सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्छ : अर्थमन्त्री शर्मा

Read Time = 3 mins

कैलाली । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो औँल्याउनुभएको छ ।

बिमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्नुहुँदै उहाँले यहाँको बिमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नेपालभर समग्रमा बिमाको पहुँच ४१।२ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशमा १९।१७ प्रतिशत मात्रै छ । यसलाई वृद्धि गरिनुपर्छ ।”

उहाँका अनुसार देशभरि विभिन्न बिमा कम्पनीका तीन हजार तीन सय ६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा तीन सय २७ मात्रै छन् । “अहिले बिमा संस्थानले दिएको प्रत्यक्ष बिमा सन्दर्भका रोजगारी १२ हजार ३१ को सङ्ख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा छ सय ८७ मात्रै रहेको छ”, मन्त्री शर्माले भन्नुभयो, “यसबाट के देखाउँछ भने सुदूरपश्चिम प्रदेश बिमाको पहुँचबाट अलि टाढाजस्तो छ ।”

अर्थमन्त्री शर्माले लगानीको जोखिम न्यूनीकरण गर्ने मुख्य काम बिमाका रहेको स्पष्ट पार्दै बिमाद्वारा ठूला विपत्तिको जोखिम पनि न्यूनीकरण गर्न सकिने छ भन्नुभयो । लगानीकर्तालाई, प्रयोगकर्तालाई र उत्पादनकर्तालाई ढुक्क भएर आफ्नो क्षेत्रमा काम गर्ने वातावरण बनाउने बिमाको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले विभिन्न जोखिमको व्यवस्थापनमा बिमाले ठूलो सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै क्षेत्रमा यो बिमा जानु पनि जरुरी छ ।” भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जोखिम अन्त्य गर्नको लागि बिमालाई व्यापकरुपमा लग्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिम न्यूनीकरण गर्ने संयन्त्रको रुपमा बिमालाई लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो काम प्रदेश सरकारबाट सुरु गर्नुपर्दछ ।”
-रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?