महिलामा पिसाब चुहिने समस्या

✍️ प्रा.डा. अर्जुनदेव भट्ट

विषय प्रारम्भ
शरीरको बनावट नै यस्तो छ कि पिसाबथैलीको उपयुक्त समय र वातावरण नभएसम्म मूत्रत्याग नगरेर बस्न सक्दछ । तर, निकै महिलाहरूमा पिसाब रोक्न नसक्ने अवस्थाले निकै असजिलो परिस्थिति उत्पन्न गरेको हुन्छ । महिलाहरूले पिसाब रोक्न नसक्नुको पछाडि विभिन्न कारण हुन सक्दछन् ।

मलद्वार तथा मूत्रथैली खुम्च्याउने मांसपेशी कमजोर हुनु
यो अवस्थासँग जुध्नुपर्ने महिलाहरूले पिसाबथैलीमा प्रशस्त पिसाब जम्मा भएको क्षणमा खोक्दा, हाछ्युँ गर्दा, टुक्रुक्क बस्दा, कुनै बोझयुक्त सामानलाई निहुरिएर उठाउँदा वा यौनसम्बन्ध गर्दा जब पेटभित्र एक्कासी चाप बढ्छ, त्यस्तो अवस्थामा अचानक पिसाब चुहिएको महसुस गर्दछन् ।

यो अवस्था नआओस् भन्न केही महिलाहरू अगाडि नै सतर्क भइरहने वा पटक-पटक थोरै पिसाब हुँदा पनि पिसाब फेर्ने गर्दछन् । फलस्वरूप उनीहरू यस्तो बानीले गर्दा केही उदास, तनावपूर्ण वा आफूलाई अस्वस्थ महसुस गर्दछन् । पिसाब रोक्न नसक्ने महिलामध्ये करिब ५० प्रतिशत मलद्वार तथा मूत्रथैली खुम्चिने, मांसपेशीको कमजोरीबाट पीडामा परेका हुन्छन् ।

पिसाबथैलीको मांसपेशी अत्यधिक सक्रिय हुनु
यस्तो अवस्था भएका महिलाहरू पिसाब लागेको महसुस गरेपछि पिसाब फेर्न उपयुक्त ठाउँ पुग्दानपुग्दै केही वा सम्पूर्ण पिसाब चुहिएको पाउँछन् । सामान्य अवस्थामा मूत्रथैलीले पिसाब सञ्चय गर्ने र उपयुक्तमात्रामा जम्मा भएको पिसाबलाई वातावरण अनुकूल भएपछि ठिक्कसँग निखार्ने गर्दछन् ।

पिसाबथैलीको मांसपेशी विभिन्न कारणबाट अति उत्तेजित भएको अवस्थामा थैलीले थोरै पिसाब हुँदा पनि निखार्न खोज्ने र उपयुक्त ठाउँ नपुग्दै चाँडै नै खुम्चिने हुँदा पिसाब जथाभावी चुहिने हुनसक्छ । पिसाबथैलीले दुई विपरीत क्रिया ‘थुपार्ने र निखार्ने’ गर्नुपर्ने हुँदा त्यसका निमित्त थैलीको मांसपेशी, त्यसमा भएका स्नायु मस्तिष्क इत्यादिले सामञ्जस्यता अपनाउनुपर्ने हुन्छ ।

मूत्रसंक्रमण, स्नायु कमजोरी, थैलीको अर्बुद रोग, महिलाको आतंकित मानसिक अवस्था इत्यादि भएमा पिसाब रोक्न प्रबल इच्छा हुँदा पनि त्यो असम्भव हुन सक्दछ र पिसाब चुहिने हुन्छ ।

मिश्रित कारण
यो अवस्था भएका महिलाहरूमा खोक्दा पनि पिसाब चुहिने र पिसाब फेर्न इच्छा भएपछि जाँदाजाँदै ठाउँमै नपुग्दा पनि पिसाब चुहिने हुन्छ । यस्ता बिरामीहरू पिसाब चुहिने डरले कतै जान नमान्ने, बारम्बार पिसाब फेर्नुपर्दा पानी वा तरल पदार्थको सेवन कम गर्ने उपायको खोजीमा हुन्छन् । पिसाब रोक्न नसक्ने महिलामध्ये मिश्रित कारणबाट पिसाब चुहिने समस्याले करिब ३० प्रतिशत पीडामा परेका हुन्छन् ।

पिसाब चुहिने समस्याको पहिचान
यो समस्या भए/नभएको महिलाहरूसँग सोधपुछ गरेर सहजै थाहा हुन्छ । तर, प्रायजसो यस्तो अवस्थाबारे भनिरहन अप्ठ्यारो मानेर धेरै महिलाहरू यो समस्यालाई एउटा सामान्य स्थितिकै रूपमा स्वीकार गर्दछन् । उनीहरूलाई यो स्थिति सामान्य होइन र यसबाट मुक्ति पाउन सकिन्छ भनेर जानकारी दिनु अत्यन्त आवश्यक छ । पिसाब चुहिन्छ भन्ने थाहा पाएपछि यो के कारणले हुने गर्दछ भन्ने कारण यकिन गर्नु महत्वपूर्ण हुन्छ ।

रोगको कारण पहिचानको सिलसिलामा सिस्टोकोपी, युरोफलोमेट्री तथा युरोडाइनामिक्सजस्ता निकै जटिल जाँच पनि गर्नुपर्ने हुन सक्दछ । सुरुमा सामान्य पिसाब, रगतको परीक्षण र युएसजी गर्नु अनिवार्य हुन्छ ।

सानो पेटको जालो र मलद्वार खुम्च्याउने मांसपेशी कमजोर भएको स्थितिबारे धेरै ज्ञान सामान्य जाँचबाट पनि पाउन सकिन्छ । त्यस्तो अवस्थामा मूत्रथैली र मूत्रनली अस्थिर हुने भएकाले खोक्दा मूत्रथैलीको मुख खुलेर पिसाब चुहिएको सहजै देख्न सकिन्छ ।

पिसाब चुहिने समस्याको उपचार
सर्वप्रथम आफ्नो शरीरको तौल अग्लाइसँग मेल खाने गरी नियन्त्रण गर्नुपर्दछ । मधुमेह, उच्च रक्तचापजस्ता रोग हुनेले त्यसको विशेषज्ञसँग परामर्श लिएर उपचार गर्नुपर्दछ । मूत्रसंक्रमण भएको खण्डमा यौनसहभागीको पनि पिसाब र वीर्य जाँच गराएर संक्रमण निराकरण गर्नुपर्छ । निरन्तर व्यायाम गर्ने र मलद्वार, पिसाबथैली था योनी खुम्च्याउने मांसपेशीको कसरत निरन्तर गर्नुपर्छ ।

यी सबै तरिका अपनाउँदा पनि पिसाब चुहिने समस्यामा अपेक्षा गरेअनुरूप फाइदा देखा नपरे औषधि तथा शल्यक्रियाबाट रोगको निराकरण गर्नुपर्छ । शल्यविधिबाट मलद्वार, मूत्रथैली तथा योनी खुम्च्याउने मांसपेशीको कमजोरीसँग सम्बन्धित पिसाब चुहिने रोग निको पारिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?