एमालेसहित विचार मिल्ने दलसँग सहकार्य गर्न लोसपाले बनायो वार्ता समिति

गठबन्धनमै सामेल गर्ने देउवाको प्रयास जारी

नारायण भण्डारी
Read Time = 6 mins

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ एमालेलगायत अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्नका लागि वार्ता समिति गठन गरेको छ । लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति शुक्रबार गठन गरेको हो । वार्ता समितिमा वरिष्ठ नेता शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल रहेको अध्यक्ष महन्थ ठाकुरद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

लोसपा र एमालेबीच गठबन्धनका लागि दुई साताअघि प्रयास भए पनि त्यसमा खासै प्रगति हुन सकेको छैन । गठबन्धनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच पटक-पटक भेटवार्तासमेत भइसकेको छ तर कुनै ठोस नतिजा आउन सकेको छैन । गठबन्धनका लागि एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल तथा लोसपाका तर्फबाट सर्वेन्द्रनाथ शुक्लसहितको दुई सदस्यीय कार्यदल गठन गरिएको थियो । एमालेसँग तालमेलका लागि अनौपचारिक रूपमा वार्ता, सम्वाद भइरहे पनि सहज परिस्थिति भने नभएको लोसपाका मधेश प्रदेश सचिव रामविनोद चौधरी बताउनुहुन्छ । नागरिकता विधेयकका कारण एमालेसँग तालमेल वा गठबन्धन नगर्न कार्यकर्ताहरूको चर्काे दबाब रहेको उहाँको भनाइ छ । एमाले सचिव रघुवीर महासेठ भने लोसपासँग गठबन्धन नहुने बताउनुभयो ।

‘आवश्यकताअनुसार कुनै क्षेत्रमा तालमेल गर्ने कुरा अलग हो तर एमालेले कसैसँग पनि गठबन्धन गर्ने निर्णय गरेको छैन ।’ महासेठले हिमालय टाइम्ससँग भन्नुभयो, ‘सत्ता गठबन्धनमा आबद्ध नभएकोसँग तालमेल गर्ने भन्ने कुरा छ । तर, औपचारिक रूपमा लोसपासँग तालमेलको कुरा अझै अघि बढेको छैन ।’ लोसपाले यसअघि सत्ता गठबन्धनमा सामेल हुन लामो समयसँग गृहकार्य गरेको थियो । तर गठबन्धन दलभित्र विवाद भएपछि लोसपा सत्ता गठबन्धनमा सामेल हुन पाएन । तर, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने लोसपालाई गठबन्धनमा सामेल गर्ने प्रयास गरिरहनु भएको छ ।

एमालेसँग डराएर कांग्रेस-माओवादीले गठबन्धन बनाए : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन एमालेसँग डराइरहेको बताउनुभएको छ । पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको प्रचार भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग डराएर नै कांग्रेस–माओवादीहरूले गठबन्धन गरेका बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेसँग डराएर नै यो गठबन्धन बनाइएको हो, एमालेलाई एक्लै सकिन्न भन्ने उनीहरूलाई राम्रोसँग थाहा छ, गठबन्धन दलहरू एक-अर्काविरुद्ध न्यान्द्रो तानिरहेका छन् ।’

ओलीले सत्तारूढ गठबन्धनमा भएका दलहरू बूढा भएको भन्दै बूढा दलले देश विकास नहुने बताउनुभयो । ओलीले भन्नुभयो ‘गठबन्धनमा भएका दलहरू बूढा, स्थापना भएको जति वर्ष भए पनि उमेरअनुसार बूढा । युवा पार्टी त नेकपा एमाले ।’

ओलीले सत्ताको नेतृत्व गरेको कांग्रेस गन्तव्यविहीन यात्रामा हिँडेकालाई साथ लिएर अघि बढिरहेको बताउनुभयो । ‘बूढो कांग्रेसको पनि धेरै ठ्याइँ ठ्याइँ भयो । जरोसरो पोहोरै गइसक्यो । सिङ पनि खुस्किसकेको छ’, ओलीले भन्नुभयो, ‘गन्तव्य नभएकाहरूलाई लिएर अघि बढेको छ, अलि अघि बढेर पछाडि हेर्छ एउटा छैन, फेरि हेर्छ अर्को छैन ।’

ओलीले तराईमा एमालेविरोधी भ्रम लैजान खोजेको आरोप पनि लगाउनुभयो । तर, भ्रम फैलाउन खोज्नेहरूलाई एमालेले गरेको कामले जवाफ दिने धारणा राख्नुभयो । ‘हुलाकी राजमार्ग हेर्नेबित्तिकै एमाले याद आउँछ,’ उहाँले भन्नुभयो, ‘काठमाडौंबाहिर ढल थिएन, नेकपा एमालेले जनकपुरधामबाट ढल सुरु गर्‍यो,’ ओलीले भन्नुभयोे, ‘काठमाडौंबाहिर पहिलो चक्रपथ मैले दमकमा बनाएँ । त्यसपछि अन्त पनि बने ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?