मकै उत्पादन घटेपछि कृषकलाई पिरलो

हिमालय टाइम्स
Read Time = 7 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । बागलुङको तमानखोला गाउँपालिका-१ सम्मर गाउँका कृषक यस वर्ष निकै मर्कामा परेका छन् । कृषि ज्ञान केन्द्र बागलुङले कृषकलाई नयाँ जातको मकैको बिउ अध्ययनबिनै वितरण गर्दा राम्रो उत्पादन नभएपछि मर्कामा परेका हुन् । गाउँलाई गत वर्ष मकै पकेट क्षेत्र घोषणा गरिएको थियो ।

गणेश जातको मकैको बिउ १७ सय मिटरभन्दा माथिको उचाइमा लगाउनुपर्ने हो तर सम्मर गाउँ १६ सय मिटरको उचाइमा छ । गणेश जातको मकै लगाउने उत्तम उचाईभन्दा होचो क्षेत्रमा बिउ लगाउँदा मकै ढल्ने, राम्रो घोगा नहाल्ने समस्याले उत्पादनमा कमी आएको कृषकको गुनासो छ । यहाँका कृषकले गत वर्षसम्म मनकामना जातको मकै लगाउने गर्थे भने उत्पादन पनि राम्रो गर्दै आएका थिए । ‘यस वर्ष मकैको बिउले नै ठग्यो, कृषि ज्ञान केन्द्रले गणेश जातको मकैको बिउ दियो, यो बिउ १७ सयभन्दा माथिको उचाइमा लगाउनुपर्दो रैछ, यहाँ जम्मा १६ सयको हाराहारी छ, त्यसले गर्दा मकैको बोट फल दिने बेला सबै ढल्यो, बाँकी रहेकोले पनि राम्रो घोगा हालेन,’ स्थानीय कृषक प्रेमबहादुर पुनले भन्नुभयो ‘यसपालि कमै उत्पादनमा निकै कमी आयो, अर्को वर्षदेखि यो बिउ लगाउनै नहुने भो ।’

मकै ब्लगका अध्यक्षसमेत रहनुभएका पुनले गाउँका अधिकांश कृषकले कृषि ज्ञान केन्द्रले वितरण गरेको बिउ लगाएपछि धेरै उत्पादन गर्न सकिने अपेक्षा गरे पनि उत्पादन निकै कम भएपछि निराश हुनुपरेको बताउनुभयो । ज्ञान केन्द्रका प्राविधिकहरूले अर्को वर्षदेखि यो बिउलाई उच्च ठाउँमा पठाउने र यहाँ मनकामना जात नै लगाउन सुझाएको उहाँको भनाइ छ ।

‘मकैको उत्पादन निकै कम भएपछि कृषि ज्ञान केन्द्र बागलुङदेखि सरहरू आउनु भएको थियो, हामीले उहाँहरू समक्ष समस्या सुनायौँ, उहाँहरूले अब योभन्दा माथिको बारीहरूमा गणेश र यहाँ मनकामना जातकै मकै लगाउन सुझव दिनुभएको छ,’ पुनले भन्नुभयो, ‘यस वर्ष धेरै उत्पादन हुन्छ भनेर किसानहरू खुसी थिए, तर अन्तिममा उत्पादनमा निकै कमी आएपछि निराश भएका छन् ।’

स्थानीय कृषक छमप्रकाश पुनले भएभरको सबै बारीमा नयाँ जातको मकै लगाउँदा धेरै नोक्सानी व्यहोर्नु परेको बताउनुभयो । उहाँले ज्ञान केन्द्रले सुरुमै गाउँमा आएर प्राविधिक रूपमा माटो जाँच गरेर बिउ वितरण गरेको भए आफूहरूले धेरै नोक्सानी व्यहोर्न नपर्ने बताउनुभयो ।
‘बिउ वितरण गर्ने बेलामा प्राविधिकहरू आएर यहाँको वस्तु स्थिति, माटो र हावापानी परीक्षण गरेको भए हामीहरूले यति धेरै नोक्सानी भोग्नुपर्ने थिएन, अघिल्लो वर्षहरूमा मनकामना मकै लगाउथ्यौँ, राम्रो उत्पादन भएको थियो,’ उहाँले भन्नुभयो, ‘अब अर्को वर्षदेखि त यो बिउ लगाउँदै नलगाउने, पहिलेको बिउले राम्रो उत्पादन दिएको थियो, त्यसैलाई निरन्तर गर्नुपर्छ ।’

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले सम्मर गाउँ १६ सयभन्दा माथिको उचाइमा रहेको भन्दै बिउको माग गरेको र सोहीअनुसार केन्द्रले बिउ उपलब्ध गराएको बताउनुभयो । उहाँले उत्पादनमा केही कमी आए पनि नयाँ बिउ भएको हुँदा प्राविधिक रूपमा उत्पादनमा खासै कमी नआएका बताउनुहुन्छ । उहाँले यसका लागि धेरै मिहिनेत गर्नुपर्ने भए पनि कृषकले कम श्रम गर्दा पनि उत्पादनमा कमी आएको बताउनुभयो ।

‘नयाँ बिउ हो, केही कमी आउन सक्छ, गणेश जातको मकै गणेश हिमालको नामबाट राखिएको हो, यो १७ सय मिटरभन्दा माथिको ‘हाइट’मा राम्रो उत्पादन हुने हो, कृषकहरूले माग गर्दा निकै उचाइमा छ, हाम्रो ठाउँ भनेर माग गर्नुभयो, हामीले पनि सोहीअनुसार उहाँहरूलाई मकैको बिउ उपलब्ध गरायौँ,’ प्रमुख भट्टराईले भन्नुभयो ‘यसका लागि कृषकले बढी मिहिनेत गर्नुपर्छ, उहाँहरूले कम मिहिनेत गर्नुभयो, कम्पोष्ट मलको आवश्यक हुन्छ, मल पनि कम प्रयोग भएको हुँदा उत्पादन कम भएको हो ।’

भट्टराईले ज्ञान केन्द्रले तालिम दिएअनुसार कृषकले काम नगर्दा उत्पादनमा कमी आएको समेत बताउनुभयो । उहाँले अर्को वर्षदेखि मकामना–३ नै दिने योजना बनाएको बताउनुभयो । त्यो ठाउँमा आगामी वर्षका लागि मनकामना जातकै बिउ प्रास्ताव गरी केन्द्रमा सिफारिस गरेको जानकारी गराउनुभयो । ‘कृषकहरूलाई हामीले तालिम पनि दिएका थियो, हामीले दिएको तालिमअनुसार पनि गर्नु भएनछ, अबको वर्षका लागि त्यस गाउँलाई मनकामना–३ दिने योजना बनाएका छौँ, जस्ताका लागि प्रस्ताव गरी केन्द्रमा सिफारिस भएको छ, उहाँहरूका लागि पहिलेकै बिउ आउँछ, कृषकहरूले पनि कलिकति ध्यान दिनुपर्छ, उहाँहरूको गुनासो आएपछि हाम्रो टोली पनि त्यहाँ पुगेको थियो’ भट्टराईले भन्नुभयो, ‘फल हेरौँ, निकै पोटिलो छ, अब अहिले लगाएको बिउ उच्च क्षेत्रमा पठाउँछौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?