नागेश्वर र राममायालाई प्लस टु रनको उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ‘प्लस टु फाइभ के’ रनको उपाधि नेपाल पुलिस क्लबका नागेश्वर अहिर र गंगा मावि जुम्लाकी राममाया बुढाले हात पार्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार आयोजित प्रतियोगितामा नागेश्वरले पुरुष र राममायाले महिलातर्फको उपाधि हात पार्नुभएको हो । पुरुषतर्फको उपाधि जित्ने क्रममा नागेश्वरले पाँच किमीको दूरी १५ मिनेट १५.१ सेकेण्डमा पूरा गर्नुभयो ।

पुलिसकै सन्तोषनाथ योगी १५ मिनेट २४.५ सेकेण्डको समय निकाल्दै दोस्रो हुनुभयो । रत्नचौडनेश्वर माविका प्रकाश कठायत १५ मिनेट ३४.८ सेकेण्डको समय निकाल्दै तेस्रो हुनुभयो । पुरुषतर्फ सञ्जय नेपाली चौथो, विश्वराम कुँवर पाँचौं र किरण लिम्बू छैटौं हुनुभयो । मिङ्मार सिंगी तामाङ सातौं, अर्जुन राई आठौं, आशिष कुँवर नवौं र अभिराज राई दशौं स्थानमा रहनुभयो ।

महिलातर्फको उपाधि जित्ने क्रममा राममायाले १९ मिनेट १८.३ सेकेण्डमा उक्त दूरी पूरा गर्नुभयो । एनआरएस स्पोर्ट्स फाउण्डेसनकी अञ्जु खड्का १९ मिनेट ५८.८ सेकेण्डको समय निकाल्दै दोस्रो हुनुभयो । ओहारा कार्कीले २० मिनेट १८.४ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गर्नुभयो । यस्तै, सरस्वती बोहोरा, सोनु घतानी, अनुजा कार्की, सरिता रम्तेल, रेस्टिना सिटीखु, शेर्बी महर्जन र ऊर्जा मधिकर्मी क्रमशः चौथोदेखि दशौं स्थानमा रहनुभयो ।

दुवै विधाको पहिलो विजेताले ट्रफी, मेडलसहित ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, चौथोले १० हजार, पाँचौंले पाँच हजार र छैटौंदेखि दशौंसम्म स्थान हासिल गर्ने खेलाडीलाई जनही दुई हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको छ । यस्तै, प्रतियोगितामा सहभागी हुने सबै खेलाडीलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

उमेर समूहको एथ्लेटिक्सका खेलाडीलाई लक्षित गर्दै आयोजना गरिएको प्रतियोगितामा करिब २५० खेलाडीले सहभागिता जनाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?