चितवनमा म्यादी प्रहरीका लागि ३८ सयको आवेदन, तन्दुरुस्ती परीक्षा भोलिदेखि

Read Time = 4 mins

चितवन । आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटाउनका लागि सरकारले म्यादी प्रहरी भर्ना गर्दै छ । म्यादीका लागि चितवनमा तीन हजार ८३० जनाले आवेदन दिएका छन् ।

आठ दिनको अवधीमा दुई हजार ७०९ पुरुष र एक हजार १२१ महिला गरी जम्मा तीन हजार ८३० जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । शारिरीक अभ्यास, लिखित परीक्षा र अन्तरवार्तालगायतमा पास भई निर्धारित मापदण्ड पुरा गरेका आवेदकलाई म्यादी प्रहरीमा छनौट गरिने उहाँले बताउनु भयो ।

प्रहरी प्रधान कार्यालयले अझै पनि चितवनको लागि म्यादी प्रहरीको कोटा भने खुलाएको छैन । कोटा विवरण नखुलाइँदा कति आवेदक छनौटमा पर्ने हुन भन्नेमा अन्यौलता सिर्जना भएको छ । वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा एक हजार ७०९ म्यादी प्रहरी भर्ना गरिएको थियो । म्यादी प्रहरीको लागि आवेदन दिने समय सकिएको छ । म्यादी प्रहरीको लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन दिने समय थियो ।

म्यादीका लागि आवेदन दिएकाको शारीरिक तन्दुरुस्ती परीक्षा भोलि ९आइतबार०देखि हुँदै छ । नारायणगढ क्याम्पा चौरमा परीक्षा हुने प्रहरी कार्यालयले जानकारी दिएको छ । पूर्व सुरक्षाकर्मी र स्थानीय तहको निर्वाचनका म्यादी प्रहरीले भने तन्दुरुस्ती परीक्षा दिनु नपर्ने कार्यालयले जनाएको छ । उनीहरुको हकमा अन्र्तवार्ताको सूचना प्रकाशित गरिने बताइएको छ ।

निर्वाचन सुरक्षाका लागि सरकारले देशभरबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्दै छ । आवेदन दिएकालाई छनौट गर्ने काम असोज ९ गतेदेखि १४ गतेसम्म हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । छनौटको अन्तिम नतिजा असोज २५ गते प्रकाशित गर्ने कार्यतालिका छ । म्यादीका लागि छनौटमा भएकालाई असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइने छ । म्यादी प्रहरीलाई निर्वाचनमा ४० दिन खटाइने छ ।

म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँका दरले ४० दिनको ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक, खाद्यान्न बापत प्रतिव्यक्ति एकमुष्ट सात हजार २०० रुपैयाँ, पोशाक तथा अन्य सामान खरिद गर्न छ हजार, तयारी खर्च बापत एक हजार र प्रतिदिन ३०० रुपैयाँका दरले ४ दिनको एक हजार २०० रुपैयाँ खाजा खर्च गरी जम्मा ५० हजार १६० रुपैयाँ पाउने छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?