‘मिहिनेती र सिर्जनशील व्यक्तिका लागि पत्रकारितामा राम्रै अवसर छ’

मनोज जोशी नेपालको टेलिभिजन पत्रकारितामा स्थापित नाम हो । विगत दुई दशकदेखि टेलिभिजनको पर्दामा समाचार वाचन, सम्पादन तथा विषय विज्ञहरूसँग प्रत्यक्ष अन्तर्वार्ता गर्दै आउनुभएका उहाँ हाल एपिवान टेलिभिजनमा वरिष्ठ टिभी जर्नालिस्टका रूपमा कार्यरत हुनुहुन्छ । हाल उहाँले रक्षा तथा सुरक्षा मामिलामा समाचार लेखन तथा सम्प्रेषण गर्दै आउनुभएको छ ।

जोशी हालैमात्र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको प्रेस काउन्सिल नेपाल सक्रिय पत्रकारिता पुरस्कार २०२२ बाट सम्मानित हुनुभएको छ । यसअघि उहाँले सन् २०१९ मा सेना दिवसका अवसरमा नेपाली सेनाले प्रदान गरेको साहसिक पत्रकारिता अवार्ड र कोरोना भाइरस (कोभिड-१९) को महामारीका बेला सुरक्षाकर्मीको मनोबल उच्च बनाउन समाचारका माध्यमबाट महत्वपूर्ण भूमिका खेलेको भन्दै सन् २०२१ मा नेपाल प्रहरी दिवसमा नेपाल प्रहरी अवार्डबाट समेत सम्मानित हुनुभएको थियो । जोशी स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले प्रदान गरेको विशेष नागरिक सम्मान २०२२ बाट समेत सम्मानित हुनुभएको छ ।

नेपालका स्थापित टेलिभिजन च्यानल कान्तिपुर टेलिभिजन, इमेज च्यानललगायतमा महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका उहाँ सामाजिक कार्यमा समेत सक्रिय हुनुहुन्छ । मिहिनेती र सिर्जनशील व्यक्तिका लागि पत्रकारिता क्षेत्रमा राम्रै अवसर रहेको बताउनुहुने मनोज जोशीसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

कसरी चल्दैछ यहाँको दिनचर्या ?
विशेषगरी टेलिभिजनमा समाचार उत्पादन, समाचार वाचन, अन्तर्वार्ता गरेरै अधिकांश समय बित्ने गर्छ । त्यसबाट बचेको समय घरपरिवारलाई दिन्छु । समय मिल्दा परिवारसँग बाहिर पनि घुम्न जान्छु । अन्य पारिवारिक जिम्मेवारीका कुरा त छँदैछन् । अधिकांश समय कार्यालयमै व्यस्त हुने भएकाले फुर्सदको समय पनि खासै हुँदैन ।

पहिलोपटक टेलिभिजनको पर्दामा कहिले देखिनुभयो ?
करिब दुई दशकअघि मेरो टेलिभिजन पत्रकारिता यात्रा इमेज च्यानल टेलिभिजनबाट सुरु भएको हो । त्यो समयमा एकदम थोरै मिडिया हाउस थिए । मैले काम गरेको संस्था इमेज उपत्यकाबाहेक अन्य ठाउँमा पुग्दैनथ्यो । टेलिभिजनमा काम सुरु गरेको केही समयपछि मेरो कामको मूल्यांकन भयो र म टेलिभिजनको पर्दामा समाचार वाचकका रूपमा देखिन सफल भएँ ।

पहिलो कुन समाचार वाचन गर्नुभएको थियो टेलिभिजनमा याद छ, अनि कस्तो अनुभव भयो ?
याद छ, किन नहुनु नि । मैले पहिलोपटक उपत्यकाका बारेमा लेखिएको १५ मिनेटको समाचार वाचन गरेको थिएँ । त्यो दिन अहिले पनि झलझली सम्झना आउँछ । त्यतिबेला अहिलेको जस्तो प्रविधि थिएन । निकै दुःखका साथ काम गर्नुपथ्र्याे । तर, टेलिभिजनको पर्दामा देखिने कुरा धेरै ठूलो थियो । त्यसैले खुसी भएर काम गरिन्थ्यो । टेलिभिजनको पर्दामा देखिन थालेपछि धेरैले चिन्न थाले । मेरो कामको प्रशंसा हुन थाल्यो, त्यसले अझ हौसला थप्दै गयो र यो क्षेत्रमा अझ केही गरौं भन्ने लाग्यो ।

यहाँलाई यो क्षेत्रमा लाग्ने प्रेरणा कसरी प्राप्त भयो ?
म बाल्यकालदेखि नै समाजमा केही फरक गर्नुपर्छ भन्ने सोच्थें । समाज परिवर्तनका लागि भूमिका खेल्न सकौं भन्ने लाग्थ्यो । हुर्किंदै र बुझ्दै जाँदा पत्रकारिताको माध्यमबाट पनि समाजमा सकारात्मक काम गर्न सकिन्छ र समाजलाई परिवर्तनको दिशामा लैजान योगदान गर्न सकिन्छ भन्ने लाग्यो । त्यसमाथि पनि हाम्रो समाजमा टेलिभिजनको निकै ठूलो प्रभाव थियो । टेलिभिजनमा बोलेका कुराले समाज परिवर्तनमा धेरै ठूलो भूमिका खेल्न सक्थ्यो । त्यसैले यो क्षेत्रलाई रोजेको हुँ ।

तपाईंले सोचेजस्तै पत्रकारिताका माध्यमबाट समाज परिवर्तन गर्न सम्भव रहेछ त ?
समाजमा रहेका कुरीति, कुसंस्कार, अन्याय, अत्याचारलाई अन्त्य गर्न पत्रकारिताले धेरै ठूलो भूमिका खेलेको छ । समाजको कुरामात्र होइन, समग्र मुलुकमै हुने अनियमितता, भ्रष्टाचार तथा आपराधिक गतिविधि नियन्त्रणका लागि पनि पत्रकारिता क्षेत्रले निरन्तर खबरदारी गर्दै आएको छ । त्यसको प्रभाव पनि पर्ने गरेको छ ।

सूचनाको पहुँच नभएका दूरदराजका क्षेत्रमा समेत सञ्चारमाध्यममार्फत् सूचना पुर्‍याएर आमजनतालाई निरन्तररूपमा सुसूचित गर्ने काम पत्रकारिताले गर्दै आएको छ । सूचना प्रविधिको पर्याप्त विकास नहुँदै सुरु भएको यो यात्रा आज हात–हातमा सूचना प्रविधिको पहुँच भइरहँदासम्म पनि जारी छ । एउटा सञ्चारकर्मीका रूपमा समाज परिवर्तनका लागि गरेको यो एउटा ठूलो योगदान हो ।

नेपालको पत्रकारिताको अवस्थालाई कसरी हेरिरहनुभएको छ ?
मैले बामे सर्दै गरेको नेपालको पत्रकारिता र आज सूचना प्रविधिको उच्चतम प्रयोगको माध्यमबाट भइरहेको पत्रकारिताको अभ्यासलाई नजिकबाट हेर्ने र अभ्यास गर्ने मौका पाएको छु । त्यस हिसाबले नेपालमा पत्रकारिता सुखद चरणबाट गुज्रिरहेको छ । मिहिनेती र सिर्जनशील व्यक्तिका लागि धेरै ठूलो अवसर पनि छ । म जतिबेला पत्रकारिता क्षेत्रमा प्रवेश गरेको थिएँ, त्यतिबेला सीमितमात्र अवसर थियो । प्रविधिको उच्चतम प्रयोग भएको थिएन । सीमित स्रोत र साधनका बीच धेरै काम गर्नुपथ्र्याे । अहिले अवस्था धेरै परिवर्तन भएको छ ।

सूचना प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा पनि धेरै ठूलो परिवर्तन ल्याइदिएको छ । सामाजिक सञ्जालको विकासले यो पेशा अब सूचना प्रदान गर्ने सामान्य माध्यममा मात्र सीमित रहेन । आमपाठकहरूलाई नयाँ–नयाँ र विश्वसनीय सूचना र जानकारी प्रदान गर्नका लागि पत्रकार र सञ्चारमाध्यम पनि अग्रगामी र प्रतिस्पर्धी बन्नैपर्ने अवस्था सिर्जना भएको छ । साथमा यसले अवसरका नयाँ ढोकाहरू पनि खोलिदिएको छ ।

पत्रकारिता क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष पनि त छन् होला नि ?
अवश्य पनि छन् । पछिल्ला दुई दशकको अवधिमा नेपालमा सञ्चारमाध्यमको संख्यात्मक विकासको तुलनामा गुणात्मक विकास हुन सकेको छैन । पत्रकारिताको व्यावसायिक अभ्यासमा अहिले पनि अभाव नै देखिन्छ । पत्रकारिता क्षेत्र व्यावसायिक हुन नसक्दा यसको विश्वसनीयतामाथि पनि प्रश्न उठिरहेका छन् । यसलाई सुधारेर जानुपर्ने आवश्यकता छ ।

पत्रकारितामा व्यावसायिकता किन भएन जस्तो लाग्छ यहाँलाई ?
यसमा दुईवटा पक्ष छन् । पहिलो कुरा पत्रकार आफैं पनि व्यावसायिक हुनुपर्छ । पत्रकारले गरेको एउटा गल्तीले उसको जीवनभर विश्वसनीयतामाथि प्रश्न उठ्छ । अर्काेतर्फ मिडिया सञ्चालकले पनि आफूलाई विश्वसनीय व्यावसायिक बनाउनुपर्छ ।
मिडियामा लगानी गर्ने व्यक्तिले पूर्वाधारसँगै जनशक्तिमा पनि लगानी गर्नुपर्छ । समय अनुकूलको तालिम, प्रविधि र सेवासुविधाले पत्रकारलाई अझ परिष्कृत, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सहयोग पुग्छ । विश्वास र विश्वसनीयतामा टेकेको यो पेशाप्रति पछिल्लो समय जनविश्वास घट्नुको मुख्य कारण भनेकै पत्रकार र सञ्चारगृहले आफ्नो विश्वसनीयतालाई कायम गर्न नसक्नु हो ।

पत्रकारिता क्षेत्रमा लागेर तपाईं कति सन्तुष्ट हुनुहुन्छ ? यस क्षेत्रले तपाईंलाई के दियो ?
सबैभन्दा ठूलो कुरा त पत्रकारिताले समाज परिवर्तन गर्ने मेरो बाल्यकालदेखिको सपनालाई पूरा गरिदिएको छ । त्यसैले म यो पेशाबाट निकै सन्तुष्ट छु । अर्काेतर्फ एउटा पत्रकारका रूपमा मलाई आज समाजमा परिचित गराउने यही पेशा हो । त्यसका अलावा धेरै साथीभाइ कमाएको छु । सामाजिकरूपमा सम्मानित जीवन बिताउन पाएको छु । जीवन सञ्चालनका लागि आवश्यक पर्ने आर्थिक पक्षका लागि पनि यो पेशाले सहयोग गरिरहेको छ । यसभन्दा ठूलो उपलब्धि एउटा व्यक्तिका लागि के हुनसक्छ र ?

आगामी दिनमा पनि यसै क्षेत्रलाई निरन्तरता दिनुहुन्छ वा अरू कुनै योजना छन् ?
मेरो जीवनको महत्वपूर्ण समय यही क्षेत्रमै सक्रिय भएर बित्यो । यस पेशाप्रति मेरो ठूलो लगाव र लगानी पनि छ । त्यसैले यो क्षेत्रबाट अलग्गिएर अरू केही गर्न सकिन्छ जस्तो पनि लाग्दैन । बरु यही पेशालाई अझ कसरी सशक्त र प्रभावकारी बनाउन सकिन्छ भन्नेमै मेरो प्रयास हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?