रुसले कब्जामा लिएको युक्रेनका क्षेत्रमा जनसंग्रह

Read Time = 5 mins

मस्को । युक्रेनको रुसले कब्जामा लिएको क्षेत्रमा रूसमा गाभिने वा नगाभिने भन्ने विषयमा जनसंग्रह भइरहेको छ । सैनिकहरूले घरघरमापुगेर मानिसहरूबाट यस विषयमा जनमत लिइरहेका छन् । बिबीसीका अनुसार सैनिकहरूले मानिसहरूलाई घरघर पुगेर यस विषयमा सोधिरहेका छन् ।

उनीहरूले मौखिक रूपमा दिएको जानकारीअनुसार उनीहरूले सिटमा रेजा लगाउँदै मत लिएका छन् । रूसी सञ्चारमाध्यमले सुरक्षाको कारण घरघरमा पुगेर मत संकलन गरिएको बताएका छन् । दक्षिणी खेरसनमा रुसी सेनाले सहरको बीचमा ब्यालेट राखेर जनमत लिइरहेका छन् । जहाँ रुसी सेना पनि ब्यालेट बक्सनजिकै उभिएका छन् ।

मेलिटोपोलकी एक महिलाले जनमतसंग्रहले मानिसहरूमा त्रास पनि बढाएको बताएकी छिन् । उनले आफ्ना पतिले रुसमा नगाभिने पक्षमा मतदान गरेका थिए । जसको कारण आगामी दिनमा रुसी सेनाले उनीहरूको परिवारलाई कारबाही गर्न सक्ने उनको चिन्ता छ ।

जानकारहरूका अनुसार यो जनमतसंग्रह पाँच दिनमा सम्पन्न हुनेछ । जसले रुसलाई युक्रेनबाट खोसेको भू–भागमा दाबी गर्ने मौका मिल्नेछ । जसलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिए पनि रुसले उक्त क्षेत्रमा युक्रेनले गरेको आक्रमणलाई आफूमाथिको आक्रमण भन्दै कारबाही अघि बढाउनेछ । जसका कारण युद्ध थप चर्किन सक्ने आशंका बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनको भूमिमा आफ्नो दाबी गर्न नाटक रचेको बताउनुभएको छ । उहाँले युक्रेनी भूमिलाई आफूहरूले अर्को कुनै पनि देशको रुपमा मान्यता नदिने उल्लेख गर्नुभएको छ ।

रुसले लुहान्स्क, डोनेट्स, खेरसन र जापोरिझियालाई आफ्नो भूमिमा मिलाउन यो नाटक रचेको बेलायतको आरोप छ । रुस–युक्रेन युद्ध सुरु भएको सात महिना बितिसकेको छ । रुसले गत २४ फेब्रवरीमा युक्रेनमाथि आक्रमण गरेको थियो । यस युद्धमा युक्रेनका धेरै शहर खण्डहरमा परिणत भएका छन् ।

रूसले सैनिक बन्दोबस्तीको जिम्मेवारी नयाँ व्यक्तिलाई दिने
युक्रेनको सैन्य कारबाहीका परिचालन अभियानबीच रूसी सेनाको सैन्य बन्दोबस्तीको जिम्मेवारीमा रहेका आफ्ना उच्च पदस्थ जनरलको प्रतिस्थापन गर्ने घोषणा रूसले शनिबार गरेको छ । ‘सेनाका जनरल दिमित्री बुल्गाकोभलाई उपरक्षामन्त्री पदबाट मुक्त गरिएको छ र उहाँको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्तसेभलाई नियुक्त गरिएको छ’, रक्षा मन्त्रालयले टेलिग्राम सन्देशमा भनेको छ ।

युक्रेनको बन्दरगाह शहर मारिउपोललाई गत मे महिनामा रूसी सेनाले कब्जामा लिएको आरोपमा ६० वर्षीय मिजिनत्सेभमाथि बेलायतले प्रतिबन्ध लगाएको छ । सैन्य अभियान र युक्रेनी सेनाको हालैको सफलताले रूसी सेनामा महत्वपूर्ण बन्दोबस्तीका त्रुटिहरूको उजागर गरेको भनाइहरू आइरहेका समय यो जिम्मेवारी परिवर्तन भएको हो ।

केही विश्लेषकहरूले बन्दोबस्ती रूसी सेनाको कमजोर कडी भएको पनि विश्वास गर्छन् । यसका कारण आक्रमणको सुरुवातपछि कठिनाइ निम्त्याउँदछ । रूसमा बुधबार घोषणा गरिएको आंशिक परिचालन सशस्त्र बलका लागि बन्दोबस्ती एक सशक्त चुनौती हो । रूसभरिबाट आउने लाखौं जगेडा सैनिकलाई युद्धभूमिमा तैनाथ गर्नुअघि बोलाउनु, सुसज्जित र प्रशिक्षित गर्नु आवश्यक छ । एजेन्सी ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?