आयोगद्वारा एकैदिन २४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैदिन २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभिन्न कार्यालयका २४ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँके कोहलपुरका चार, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुलीसमेत तीन जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको हो ।

यसैगरी, सप्तरी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिव नारायण यादवविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको र जिल्ला कैलाली श्री शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गीता सोडारीविरुद्ध शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरिएको हो ।

जिल्ला सुर्खेत, साबिकको घुमखहरे गाविसका तत्कालीन गाविस सचिव खड्कबहादुर रोकाया र देवीलाल सुनार, प्राविधिक सहायक तथा उपभोक्ता समितिका अध्यक्षसमेत चारजना उपर सार्वजनिक सम्पत्ति हिनामिना एवं गैरकानुनी लाभ तथा हानि पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ । मालपोत कार्यालय, पर्साका तत्कालीन नायव सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल विष्णुप्रसाद ढकालउपर पनि राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ ।

यसैगरी, डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दहाल, सहायक वन अधिकृत र उपभोक्ता समितिका अध्यक्षसमेत सात जनाउपर गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ ।

सरकारीकरण हुनुपर्ने जग्गा व्यक्तिका नाममा दर्ता गर्ने ६ जनाविरुद्ध भष्टाचार मुद्दा
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख भीमबहादुर खत्रीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको बताउनुभयो । मुद्दा दायर गरिएकामा खत्रीसहित नासु रुद्रसेन साहु, बढैयाताल गाउँपालिका–६ का वडाध्यक्ष रामहरण थारू, बर्दियाको बढैयातालमा बस्ने सैजाद अली तेली र जैनव तेलीका साथै बाँसगढी नगरपालिका-८ बस्ने अञ्जना दाहाल रहेका छन् । उनीहरूले गैरकानुनी लाभ तथा हानि पु¥याई भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ । अपुताली खाने कोही नभई सरकारीकरण हुनुपर्ने जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै आयोगले उनीहरूविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको जनाएको छ ।

अख्तियारका अनुसार बर्दियाको मैनापोखरी गाविस-१ (हाल बढैयाताल-६) मा चिरकु तेलीका नाममा दुई बिघा ६ कठ्ठा जग्गा थियो । २०४३ सालमा उहाँको निधन भएपछि हकखाने कोही भएनन् । कानुनअनुसार त्यो जग्गा स्थानीय तहको स्वामित्वमा जानुपर्ने थियो । तर, भूमिसुधार तथा मालपोत कार्यालयले व्यक्तिका नाममा दर्ता गरेर भ्रष्टाचार भएको अख्तियारको दाबी छ । अख्तियारले उनीहरूमाथि ५४ लाख ८० हजार बिगो माग दाबी गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मन्त्रीकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आयोगले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी पत्नीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रवक्ता भण्डारीका अनुसार नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अभियोगमा आयोगले शुक्रबार गीता सोडारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका-९ स्थित शिव माविमा गीताले राहत शिक्षकका रूपमा काम गरेकी थिइन् । भारत नयाँ दिल्लीको बोर्ड अफ सेकेण्डरी एजुकेसनबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी गीताले शिक्षकको नियुक्ति लिएको पुष्टि भएपछि आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

उनले सरकारलाई नोक्सानी पुर्‍याउने बदनियत राखेर भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ । ‘२०५९ को दफा १६ को उपदफा १ मा परिभाषित झुटा प्रमाणपत्र पेश गरी भ्रष्टाचार कसुर गरेको देखिँदा निज शिक्षक सोडारीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?