पतालको स्तर वृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वासथ्यसेवा निःशुल्क गरिनुपर्ने, सरकारले तोकेको सूची अनुसारका औषधिहरू निःशुल्क उपलब्ध हुनुपर्ने मापदण्डविपरीत खुलेका निजी अस्पतालहरू बन्द गराइनुपर्ने लगायत माग राख्दै आउनुभएका केसी र सरकारबीच धेरै पटक सम्झौता भए पनि ती सम्झौता कार्यान्वयनमा आएनन् । समस्या पटक–पटक दोहोरिए, कहिल्यै समाधान आएन ।

यसबाट हाम्रो सरकारको अकर्मण्यता स्वतः नै झल्कन पुगेको छ । कुनै एक व्यक्तिले यति धेरै पटक अनशन गर्नुपर्ने अवस्था आउनु नै दुःखद् हो । पहिलोपटक पूरा गर्छु भनेर कबोल गरिएका उहाँमा माग पूरा नगर्नाले नै यसरी पटक–पटक उहाँले अनशनमा बस्न बाध्य हुनुपरेको हो । यसपूर्व उहाँ अनशन बस्ता सरकारले कुनै चासो नदेखाएको कारण उहाँको ज्यान जोखिममा पर्ने सम्भावना देखिएकाले विभिन्न अधिकारकर्मी, मानव अधिकारवादी, पेशागत संघसंगठन, विपक्षी दलहरूको विशेष आग्रहमा उहाँले अनशन तोड्नुभएको कुरा स्मरणीय हुन आउँछ ।

उहाँ बिनास्वार्थ चिकित्सा क्षेत्रमा सुधारको माग राखेर पटक–पटक अनशन बस्दै आउनुभएका एक सन्त सत्याग्रही हुनुहुन्छ । उहाँको स्वार्थ भनेको गरिबहरूले पनि चिकित्सा विज्ञानको अध्ययन गर्न पाऊन् भन्ने भावना हो र अहिलेसम्म सम्पन्नहरूको मात्र पहुँँच भएको यस क्षेत्रमा पछाडि परेको क्षेत्र, जात तथा आर्थिक रूपमा विपन्नसमेत व्यक्तिको सहज पहुँच स्थापित गराउन उहाँ निरन्तर संघर्षरत हुनुहुन्छ । डा.गोविन्द केसीका हकमा बेलाबेलामा बनेका सरकार ढुंगो जस्ता भएर बसेकै हुन् तर जनताको चौतर्फी दबाब थेग्न नसकेर सरकार उहाँसँग वार्तामा बस्नुपरेको पनि यथार्थ थियो । डा. केसीको हकमा अहिले पनि सरकार सकेसम्म उहाँका मागप्रति बेवास्ता गरेर बस्नै खोजेको छ नत्र अनशन आजसम्म लम्बिने नै थिएन ।

सरकार चलाएर बस्नेहरूले चौतर्फी ध्यान दिनुपर्ने हुन्छ । त्यसो गर्न वर्तमान सरकार पनि सकिरहेको छैन । उहाँको अनशनको आज १३ दिन भइरहेको छ तर सरकार चुनावलगायत कार्यतर्फ मात्र ध्यान केन्द्रित गरेर बसेका कारणले हुनसक्छ डा. गोविन्द केसीका अनशन जस्ता विषयलाई गौण ठानिरहेको छ । उहाँलाई उपचार गर्नका लागि नेपाली सेनाको स्काई ट्रक उहाँलाई लिन धनगढी पठाइएको थियो तर उहाँले आउन मान्नुभएन र उक्त विमान उहाँलाई नलिई फर्कियो । उहाँको स्वास्थ्यमा समस्या आएपछि उहाँका चिकित्सक साथीहरूको सल्लाह र प्रयासमा हाल उहाँ काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जममा अनशनरत अवस्थामै उपचाररत हुनुहुन्छ ।

यस्तो अवस्थाको सिर्जना सरकारको अकर्मण्यताकै कारणले भएको हो । चिकित्सा शिक्षामा लगानी गर्ने निजी स्तरका व्यक्ति वा व्यक्ति समूह सरकारमा रहिसकेका वा सरकारमा रहेको व्यक्तिहरूकै मानिस भएका कारणले यस्ता समस्या आएका हुन् । अर्कोतिर यो आयआर्जनको राम्रो व्यवसायका रूपमा रहेको छ । त्यसकारणले कमाउनेहरूले राम्रो कमाइ गर्ने र पढ्नेहरूले पनि निकै मोटो रकम तिर्नुपर्ने हुन्छ । यसैले समस्या यहीँनेर सिर्जना भएको हो । डा.केसीले यस्तो हुनुहुँदैन गरिबहरूले पनि पढ्नसक्ने अवस्थाको सिर्जना हुनुपर्छ भनेर आवाज उठाउने गर्नुभएको छ । यसका साथै उहाँले देशको राजधानीमा मात्र नभएर बाहिरका विभिन्न ठाउँहरूमा पनि सामान्य मानिसले पढ्न सक्ने गरी चिकित्सा शास्त्रको पठनपाठन हुनुपर्छ भन्दै आउनुभएको छ । सरकारले उहाँका मागप्रति सकारात्मक दृष्टिकोण राखी यसतर्फ ध्यान दिनु जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?