राष्ट्रपतिबाट संविधानको पालना हुन सकेन : अध्यक्ष प्रचण्ड

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधानको पालना हुन नसकेको आरोप लगाउनुभएको छ ।

पार्टी निकट अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीको तेस्रो राष्ट्रिय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रपतिबाट भएको यो कार्यलाई सामान्यरुपमा लिन नमिल्ने धारणा पनि राख्नुभयो ।

अध्यक्ष दाहालले मुलुकमा ऐतिहासिक जनआन्दोलन र जनयुद्धका उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै क्रियाशील रहेको बताउनुभयो ।

उहाँले गत वर्ष संसद् विघटनबाट सुरु भएको प्रतिगमन त्यतिबेलाका लागि परास्त गरिए पनि त्यो अझै नरोकिएको समेत बताउनुभयो । यसका विरुद्धमा आन्दोलनको तयारी गर्न अध्यक्ष प्रचण्डले किसानलाई आग्रह गर्नुभयो ।

“हामीले आवाज उठाएनाँै भने प्रतिगमनको फँडाले फेरि डस्न सक्छ, किनकी यसले ऐतिहासिक उपलब्धिविरुद्ध रातदिन प्रहार र षडयन्त्र गरिरहेको छ”, उहाँले भन्नुभयो । यसका साथै अध्यक्ष दाहालले प्राप्त उपलब्धिलाई सिध्याउन नेतृत्वमाथि प्रहार गर्ने क्रममा आफूमाथि भ्रष्टाचारका साथै अन्य खालका झुटा प्रचार केन्द्रित गरिएको बताउनुभयो ।

“भारत गएका बेला हुँदै नभएको भेटलाई पनि भेटभयो भन्दै नितान्त झुटा प्रचार गरिएको छ”, अध्यक्ष दाहालको भनाइ थियो । आफूले दुई पटक सरकारको नेतृत्व गर्दा ‘भ्रष्टाचार भयो’ भन्ने अवसर कसैलाई नदिएको भन्दै उहाँले अहिले करोडौँ खर्च गरेर आफूविरुद्ध प्रचार केन्द्रित गरेको बताउनुभयो ।

अध्यक्ष दाहालले वामपन्थी शक्तिको एकताका लागि आफू क्रियाशील रहिरहेको जानकारी पनि सम्बोधनका क्रममा दिनुभएको थियो । भेलामा नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासङ्घका नेता बलराम बाँस्कोटाले दाहाललाई वामपन्थी पार्टीबीच एकता गर्ने कार्यमा खुट्टा नकमाउन आग्रह गर्नुभएको थियो । भेलामा महासङ्घ आबद्ध २४ वटा किसान सम्बद्ध घटक सङ्गठनको सहभागिता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?