सरकारसँगको १० बुँदे सहमतिपछि डाक्टर केसीको अनशन तोडियो, अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गरिने

नारायण भण्डारी
Read Time = 11 mins

काठमाडौं । सरकार र १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । शनिबार सरकार पक्षसँग भएको १० बुँदे सहमतिसँगै डा. केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोड्नुभएको हो । सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको छ ।

केसीका मागमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका विषयमा भने कुनै सहमति हुन सकेको छैन । उक्त मागका विषयमा निरन्तर संघर्षमा रहने केसी पक्षले जनाएको छ ।

पत्रकार सम्मेलनमा डा. केसीले समयसीमाभित्र माग सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी पनि दिनुभयो । विभिन्न सात बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा. केसीले धनगढीबाट २० औं सत्याग्रह सुरु गर्नुभएको थियो । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । स्वास्थ्य सचिव रोशन पोखरेल र शिक्षासचिव रामकृष्ण सुवेदी टोलीका सदस्य रहनुभएको थियो । केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र सुवेदी वार्ता टोलीमा सहभागी हुनुहुन्थ्यो ।

धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह सुरु गरेको चौथो दिनदेखि केसीको स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको थियो । अस्पतालले स्वास्थ्य बिग्रँदै गएपछि सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिएपछि डा. केसी अनशनकै १० औं दिनमा काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । गत हप्ता सरकारी र डा. केसी पक्षको वार्ता टोलीबीच चरण/चरणको छलफलपछि वार्ता निष्कर्षमा पुगेको हो । केसीको स्वास्थ्य अवस्था सामान्य भइनसकेकाले उहाँ अझै केही दिन अस्पतालमै रहनुहुने बताइएको छ ।

यस्ता थिए केसीका माग
डा. गोबिन्द केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै गरिएको नियुक्ति सच्याउने, आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने र चिकित्सा शिक्षा आयोगको कार्यसम्पादनमा हुँदै आएको हस्तक्षेप रोकी तत्काल कर्मचारी नियुक्तिका लागि सांगठनिक संरचना मन्त्रिपरिषदबाट पारित गर्ने भन्ने माग गर्नुभएको थियो । यीबाहेक स्वास्थ्य सेवा सुधार हुनुपर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गरिनुपर्ने, सार्वजनिक पदमा बस्नेहरूको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरिनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गरिनुपर्ने, चिकित्सा शिक्षा ऐन बमोजिम विसं. २०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरूलाई गैर-नाफामूलक बनाउने व्यवस्थाको कार्यान्वयन गरिनुपर्ने, चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा हुँदै आएको हस्तक्षेप रोकी तत्काल कर्मचारी नियुक्तिका लागि सांगठनिक संरचना मन्त्रिपरिषद्बाट पारित गरिनुपर्ने र जलवायु परिवर्तनको मार र खनिज ऊर्जा निर्भरता कम गर्न विद्युतीय सवारी साधनको प्रयोग र विस्तार गर्ने व्यवस्था गरिनुपर्ने भन्ने माग डा. केसीका छन् । डा. केसीले भदौ २७ मा धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालाबाट आफ्नो २० औं सत्याग्रह थाल्नुभएको थियो ।

केसीका २० सत्याग्रहको शृंखला
डा. केसी पहिलो अनशन २१ असार २०६९ मा बस्नुभएको थियो । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठताका आधारमा डिन नियुक्ति गरिनुपर्ने माग राखेर उहाँ अनशन बस्नुभएको थियो । डा. केसीले दोस्रोपटक २७ साउन २०६९ मा अनशन बस्नुभएको थियो । आईओएमले वरिष्ठताका आधारमा डिन नियुक्त गर्न आलटाल गरेको भन्दै उहाँ अनशनमा बसनुभएको होे ।

डा. केसीले तेस्रो अनशन २७ पुस २०७० मा सुरु गर्नुभएको थियो । वरिष्ठता मिचेर डा. शशि शर्मालाई डिन बनाएको भन्दै डा. केसी अनशन बस्नुभएको थियो । २५ माघ २०७० मा डा. केसी चौँथो अनशनमा बस्नुभएको थियो । मेडिकल कलेजहरूलाई सम्बन्धन दिने प्रक्रियामा अनियमितता गर्नेहरूलाई कारबाही गर्नुपर्नेलगायतका माग राखेर उहाँ अनशन बस्नुभएको थियो । स्वास्थ्य शिक्षा नीति बन्नुपर्ने लगायतका माग राखेर डा. केसीले पाँचौँ अनशन ८ चैत २०७१ मा बस्नुभएको थियो ।

डा. केसीले छैटौँ अनशन ७ भदौ २०७२ देखि सुरु गर्नुभएको थियो । चिकित्सा शिक्षा आयोग गठन गर्नुपर्ने, चिकित्सा शिक्षा नीतिसम्बन्धी गरिएका निर्णयहरूको सहजीकरण र अनुगमन हुनुपर्ने लगायतका माग उहाँ थिए । डा. केसीले सातौँ अनशन २ असोज २०७२ मा सुरु गरे पनि नाकाबन्दीका कारण त्यो बीचमै रोकिएको थियो । सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र विषयको अध्ययनका लागि कम्तीमा ५० प्रतिशत सिट संख्यामा निःशुल्क गर्नुपर्नेलगायतका माग राखेर डा. केसीले आठौँ अनशन २०७३ असार २६ देखि सुरु गर्नुभएको थियो ।

डा. केसीले नवौं अनशन १० असोज २०७३ मा बसे पनि दशैंका कारण त्यो पनि उहाँले बीचमै रोक्नुभएको थियो । सो अनशनमा उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउनुपर्ने लगायतका माग गर्नुभएको थियो । एक प्रदेशमा एक सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्नेलगायतका माग राखेर २८ कात्तिक २०७३ देखि उहाँ दशौं अनशनमा बस्नुभएको थियो । ११औँ अनशन ९ साउन २०७४ मा र १२ औँ अनशन अनशन ९ असोज २०७४ देखि बसे पनि देशको समसामयिक परिस्थितिका कारण त्यो अनशन उहाँले बीचमै रोक्नुभएको थियो । १९ असोज २०७४ देखि १३ औँ अनशनमा बस्नुभएका डा. केसीले त्योभन्दा पछाडिका आफ्ना हरेक अनशनमा चिकित्सा सुधारको मागलाई प्रमुख रूपमा अगाडि सारिरहनुभएको छ ।

उक्त सत्याग्रहमा चिकित्साशास्त्र अध्ययन संस्थानलाई थप स्वायत्तता प्रदान गर्नुपर्ने लगायतका रहेका थिए । डा. केसीले चिकित्सा शिक्षा आयोग गठन, विवादास्पद प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा, अस्पतालको सुधारलगायतको माग राखेर २०७४ पुस २४ गते १४औँ अनशन सुरु गर्नुभएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम अघि बढाउनुपर्ने लगायतका माग राखेर डा. केसीले १५औँ अनशन जुम्लाबाट १६ असार २०७५ देखि सुरु गर्नुभएको थियो । चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित गर्न माग गर्दै उहाँले २५ पुस २०७५ देखि इलामबाट अनशन सुरु गर्नुभएको थियो । सो सत्याग्रहमा उहाँको मागको सम्बोधन हुनुपर्ने भन्दै देशभरका चिकित्सक आन्दोलित बनेका थिए । डा. केसीले १७ औँ अनशन १८ कात्तिक २०७६ देखि डडेल्धुराबाट सुरु गर्नुभएको थियो । डा. केसीले दार्चुलामा २० जेठ २०७७ देखि १८औँ पटक अनशनमा बस्नुभएको थियो ।

गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलामलगायतका स्थानमा मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने उहाँको प्रखुख माग थियो । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसीले २९ भदौ २०७७ मा आफ्नो १९ औँ सत्याग्रह जुम्लाबाट सुरु गर्नुभएको थियो । सो समयमा पनि उहाँ जुम्लामा काठमाडौं आएर आफ्नो अनशनलाई जारी राख्नुभएको थियो । शनिबार तोडिएको अनशन उहाँको २० औं अनशन हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?